कुटपिट र गोली प्रहारका घटनाले सिमावर्ती जिल्लामा त्रास

दिनहुँ चोरी र लुटपाटका घटना सार्वजनिक भइरहँदा सर्वसाधारण निर्धक्क हिँडडुल गर्न डराइरहेका छन् ।

कार्तिक ३०, २०८२

दीपेन्द्र बडुवाल

Incidents of beatings and shootings cause panic in border districts

What you should know

भैरहवा — लुम्बिनी प्रदेशका सहरी र ग्रामीण क्षेत्रमा अपराधका घटना बढ्न थालेका छन् । सामान्य झगडा हुँदा समेत हतियार प्रयोग गरेर सांघातिक आक्रमण हुन थालेका छन् ।

दिनहुँ चोरी र लुटपाटका घटना सार्वजनिक भइरहँदा सर्वसाधारण निर्धक्क हिँडडुल गर्न डराइरहेका छन् । 

दुई साताअघि बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षीय रमेश तिमिल्सिनामाथि सांघातिक आक्रमण भयाे । किरिया बसेको घरमा कुरुवा बस्न गएका तिमिल्सिनालाई ठाकुरबाबा–३ गिदरपुरका तर्क भण्डारीलगायत १०/१५ जनाको समूहले कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । उनलाई फलामकाे सरियाले शरीर र टाउकोमा प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीले भने तिमिल्सिनामाथि गोली प्रहार भएको दाबी गरेका थिए ।

स्वास्थ्य परीक्षणका क्रममा घाइतेको शरिरमा गोलीको छर्रा फेला नपरेको जनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी देवेन्द्रबहादुर मल्लले बताए । कुटपिट आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न आरोपमा थप ६ जनाको  खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको उपस्थिती नभएको फाइदा उठाएर सीमा क्षेत्रमा तस्कारीमा संलग्न व्यक्ति सक्रिय भएका छन् ।

गत बुधबार राति पश्चिम नवलपरासीको नेपाल–भारत सीमानजिक तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई राउण्ड हवाई फायर गरिएको थियो । नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित बसैया नाकामा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको थियो । त्यसक्रममा झडप भएपछि हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर प्रमुख सन्तोष रायमाझीले बताए ।

मध्यरातमा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई जाँच गर्नेक्रममा झडप भएको थियो । उनीहरुबाट सुकेका माछा बरामद गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक सहितको टोलीमाथि आक्रमणको प्रयास भएको हो ।

एक महिनाअघि रुपन्देहीको बेथरीमा पनि तस्करीका सामान बोकेको ट्रक नियन्त्रणमा लिनेक्रममा तस्करको समूहले सशस्त्र प्रहरी नायब उपरीक्षकको टोलीमाथि आक्रमण प्रयास गरेको थियो । ट्रकमा तस्करीका समान ओसारिरहेको सूचनापछि सशस्त्र प्रहरीको टोली बेथरी पुगेको थियो ।

घेरा हालेर ट्रक नियन्त्रणमा लिनेक्रममा तस्करको समूह सशस्त्र प्रहरीमाथि जाइ लागेको थियो । ट्रकमा रहेका सामान छुटाउन सशस्त्र प्रहरीलाई धकेलाधकेल गर्नुकासाथै गालीगलौज समेत गरेका थिए । त्यहाँ सशस्त्र प्रहरीलाई अवरोध गर्न स्थानीय सडकमा उत्रिएका थिए ।

करिब दुई साताअघि भैरहवाको चार तारे होटल निर्वाणामा ग्राहकबीच झगडा हुँदा गोली प्रहारको घटना भएको थियो । उक्त घटनामा प्रयोग भएको हतियार र संलग्न व्यक्ति अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । मध्य सहरमा गोली प्रहारको उक्त घटनापछि भैरहवाका व्यवसायीले असुरक्षा महशुष गरेको बताएका छन् ।

कपिलवस्तुमा पनि लुटपाट र चोरी तस्करीका घटना बढेका छन् । केही दिनअघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको मूल गेट नजिकबाट मोटरसाइकल चोरी भयो । दिनरात प्रहरीको निगरानी हुने ठाउँबाट मोटरसाइल चोरी भएपछि स्थानीय त्रासमा छन् ।

त्यस्तै यशोधरा गाउँपालिका–७ स्थित मर्यादपुर प्रहरी चौकी नजिकबाट गत मंगलबार २ सय १८ बोरा भारतीय युरिया मल बरामद भयो । सुठौली भन्सार कार्यालयले उक्त प्रहरी चौकीदेखि दुई सय मिटर पश्चिम बेवारिसे अवस्थामा मल फेला परेको हो ।

कात्तिक १५ गते कपिलवस्तुको वाणगंगा–६ स्थित लक्ष्मणघाट चोकमा किराना पसल सञ्चालन गर्दै आएकी महिलाको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका व्यक्तिले घाँटीबाटै सुनको सिक्री लुटेर फरार भए ।

यी पछिल्लाे समय लुम्बिनी प्रदेशमा भएका केही प्रतिनिधिमूलक घटनामात्र हुन् । स्थानीय बासिन्दाका अनुसार अहिले दिनदिनैजसाे यस्ता घटना भइरहेका छन् । तर, यस्ता घटनामा संलग्न व्यक्ति पक्राउ नपर्दा त्रासको वातावरण बनेको हो ।

रुपन्देहीमा कार्यरत एक प्रहरी निरीक्षकका अनुसार पहिलेजस्तो थोरै संख्यामा प्रहरी खटिने अवस्था छैन । केही गरी प्रहरीमाथि आक्रमण भइहालेको अवस्थामा कसरी थप मद्दत पुर्याउन सकिन्छ भन्ने योजना बनाएरमात्र खटाउने गरिएको छ ।

एक साताअघि पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुका ग्रामीण क्षेत्रका मठमन्दिरमा मेला सञ्चालन भएका थिए । त्यस्ता मेलामा प्रहरीको उपस्थिती न्यून रहेको स्थानीयले गुनासो गरेका थिए । ती मेलामा सम्बन्धित क्षेत्रका पालिकाले नगर प्रहरी परिचालन गरेर शान्ति व्यवस्था कायम गरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले समाजमा छिटफुट घटना सार्वजनिक हुनु सामान्य भएको बताए ।

बाहिर हल्ला भएजस्तो प्रदेशको सुरक्षा व्यवस्था नाजुक नरहेको उनले दाबी गरे । ‘प्रहरीले पहिले आफू सुरक्षित रहेर जनताको सुरक्षाकालागि काम गरिरहेको छ,’ उनले भने, ‘परिवर्तित अवस्थामा विशेष योजना तयार गरेर प्रहरी परिचालन गरेका छौं । सूचना संकलनलाई प्रभावकारी तुल्याएका छौं ।’ प्रदेशमा कसैले पनि असुरक्षा महशुष गर्नुनपर्ने उनले बताए । 

दीपेन्द्र

Link copied successfully