किसानको धान राख्ने ठाउँ यहाँ नभएपछि विद्यालयको हलमा राखिएको उनले जनाए । यसवर्ष यस डिपोबाट २ हजार क्वीन्टल लक्ष्य रहे पनि ३ हजार क्वीन्टल खरिद गर्ने भएको छ ।
What you should know
बर्दिया — खाद्य तथा व्यवस्था व्यापार केन्द्र, राजापुर अन्तर्गत शान्तिबजार डिपोमा धान भरिएपछि विद्यालयको बहुउद्देश्यीय भवनमा धान राख्न थालिएको जनाएको छ ।
शान्तिपुरस्थित खाद्यको डिपोमा धान भरिएपछि एकप्रीय माध्यमिक विद्यालयको हातामा रहेको हलमा राख्न थालिएको खाद्य व्यापार केन्द्रका सूचना अधिकारी चेतमान कठायतले बताए । शान्तिपुरस्थित डिपोमा १ हजार क्वीन्टल राख्ने क्षमताको भवन छ ।
किसानको धान राख्ने ठाउँ यहाँ नभएपछि विद्यालयको हलमा राखिएको उनले जनाए । यसवर्ष यस डिपोबाट २ हजार क्वीन्टल लक्ष्य रहे पनि ३ हजार क्वीन्टल खरिद गर्ने भएको छ । निर्धारित कोटा सकिए पनि ४/५ दिनदेखि किसान धान लिएर पालो कुर्दै बसेकाको खरिद गर्न बाध्यता भएको खाद्य केन्द्रले जनाएको छ ।
तौल हुने स्थानमा भरिएर धान राख्ने अवस्था नभएकोले सोही ठाउँमा तौल गरी पालिकाको टयाक्टरबाट ढुवानीका लागि सहयोग गरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए । डिपोबाट विद्यालयको बहुउद्देश्यीय भवनसम्म पुर्याइ लोड अनलोड गर्ने पल्लेदार खर्च प्रति क्वीन्टल २५ रुपैयाँ किसानको मौखिक सहमति अनुसार दिने भएकोले सोही अनुसार भएको अध्यक्ष केसीले जनाए ।
किसानले लोड अनलोड गरे वापत प्रतिक्वीन्टल २५ रुपैयाँ लिन किसानका प्रतिनिधि, गेरुवा गाउँपालिका अध्यक्ष केसी लगायत जनप्रतिनिधिको मौखिक सहमतिमा कर्मचारीले पल्लेदारको पारिश्रमिक उठाइदिएको खाद्यका प्रमुख कमल पाण्डेले बताए ।
डिपोबाट विद्यालयमा रहेको हलसम्म लोड अनलोड गरे वापत सरकारले रकम उपलब्ध नगराएकोले किसान,जनप्रतिनिधिको सहमतिमा पल्लेदारलाई मजदुरी गरे वापत पारिश्रमिक दिएको प्रमुख पाण्डेले जनाए ।
खाद्य तथा व्यवस्था व्यापार केन्द्र, राजापुरले गत कात्तिक १९ गते देखि धान खरिद गर्दै आएको छ । यसवर्ष सरकारले मोटा धान ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मसिनो ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा मूल्य तोकेको उनले जनाए । बर्दियामा ३० हजार क्वीन्टल धान खरिद गर्ने कोटा रहेको छ ।
