सर्भरमा समस्या आउँदा निर्वाचन कार्यालयमा फोटो खिचाउनेलाई सास्ती

फागुन २१ गते हुने निर्वाचनका लागि नयाँ मतदाता नामावली संकलनको समय-सीमा सकिन लाग्दा नयाँ थपिने मतदाताको भीड बढेको कार्यालयले जनाएको छ ।

कार्तिक २६, २०८२

माधव अर्याल

Those taking photos at the election office are in trouble due to server problems

What you should know

पाल्पा — फोटो खिचाउन निर्वाचन कार्यालय तानसेन आएकी रामपुर नगरपालिका–१०, गेझाकी सविना भण्डारीले चार/पाँच पटकसम्म प्रि–रजिस्ट्रेसन गरिन् । तर सर्भरमा भएको समस्याले पटक–पटक प्रि–रजिस्ट्रेसन गर्नुपर्ने अवस्था आयो । निकै कष्टका साथ उनले प्रि–रजिस्ट्रेसन गरेको सुनाइन् ।

मतदाता नामावलीमा अनलाइन दर्ता गरेर फोटो खिचाउनुपर्छ । त्यसैले सविनाले प्रि–रजिस्ट्रेसन गर्न झण्डै एक घण्टा लागेको गुनासो गरिन् । 

‘निकै दुःखका साथ ‘प्रि–रजिस्ट्रेसन’ गर्न सफल भएँ,’ उनले भनिन्, ‘कर्मचारीको सहायता लिँदा पनि नभएर धेरै पटक भर्नु परेको थियो ।’ प्रि–रजिस्ट्रेसन गर्दा अद्यावधिकमा जाने, नयाँ दर्तामा गइसकेपछि आफ्नो साथमा भएको मोबाइल नम्बर राख्नुपर्छ । आउने ओटीपीलाई आफ्नो नागरिकता अनुसारको विवरण भरेपछि प्रि–रजिस्ट्रेसन हुन्छ । त्यसपछि बल्ल प्राप्त नम्बर लिएर फोटो खिचाउन जानुपर्छ । 

रैनादेवी छहरा गाउँपालिका–३ की हीराकुमारी खाम्चा आफैंले नसकेर कर्मचारीको सहायता लिइन् । प्रि–रजिस्ट्रेसन भरिदिन कर्मचारी खटिएका छन् । सर्भर व्यस्त भएकाले नै भण्डारी र खाम्चा मात्र होइन, धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको हो । 

कार्यालयमा भीड भएपछि कर्मचारीलाई पनि समस्या भएको छ । जेन–जी पुस्ताले आफैं भर्न सके पनि पाको पुस्तालाई भने कर्मचारीकै सहारामा भर्नुपर्ने बाध्यता रहेको निर्वाचन कार्यालयका लेखा अधिकृत विनोद घिमिरेले बताए । उनका अनुसार प्रि–रजिस्ट्रेसन भरेर आउने हो भने फोटो खिच्न सहज हुन्छ । छिट्टै फोटो खिचेर फर्कन पाइन्छ । तर अधिकांशले ‘प्रि–रजिस्ट्रेसन नगरीकन आउने भएकाले केही ढिलाइ हुनु स्वाभाविक भएको उनले बताए । 

‘कार्यालयमा भीडभाड बढेको पनि त्यही भएर हो,’ उनले भने, ‘अर्कोतर्फ यहाँ आएपछि हुन्छ भन्ने हुन्छ । सबैले सबै कुरा नबुझ्दा पनि समस्या हुने गरेको छ । दिउँसोको समयमा सर्भर व्यस्त हुने भएकाले पनि समस्या भएको छ ।’ 

फागुन २१ गते हुने निर्वाचनका लागि नयाँ मतदाता नामावली संकलनको समय-सीमा सकिन लाग्दा नयाँ थपिने मतदाताको भीड बढेको कार्यालयले जनाएको छ । सुरुका दिनमा सुनसान बनेको निर्वाचन कार्यालय पाल्पामा चार दिनयता भने सेवाग्राहीको भीड अत्यधिक बढेको छ । 

तानसेन नगरपालिका–६ का जितबहादुर चितौरे मगर अब भीड कम भएको होला भन्दै आए पनि झण्डै तीन घण्टा लागेको सुनाउँछन् । ‘प्रि–रजिस्ट्रेसन गर्न निकै कष्ट भयो,’ उनले भने, ‘सर्भरमा भएको समस्याले होला सायद, बीचमै काम नगरेर हैरान खेप्नु परेको थियो ।’ कार्यालयभित्र पुगेकाहरू ‘प्रि–रजिस्ट्रेसन’ गर्न व्यस्त भए पनि एकै जनाले ९ पटकसम्म पनि फर्म भर्नु परेको गुनासो गरे ।

१० स्थानीय तह रहेको पाल्पामा तानसेनस्थित निर्वाचन कार्यलयबाट मात्रै फोटो खिचाउने व्यवस्था छ । केही दिनयताको भीडले सेवाग्राहीले दुःख पाएको गुनासो गरे । अनलाइन रजिस्ट्रर नगरेका सेवाग्राही बढी आएकाले पनि भीड बढेको कार्यालय प्रमुख महेश शर्माले बताए । नयाँ मतदाता नामावली दर्ता गराउन आउने अधिकांश जेन–जी उमेर समूहका रहेको उनले बताए । ‘जे होस् अधिकांश जेन–जी नै छन्,’ उनले भने, ‘सर्भर व्यस्त भएर होला, केही समस्या आएको छ । तर पनि जेन–जी पुस्तालाई बुझाउन, सम्झाउन सहज छ । पाको पुस्तालाई रजिस्ट्रेसन गर्न हाम्रा कर्मचारीले सहयोग गरेका छन् ।’

निर्वाचन कार्यालयले मतदाता नामावली संकलन, नामावलीमा रहेको त्रुटि सच्याउने, मतदाता नामावलीको नामसारी गर्ने कार्यलाई तीव्रता दिएको छ । कार्यालयले निर्वाचनका बारेमा राजनीतिक दलहरूसँग छलफल गर्ने साथै मतदान स्थलहरूको पुनरावलोकन गर्ने कामसमेत गरिसकेको छ । कार्तिक २६ गतेसम्म १ हजार २ सय नयाँ मतदाताले नामावलीमा नयाँ नाम दर्ता र अद्यावधिक गरेका छन् । दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाल्पामा नयाँ मतदाता नामावली थपिनुअघि निर्वाचन कार्यालयले २ लाख १ हजार ८ सय ३७ जना मतादाता रहेको जनाएको छ । पाल्पामा १ सय १८ मतदान केन्द्र रहेका छन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully