भदौ २३ र २४ गतेको घटनाको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्छ :  गैरे

‘दलमा आबद्ध भएका व्यक्ति, नागरिकको घर, व्यापारिक घरानाको घरमा लुटपाट गर्ने, आगजनी गर्ने जुन प्रकारको क्रियाकलाप भयो त्यो अर्को अत्यन्त निन्दनीय र भर्त्सनायोग्य छ ।’-ठाकुर गैरे

कार्तिक २७, २०८२

माधव अर्याल

There should be a high-level judicial investigation into the incidents of Bhadra 23 and 24: Gaire

What you should know

पाल्पा — एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले गत भदौ २३ र २४ गतेका घटनालाई अलग-अलग तरिकाले उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । भदौ २३ गतेको र २४ गतेको फरक-फरक घटना भएकाले सोही अनुसार दुई वटै घटनालाई फरक तरिकाले छानबिन गर्नुपर्ने उनले माग गरे । 

एमाले पाल्पाले शनिबार गर्ने जनप्रदर्शनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गैरेले भने, ‘दलमा आबद्ध भएका व्यक्ति, नागरिकको घर, व्यापारिक घरानाको घरमा लुटपाट गर्ने, आगजनी गर्ने जुन प्रकारको क्रियाकलाप भयो त्यो अर्को अत्यन्त निन्दनीय र भर्त्सनायोग्य छ ।’

त्यसैले पनि दुई वटै घटनालाई अलग-अलग ढंगले छानबिन गर्नुपर्ने उनले बताए । घटनामा संलग्न व्यक्तिहरू दण्डित हुनुपर्ने बताउँदै आन्दोलनका नाममा तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर्नुपर्ने उनको माग छ । 

२३ र २४ गतेको घटनालाई अहिले बनेको छानबिन समितिले एउटै डालोमा राखेर गर्न खोजेकोमा उनले आपत्ति जनाए । ‘हामीले दोषी उम्किन पाउनुपर्छ भनेका होइनौं,’ उनले भने । अहिलेका आयोगका अध्यक्ष गौरीबहादुर कार्की विवादित भएकाले कति निष्पक्ष हुन्छ भन्नेमा शंका उब्जिएको उनले आशंका गरे । फरक प्रसंगमा बोल्दै मन्त्री परिषद् गठन र संसद् विघटन असंवैधानिक भएको नेता गैरेले बताए । 

आन्दोलनकारीको मागभन्दा बाहिर गएर अहिले मन्त्रिपरिषद् गठन र संसद् विघटन भएकाले संसद् पुनःस्थापना हुनुपर्ने उनले बताए । ‘संविधानविपरीत प्रधानमन्त्री र मन्त्रिपरिषद् गठन भएको छ,’ एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागले राखेको पत्रकार भेटमा उनले भने, ‘असंवैधानिक कदम र अलोकतान्त्रिक गतिविधिलाई सच्याउन माग गर्दै २९ गते देशभर प्रदर्शन गर्न लागेका हौं ।’

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully