कटुवाल सञ्चारको पुरानो प्रविधि हो । गाउँमा कुनै नयाँ खबर, सूचना दिनुपर्यो भने कटुवालले सबैले सुन्ने ठाउँबाट जोडले कराएर जानकारी दिने चलन छ । यसलाई हाँक हाल्ने पनि भनिन्छ ।
What you should know
तकसेरा, रुकूम पूर्व — गुजुमुज्ज घर भएको तकसेरा प्रायः भारसे कामीको आवाजसँगै ब्यूँझिने गर्छ । नयाँ सन्देश ल्याएर भारसे कराउन थालेपछि सबैको ध्यान त्यता सोझिन्छ । हातहातमा मोबाइल र इन्टरनेट भएको समयमा पनि गाउँमा के नयाँ खबर आयो भन्ने सबैको चासो हुन्छ । भारसे सबैले सुन्ने ठाउँ खोज्दै जोडले कराउन थाल्छन् । त्यतिले नपुगेर गाउँभित्र पनि सूचना दिँदै हिँड्छन् ।
कुनै नयाँ खबर भए गाउँलेलाई जानकारी दिने जिम्मेवारी भारसेको हो । उनी गाउँका कुनै पनि नयाँ सूचना थाहा पाउने पहिलो व्यक्ति हुन् । उनीमार्फत मात्रै अरुले थाहा पाउँछन् । पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका ५५ वर्षीय भारसे गाउँका कटुवाल हुन् । सूचना प्रविधिको तीव्र विकास भइरहेको आधुनिक समयमा पनि तकसेरा गाउँमा भने उनको सूचना नै आधिकारिक मानिन्छ ।
भारसेको सूचनाका आधारमा मात्रै स्थानीय काममा अग्रसर हुन्छन् । गाउँमा कसैको विवाह हुन थाल्यो, मृत्यु भयो, भेला, कार्यक्रम वा सामाजिक काम गर्नुपर्ने भए उनको सूचनाका आधारमा काम हुन्छ । भारसेको तीन पुस्ता नै कटुवाल हो । उनका हजुरबुवा हस्ते र बुवा कमलेले कटुवालकै काम गरे । भारसेले पनि १३ वर्षको उमेरदेखि नै बुवाको पछि लागेर कटुवाल काम सिके ।
कटुवाल सञ्चारको पुरानो प्रविधि हो । गाउँमा कुनै नयाँ खबर, सूचना दिनुपर्यो भने कटुवालले सबैले सुन्ने ठाउँबाट जोडले कराएर जानकारी दिने चलन छ । यसलाई हाँक हाल्ने पनि भनिन्छ । अधिकांश गाउँमा पहिले कटुवालको माध्यमबाट नै सूचना पाउने चलन थियो । सूचना प्रविधिको विकाससँगै यो चलन हराउँदै गयो तर तकसेरा गाउँमा भने अझै पनि यसले निरन्तरता पाएको छ ।
कटुवाल काम गरेबापत पहिले घरघरमा पुगेर ६ महिनाको दुई माना अनाज उठाउनु पर्थ्यो । २०६७ सालपछि भने नगद पाउन थालेको भारसेले बताए । उनले ६ महिनाको प्रतिघर ५० रुपैयाँका दरले नगद पाउन सुरु गरेका थिए । त्यसपछि क्रमशः वृद्धि भएर ७५, १ सय, १ सय ५० हुँदै अहिले १ सय ६० रुपैयाँ पाउन थालेका छन् ।
तकसेरामा ३ सय १९ घर छन् । ‘अहिले टोलहरूले उठाएर दिन्छन् । सजिलो भएको छ । पहिले त आफै घरघर पुग्नुपर्थ्यो,’ उनले भने, ‘कतिपयले दिन मन गर्दैनन् । यो चलन बचाउन त्यति सजिलो छैन ।’ आफू बाँच्दासम्म यो पेसा बचाउने उनको सोच छ । त्यसपछि भने यसलाई निरन्तरता दिन कठिन रहेको उनको बुझाइ छ ।
उनका चार छोरा र एक छोरी छन् । नातिनातिना पनि भइसके तर कसैले पनि यो पेसा गर्न मान्दैनन् । ‘म नमर्दासम्म गर्छु, त्यसपछि त हराउँछ होला,’ कटुवाल पेसाको अस्तित्वबारे उनले चिन्ता व्यक्त गरे, ‘मेरा कोही पनि छोरा यो काम गर्न मान्दैनन् । अरु गाउँले पनि तयार छैनन् ।’
पहिले कामी समुदायबीच चिट्ठा हालेर जसलाई पर्छ, उसलाई कटुवाल छान्ने चलन थियो । बिस्तारै यो पेसाप्रतिको आकर्षण घट्दै गयो । कटुवाल बन्न कोही तयार भएन । २०५० सालपछि भारसे एक्लैले तकसेराको कटुवालको जिम्मेवारी सम्हाले । २०५२ फागुन १ को माओवादी विद्रोहपछि यो पेसा संकटमा पर्यो । विद्रोही माओवादी र सरकारी पक्षबाट तकसेरा जस्ता मगर बाहुल्य गाउँहरू निशानामा परे । सुरक्षाका कारण युद्धकालमा कटुवाल भएर हाँक हाल्दै गाउँ घुम्ने अवस्था रहेन । त्यसपछि भारसे गाउँ छोडेर मलेसियातिर लागे । ६ वर्षको वैदेशिक रोजगारीपछि उनी फेरि गाउँ फर्के । गाउँ फर्केपछि फेरि उनलाई नै कटुवाल पेसा सम्हाल्न गाउँलेले अनुरोध गरे । शान्ति प्रक्रियापछि यो पेसालाई फेरि निरन्तरता दिन उनले २०६९ सालसम्म कुर्नु पर्यो । त्यसयता अहिलेसम्म निरन्तर उनले हाँक हाल्दै गाउँ ब्यूँझाउने काम गरिरहेका छन् ।
पुथाउत्तरगंगा गाउँपालिका–१० का वडाध्यक्ष भरत बुढाले परम्परा बचाउन नै वडामा कटुवाल प्रथा कायम राखिएको बताए । आधुनिक प्रविधिको विकासले अधिकांश गाउँमा कटुवाल प्रथा हराउँदै गए पनि यसको इतिहास र संस्कृति बचाउन नै तकसेरामा निरन्तरता दिएको उनले जानकारी दिए । ‘मगर समुदायको महत्त्वपूर्ण पर्व भूमे मनाउने क्रममा असार १ गते एक वर्षका लागि कटुवाल छान्ने परम्परा थियो,’ उनले भने, ‘हामीले त्यही परम्परा बचाउन अहिले पनि कटुवाल राखिरहेका छौं । गाउँमा कुनै पनि काम पर्दा कटुवालले हाँक नहाली हुँदैन ।’ गाउँले पनि कटुवालको सूचनामा भर पर्ने बानी परिरहेको उनको भनाइ छ । कटुवाल बस्न नमान्ने अवस्था आए पनि समय अनुसार पारिश्रमिक बढाउँदै प्रथा कायम राखिरहेको उनले बताए ।
