जिल्ला प्रशासन र राजस्व अनुसन्धान कार्यालयले पनि क्यासिनो सञ्चालकलाई नियमावलीले तय गरेका सर्त र मापदण्ड पालना गरे/नगरेको बारे जानकारी माग गरिसकेका छन् ।
What you should know
भैरहवा — रुपन्देहीको भैरहवामा रहेका क्यासिनोमा नियमावलीविपरीत टेबल राखेर जुवा खेलाउने र नेपाली प्रवेशको विषयलाई लिएर गुनासो बढेपछि पर्यटन विभागले चासो देखाएको छ ।
विभागले भैरहवालगायत क्षेत्रका क्यासिनोका गतिविधिबारे विभिन्न क्षेत्रबाट गुनासो आएकाले सम्बन्धित क्यासिनो सञ्चालकसित जानकारी लिने र अनुगमनको तयारी भइरहेको जनाएको छ । पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थीले क्यासिनोले नेपाली प्रवेश गराइरहेको गुनासो बढेको बताए । ‘सबैतिर नेपाली छिरेको गुनासो आइरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘हामी सरोकारवालाबीच पनि कुरा उठेको छ ।’
नियमअनुसार क्यासिनो नचलेको कुरा उठेकाले पहिलो चरणमा विभागले सबै क्यासिनोलाई के कसो भएको हो भन्नेबारे विभागमा जानकारी गराउन परिपत्र गर्न लागेको उनको भनाइ छ । विभागले मंगलबारसम्म परिपत्र गरिसक्ने उनले बताए ।
रुपन्देहीस्थित जिल्ला प्रशासन र राजस्व अनुसन्धान कार्यालयले पनि क्यासिनो सञ्चालकलाई नियमावलीले तय गरेका सर्त र मापदण्ड पालना गरे/नगरेकोबारे जानकारी माग गरिसकेका छन् । सरकारी निकायले पनि कुरा उठाइरहेकाले स्थलगत अनुगमन गरेर नियमन गर्ने तयारी भइरहेको उनले बताए । ‘राष्ट्र बैंक, पर्यटन विभाग, सम्पति शुद्धीकरणले अनुगमन गर्ने तयारी छ,’ उनले भने, ‘स्थलगत अनुगमन भएर दिएको प्रतिवेदनका आधारमा कारबाही हुने हो ।’
विभागले प्रत्येक वर्ष असार मसान्तमा नवीकरण गर्नेबेला क्यासिनो अनुगमन गर्दै आएको छ । गत असारमा अवस्थीकै नेतृत्वमा टोली अनुगमनमा आएको थियो । उनका अनुसार क्यासिनो अनुगमनसम्बन्धी चेक लिष्ट रहेको छ । ‘त्यही चेक लिष्ट अनुसार कागजात पुगे/नपुगेको हेर्छौं,’ उनले भने, ‘त्यस्तो अनुगमन टोलीमा पर्यटन तथा संस्कृति मन्त्रालयका प्रतिनिधि, होटल संघ नेपालका प्रतिनिधि, विभागबाट महानिर्देशकले खटाएको समिति नै हुन्छ ।’
