चार दलीय गठबन्धनले साझा उम्मेदवार घोषणा गरेका हुन् । आफ्ना उम्मेदवारलाई जिताउन सन्धिखर्क नगरका कांग्रेस कार्यवाहक सभापति तुल्सीराम पौडेल, एमाले अध्यक्ष कुशल भुसाल, नेकपाका देवबहादुर रायमाझी र राजमाकोका नगर अध्यक्ष गोविन्द बीसीले प्रेस विज्ञप्ति जारी गरेर जिताउन अपिल गरेका छन् ।
What you should know
अर्घाखाँची — सदरमुकामको खानेपानी संस्थामा राजनीतिक दलले पद बाँडफाँट गर्दै उम्मेदवार बनाएका छन् । मंगलबार सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको छैटौं अधिवेशन हुँदैछ ।
आयोजनाको नौ सदस्यीय समिति र तीन सदस्यीय लेखा समितिका पदमा नयाँ नेतृत्वका लागि राजनीतिक दलले भागबन्डा गर्दै पार्टीसँग आबद्ध रहेका उपभोक्तालाई मतदान गर्न ह्वीप लगाएका छन् । सार्वजनिक संस्थामा दलीय भागबन्डाप्रति अधिकांश उपभोक्ताले विरोध गरेका छन् ।
कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले आयोजनाको अध्यक्षमा युवराज खत्रीको नेतृत्वमा पदीय भागबन्डा गरेर आफ्नो पाटीसँग सम्बन्धित उपभोक्तालाई प्रेस विज्ञप्ति जारी गरेरै जिताउन ह्वीप लगाएका हुन् । त्यस्तै, स्वतन्त्र नागरिक समाजको नामबाट बाबुराम भुसाल नेतृत्वको टिम रहेको छ । त्यसलाई रास्वपा, जेन–जी समूह र स्वतन्त्र व्यक्तिले समर्थन गरेका छन् ।
सदरमुकामबासी उपभोक्ताका धारामा बेला–बेलामा धमिलो र दूषित पानी वितरण हुँदै आएको गुनासो उपभोक्ताबाट बारम्बार उठे पनि समाधान हुन सकेको छैन । सन्धिखर्क नगरपालिका–१ को सन्धिखर्क र वडा २ को चुत्रावेशीसहित सिंगो सदरमुकामवासीलाई पानी वितरण हुन्छ ।
दलीय भागबन्डा अनुसार कांग्रेसबाट अध्यक्षमा खत्री, सदस्यमा कमला अर्याल र लेखा समिति सदस्यमा ज्ञानबहादुर विश्वकर्मा रहेका छन् । एमालेबाट वरिष्ठ उपाध्यक्षमा बाबुराम भुसाल, कोषाध्यक्षमा सुमित्रा मुखिया, सदस्यमा मोतीलाल खनाल र लेखा समिति सदस्यमा कमल ढकाल उम्मेदवार छन् । नेकपाबाट उपाध्यक्षमा भेषबहादुर केसी र लेखा समिति संयोजकमा सुमित्रा बेल्वासे उम्मेदवार छन् । राजमोबाट सचिवमा जीवलाल पौडेल, सहसचिव कल्पना पोखरेल र सदस्यमा नवीन सुनार उम्मेदवार बनेका छन् ।
चार दलीय गठबन्धनले साझा उम्मेदवार घोषणा गरेका हुन् । आफ्ना उम्मेदवारलाई जिताउन सन्धिखर्क नगरका कांग्रेस कार्यवाहक सभापति तुल्सीराम पौडेल, एमाले अध्यक्ष कुशल भुसाल, नेकपाका देवबहादुर रायमाझी र राजमाकोका नगर अध्यक्ष गोविन्द बीसीले प्रेस विज्ञप्ति जारी गरेर जिताउन अपिल गरेका छन् ।स्वतन्त्र नागरिक समाजका नामबाट उम्मेदवार बनेकाहरू भदौ २४ को जेन–जी प्रदर्शनपछि कांग्रेस, एमाले, माओवादी छाडेकाहरू संगठित भएका छन् ।
जेन–जी आन्दोलनपछि कांग्रेस सन्धिखर्क नगर सभापति पदसहित पार्टी त्यागेको घोषणा गरेका बाबुराम भुसाल अध्यक्षको उम्मेदवार छन् । त्यस्तै, एमाले छाडेका वेदराज घिमिरे वरिष्ठ उपाध्यक्ष र दिलबहादुर वली उपाध्यक्षका उम्मेदवार छन् । त्यस्तै, सचिवमा कृष्णबहादुर शाही, कोषाध्यक्षमा सरिता महत, सहसचिवमा शकुन्तला भुसालसहित सबै पदमा उम्मेदवार उठाइएका छन् ।
बाबुराम नेतृत्वको टिमलाई राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले विज्ञप्ति निकालेर मतदान गर्न नगरवासीलाई अपिल गरेका छन् । उनले सामाजिक संस्थामा दलीयकरण गर्नु स्वीकार्य नभएकाले स्वतन्त्र उम्मेदवार बाबुरामलाई समर्थन गरेको उल्लेख गरेका छन् । उनलाई सन्धिखर्कमा जेन–जी आन्दोलन नेतृत्व गरेका गुरुदेव खनालसहितका स्वतन्त्र व्यक्तिले मत माग्दै घरदैलो गरेका छन् ।
भुसाल र खत्री नेतृत्वको दुवै टिम उपभोक्ताको घरदैलोमा मत माग्न दौडधुप गरिरहेका छन् । आफ्नो उम्मेदवारलाई जिताउन दुवै टिमका जिल्ला स्तरीय नेताले अस्तित्व रक्षा भन्दै उपभोक्तासँग लबिइङ गरिरहेका छन् । सो आयोजनाबाट दुई हजार उपभोक्ताका धारामा पिउने पानी वितरण हुन्छ । जसमध्ये चुनावमा मतदान गर्न पाउने १ हजार ७ सय ३१ उपभोक्ता छन् ।
खानेपानीजस्तो सामाजिक कर्मलाई राजनीतिक लेप लाउनु भर्त्सनायोग्य काम भएको भन्दै दलीय रूपमा उम्मेदवारी दिनु गलत भएको उपभोक्ताले टिप्पणी गरेका छन् । अधिवक्ता जगन्नाथ भुसालले उपभोक्तालाई स्वतन्त्र ढंगले अधिवेशन गराउन दिनुपर्नेमा दलले नै हस्तक्षेप गरेर भागबन्डा गर्नु बेठीक भएको बताउँछन् ।
‘यसरी भागबन्डा हुँदा वाच गर्ने मान्छे हुँदैन,’ उनले भने, ‘कोही उपभोक्ताले कुरा उठाए कुनै न कुनै पार्टीसँग जोडिएको हुन्छ, त्यसलाई दलले कारबाहीको डण्डा लगाउँछन् । जसबाट काम प्रभावकारी हुँदैन ।’
भागबन्डाको संस्कारले संस्थामा आर्थिक अनियमितता, बदमासी गरे पनि दलीय कारणले लुकाउने र ढाकछोप गर्ने गलत प्रवृत्ति मौलाउँदै गएको उनले बताए ।
‘भागबन्डा नगर्ने हो भने स्वतन्त्र रूपमा उपभोक्ताले नेतृत्व चयन गर्थे,’ उनले भने, ‘अरु मान्छेले चौकीदारी गर्थे, सुझाव सल्लाह दिन्थे । दलीय भागबन्डा गर्दा त्यहाँ खानेपानीको समितिमा ज्ञान भएको र जानेको मान्छे हुँदैनन् ।’
