लुम्बिनीमा ह्यामर थेरापी

६ दिने शिविरमा ७ सदस्यीय थाई चिकित्सकको टोली बिरामीको उपचार गर्न लुम्बिनी आएको थियो । शिविरमा १५ महिला, २० पुरुष, ८ भिक्षु र १५ विदेशी नागरिकको निःशुल्क उपचार गरिएको थियो ।

कार्तिक ३०, २०८२

मनोज पौडेल

Hammer therapy in Lumbini

What you should know

लुम्बिनी — उनीहरू ह्यामर अर्थात् हथौडाले ठाकठुक ठाकठुक गर्दैछन् । जोडले हान्दैनन् । बिस्तारै एकै तरिकाले ह्यामरले हान्दै सोध्दै काम गरिरहेका छन् । तर, उनीहरू सिकर्मी भने होइनन् । उनीहरू ह्यामरले हान्दै दुखाइ ठिक पार्ने थेरापिस्ट चिकित्सक हुन् भन्दा सबै जिब्रो टोक्छन् । संसारमा उपचारका विधि अनेक छन् । त्यसैमध्येको एक हो हथौडाले हानेर उपचार गर्ने विधि– ह्यामर थेरापी ।

शारीरिक दुखाइ र नसाको समस्या निको गर्न मानिस हजारौं लाखौं रुपैयाँ खर्च गर्छन् । मानिसहरू टाढाटाढासम्म पुग्छन् । अनेकौं दुःखकष्ट सहन्छन् । दुखाइ निको नभएर निरास मानेर बस्छन् । हो, यस्तै निराशजनलाई बुद्ध जन्मस्थल लुम्बिनीमा परम्परागत थाई हर्बल पद्धतिमा आधारित ह्यामरले हान्दै ५८ जना बिरामीको निःशुल्क उपचार गरी निको बनाइएको छ । १८ स्थानीयलाई ६ दिनसम्म सिकाएर प्रशिक्षक समेत तयार गरिएको छ ।

कोठामा लहरै बसेका छन् थाई थेरापी चिकित्सक । उनीहरू आल्हा र आधुनिक उपकरणको साटो हातमा ह्यामर र ससाना काठका विभिन्न साइजका टुक्रा लिएर ठोकठाक गरिरहेका छन् । मानिसका दुखाइको पीडा भएका विभिन्न अंगमा ह्यामरले बिस्तारै हान्दै उपचार गरिरहेको दृश्य त्यहाँ देखिन्छ । थाई परम्परामा आधारित प्राकृतिक हर्बल चिकित्सा उपचार पद्धतिबाट उपचार गरिएको हो । थाईहरू यसलाई ताअक सेन् सी फ्राई विधि भन्छन् ।Hammer therapy in Lumbini

ढाड, कम्मर, घाँटी, घुँडा र हातखुट्टा दुख्ने, झमझमाउने तथा नशाका समस्या भएकालाई यो विधि निक्कै लाभदायक भएको चिकित्सक बताउँछन् । यो पद्धतिबाट उपचार गर्दा कुनै साइड इफेक्ट हुँदैन । हथौडाले सानो काठको टुक्रालाई हानेर समस्या भएको शरीरका विभिन्न भागमा प्रेसर दिइन्छ । हड्डीतिर नभई मासुको भागमा हथौडाले हानिन्छ । समस्याको अवस्था अनुसार बिस्तारैदेखि अलि जोडले पनि हानिन्छ ।

हातखुट्टा झमझमाउँदा र ब्याकपेन हुँदा हिँडडुल गर्न र उठ्न बस्न निकै गाह्रो भइरहेकामा यो उपचार पद्धतिबाट निकै सहज भएको भिक्षु महासंघका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए । अर्बुद रोगको औषधि सेवनले थलिएको जीवनलाई ह्यामर थेरापीले लाभ दिएको उनले बताए ।

‘मैले अर्बुद रोग पनि जितेँ,’ उनले झने ‘अब हातखुट्टा झमझमाउने र ब्याकपेनको समस्याबाट पनि उन्मुक्ति पाएजस्तो लागेको छ ।’ घुँडा दुखेर उठ्न बस्न गाह्रो भइरहेकामा थाई प्रविधिको उपचार हथौडाले हानेर उपचार गर्ने प्रविधिले धेरै राम्रो भएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका महिलवारकी ५२ वर्षीया सीता पालले बताइन् । ‘अब हिँड्न अरुको सहारा चाहिँदैन,’ उनले भनिन्, ‘चुलौचौको पनि सहजै गर्न सक्ने भएकी छु । नयाँ खालको गजबको उपचार पद्धतिले नयाँ जीवनै पाएजस्तै भयो ।’ 

बिस्तारै हान्दै र विभिन्न किसिमका मसाज गर्दै थाई चिकित्सकले शरीरका विभिन्न अंगमा रक्त संचारको सहज प्रभाव गराउँछन् । विभिन्न किसिमका शारीरिक ब्यायाम सिकाउँछन् । यो उपचार पद्धतिबाट तत्काल लाभ हुन्छ । शारीरिक रूपमा स्फुर्ति भई दिगो रूपमा फाइदा हुने हुँदा थाइल्यान्डमा यो उपचार पद्धति लोकप्रिय रहेको चिकित्सक बताउँछन् । यहाँ पनि बिरामीले शीघ्र लाभ पाएर तत्काल आराम मिलेर खुसीको अनुभूति गरेको स्वर्णभूमि क्लिनिक फर थाई ट्रेडिसन मेडिसिनका डा. च्याइयान सिरिसातकुलले बताए ।Hammer therapy in Lumbini

‘बुद्ध जन्मस्थलमा आएर बिरामीलाई सेवा गर्न पाउँदा गजबको करुणा, मैत्री र सेवाभाव पलाएको छ,’ उनले भने, ‘यसले आफूहरूमा राम्रो धार्मिक ऊर्जा र पुण्य संचय भएको छ ।’ कुनै पनि साइड इफेक्ट नभएको सस्तो र सरल यो उपचार पद्धति अहिले थाइल्याण्डमा थप लोकप्रिय हुँदै गएको उनले बताए । दिगो स्वास्थ्य लाभका लागि प्राकृतिक विधि अभियानअन्तर्गत उपचार गरिएको हो ।

‘ढाड दुख्ने समस्याले थलिएको थिएँ,’ लुम्बिनी सांस्कृतिक नगरपालिका खुनगाईकी सरस्वती कुर्मी भनिन्, ‘थेरापीले दुखाइ हराएको छ । पहिलेजस्तै अवस्थामा फर्किएकी छु । आफैंले पनि ब्यायाम गरेर उपचार गर्न सिकेँ ।’ बिरामी स्वयंलाई थेरापी गराई व्यायाम गर्न सिकाइएको डा. पाकामोन पेनपिसुटले बताइन् । यसो गर्दा बिरामीले घरमै बसेर पनि उपचार गर्न सहज हुन उनले सुनाइन् । 

स्वर्णभूमि क्लिनिक फर थाई ट्रेडिसन मेडिसिन, थाइल्यान्डको सहयोगमा थाई राजदूताबास र लुम्बिनीस्थित रोयल थाई मोनोस्ट्रीद्वारा आयोजित ६ दिने शिविरमा ७ सदस्यीय थाई चिकित्सकको टोली बिरामीको उपचार गर्न लुम्बिनी आएको थियो ।

शिविरमा १५ महिला, २० पुरुष, ८ भिक्षु र १५ विदेशी नागरिकको निःशुल्क उपचार गरिएको थियो । कतिपयलाई निःशुल्क प्राकृतिक औषधि पनि दिइएको थियो । १८ जना स्थानीयलाई उपचारका आधारभूत विधि सिकाएर प्रशिक्षण पनि दिइएको थियो ।

यो उपचार पद्धतिबाट विशेष गरी शरीरका विभिन्न भाग दुख्ने, टाउको दुख्ने, हाटखुट्टा झमझमाउने, माइग्रेन र नसा च्यापिएर थलिएकाहरूले लाभ लिएका थिए ।

मनोज पौडेल

Link copied successfully