पहिरोमा कोइला खानीसमेत रहेकाले कालो लेदोसहित बगेको पानीले माडी हुँदै बुटवल बग्ने तिनाउ खोला नै धमिलो बनाएको छ । यस्तो पानी बस्तुभाउ, खेतीबाली र पिउनका लागि योग्य हुँदैन ।
What you should know
पाल्पा — पाल्पामा मुहान भएको तिनाउ खोला धमिलो र कालै बगेको फोटो/भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल बन्यो । प्रशासन, प्रहरी, स्थानीय सरकारले चासो दिन थाले ।
वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय पूर्वखोलाको प्रहरी शनिबार सुक्खा पहिरो गएको स्थलमा पुगेको छ । पूर्वखोला गाउँपालिका–४, देवीनगरको उडडाँडा तिनाउ खोलाको मुहान क्षेत्र हो । यहाँको सुक्खा पहिरोमा पानीको मुहान भएकाले कालो लेदो बगेको निष्कर्ष निस्केको इलाका प्रहरी कार्यालय पूर्वखोलाका वरिष्ठ प्रहरी हवल्दार नेत्रबहादुर भाट क्षेत्रीले बताए ।
माथागढी गाउँपालिका–१ चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीका अनुसार केही दिनयता तिनाउ खोलामा धमिलो र कालो खालको पानी बगेको थियो । ‘माथिल्लो क्षेत्रमा तटबन्धको काम हुने भएकाले एकदुई दिन सामान्य सोचियो,’ उनले भने, ‘तर निरन्तर बग्न थालेपछि खोजीनीतिका लागि सामाजिक सञ्जालमा राखेका थिए । त्यसपछि प्रहरी प्रशासनको पनि चासो लागेको हो ।’ तिनाउ खोलाको तल्लो तटीय क्षेत्रमै कालो र धमिलो भएर पानी बगेपछि स्थानीयले सामाजिक पोस्ट गरेका छन् ।
वर्षायाममा लेदो माटो थियो भने केही दिनयता कोइलाको कालो लेदोमाटो बगेको छ । ‘कोइलाको कालो लेदो भएकाले तल्लो तटीय क्षेत्रमा कालो र धमिलो जस्तो पानी बगेको हो,’ स्थानीय खेमबहादुर बराल मगरले भने, ‘पानीको मुहान सानो छ तर भिरालो र कोइला पानीपरेपछि लेदो हुने भएकाले समस्या निम्तिएको छ ।’
पहिरोमा कोइला खानीसमेत रहेकाले कालो लेदोसहित बगेको पानीले माडी हुँदै बुटवल बग्ने तिनाउ खोला नै धमिलो बनाएको छ । वातावरणविज्ञका अनुसार कोइलाको कालो लेदो पानी बस्तुभाउ, खेतीबाली, पिउनका लागि योग्य हुँदैन । यहाँका विभिन्न स्थानमा कोइला खानी छ ।
कोइला खानीबाट बगेको यसअघिको पानीले पनि खेती नहुने, पिउन योग्य नहुने र बस्तुभाउलाई खुवाउन नहुने जानकारी पाइसकेका थिए । वातावरणविद् युवराज कँडेलका अनुसार पानीमा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि हुन्छ । त्यसपछि जलचर तथा वनस्पतिको वृद्धि र विकासमा असर गर्ने कँडेलले बताए । ‘कोइला मात्र नभएर लेदोमा पाइराइटजस्ता सल्फर पनि हुन्छन्,’ उनले भने, ‘ जसले गर्दा पानीको अम्लीयपना बढ्छ । जुन पानी सिँचाइ र खानेपानीको लागि उपयुक्त मानिँदैन । अमिलो पानीले चट्टानमा रहेका आर्सेनिक, शिशा, तामाजस्ता विषालु भारी धातुलाई घुलाएर खोलामा मिसाउँछ र पानी उपयोग योग्य रहदैन । यसले पानीमा घुलनशील अक्सिजनको मात्र घटाउँछ ।’ उनका अनुसार लेदो नदीको पिँधमा जम्मा भएर पिँध पुरिदिन्छ, जसले जलचर प्राकृतिक बासस्थान विनाश हुन्छ ।
स्थानीय बासिन्दाले कोइला उत्खननका विषयमा सामान्य जानकारी पाइसकेका छन् । ‘कोइला खानी सञ्चालन गर्दा नै वातावरणविज्ञले हामीलाई यसको नकारात्मक असरका बारेमा जानकारी गराएका हुन्,’ स्थानीय वीरबहादुर गाहाले भने, ‘त्यसैले यो कालै बगेको पानी खेतमा सिँचाइ गर्न, बस्तुभाउलाई खुवाउन हुँदैन भन्ने धेरथोर जानकारी छ ।’ स्थानीयका अनुसार दुई वर्षअघिसम्म सानो पहिरो अहिले विशाल बनेको छ । झाडी र जंगल साथै निगाली, बाँसको जंगलसमेत झन्डै २ सय मिटरमा पहिरो खसिसकेको छ । पछिल्लो एक महिनायता मात्र सय मिटर सुक्खा पहिरो खसिसकेको स्थानीय छविलाल गाहाले बताए ।
अहिले स्थानीय बासिन्दाले तल्लो भेगमा लगाएको धान ल्याउन, खेतबारीमा जानसमेत समस्यामा परेका छन् । आधा घण्टामै घरमा आउन सकिने भए पनि डेढ घण्टा लगाएर यात्रा गर्नुपरेको उनले बताए । ‘दसैंअघिसम्म पनि गोरेटो बाटोमा हिँड्न सकिने अवस्था थियो,’ उनले भने, ‘अहिले त्योभन्दा ३० मिटर माथिसम्म बगिसकेको छ ।’
सुक्खा पहिरो खसेको स्थानमा कोइला खानी भेटिएकाले थप समस्या भएको छ । तल्लो क्षेत्रमा कालै कोइलाको लेदो मिसिएको पानी बगेको छ । तिनाउ खोलाको मुहान भएकाले पहिरो खस्दा तल्लो तटीय क्षेत्रका बासिन्दाका साथै स्थानीय बासिन्दासमेत विभिन्न समस्या खेप्नु परेको सुनाउँछन् ।
पहिलो यो स्थानमा गोरेटो बाटो थियो । मोटरबाटो खनेपछि पनि दुई वर्ष केही भएन । तीन वर्षअघि थोरै भत्केको थियो । बिस्तारै हिउँद तथा वर्षा याममा पहिरो खसेपछि अहिले थप समस्या निम्तिएको छ । यहाँ तत्काललाई समस्या नभए पनि दीर्घकालनमा भने माथिल्लो क्षेत्रमा १२ घर जोखिममा पर्ने देखिन्छ । भिरालो भएको र खस्ने सम्भावना बढी भएकाले सचेत हुनुपर्ने स्थानीय बताउँछन् । प्रहरीले १२ घरपरिवारलाई सचेत रहन आग्रह गरेको छ ।
पछिल्ला दिनमा प्रशासन, स्थानीय तह, स्थानीय बासिन्दाले चासो दिएका छन् । खेतबारीमा सिँचाइ नगर्न, खानेपानीको मुहान भएकाले पानी प्रयोग नगर्न साथै माथिल्लो भेगमा रहेको बस्तीलाई सचेत हुन आग्रह गरिएको इलाका प्रहरी कार्यालय पूर्वखोलाका वरिष्ठ हवल्दार नेत्रबहादुर भाट क्षेत्रीले बताए ।
पूर्वखोला गाउँपालिका–४, देवीनगर क्षेत्रमा ६ वर्षअघिसम्म कोइला उत्खनन हुन्थ्यो । जथाभावी र लापरबाही ढंगले निकालेपछि स्थानीयले बन्द गराएका थिए । यो पहिरोमा समेत कोइला खानी फेला परेको छ ।
कालो लेदो तिनाउ खोलाको मुहानमै निरन्तर बगेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा सचेत हुनुपर्ने वडाध्यक्ष मेहरसिंह थापा बताउँछन् । ‘हामीले हाम्रो तहबाट केही गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘जान मिल्ने जति र झर्ने जति झर्न दिनेबाहेक अर्को विकल्प छैन ।’ उनले भू तथा जलाधार कार्यालयलाई एकपटक अध्ययन गराउने बताए । तल्लो क्षेत्रमा राखेको ग्याबिन जाली तथा फड्के बगाइदिएपछि अहिले के गर्ने अन्योल भएको उनले बताए ।
