मध्यरातमा ६ वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका मानिसलाई जाँच गर्नेक्रममा झडप भएको हो ।
परासी — पश्चिम नवलपरासीको नेपाल–भारत सीमानजिकै तस्कर र सशस्त्र प्रहरीको झडप हुँदा दुई राउण्ड हवाई फायर भएको छ ।
बुधबार राति करिब १२ बजे जिल्लाको प्रतापपुर गाउँपालिका बसैया नाकामा सुरक्षा जाँच गर्नेक्रममा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको र झडप हुँदा हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका प्रमुख सन्तोष रायमाझीले बताए ।
मध्यरातमा ६ वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका मानिसलाई जाँच गर्नेक्रममा झडप भएको हो । उनीहरुले सुकेका माछा भारतबाट नेपाल ल्याउँदै गरेको भेटिएको छ । सशस्त्र प्रहरी निरीक्षक सहितको टोलीमाथि आक्रमणको प्रयास भएको हो ।
पहिले ६ जनाले विवाद गरेको र विवाद बढ्दै जाँदा भारततर्फ बाट थप ३०/३५ जना मानिसहरु आएर हुल हुज्जत गरेका थिए । स्थिति नियन्त्रणमा लिन हवाई फाएर गरेपछी तस्करीमा संलग्न मानिसहरु भारततर्फ नै भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
भाग्नेक्रममा करिब १ सय ५० किलो जति सुकेको माछा बरामद गरेको छ । अहिले भारतमा चुनाव भैरहेकाले सीमा नाकामा सुरक्षाकर्मीको उपस्थित कम छ । यसैको फाइदा उठाउँदै नाकामा तस्करी बढेको छ ।
