ओमानको जागिरसँगै गाउँमा अकबरे खेती

वैदेशिक रोजगारीमा रहेका धुर्कोट गाउँपालिका–१ नयाँगाउँ ओख्रेनीका चन्द्र ताम्राकारले सहरबाट परिवारलाई गाउँ सारेर व्यावसायिक अकबरे खुर्सानी खेती गरेका छन् ।

कार्तिक २५, २०८२

सन्तोष महतारा

Akbari farming in the village along with Omani employment

गुल्मी — पहाडबाट तराई र सहरतिर बसाइँ सर्नेको संख्या बढ्दो छ । पहाडबाट सर्नेलाई न कुनै रोक्ने योजना छ न गएकालाई फर्काउने ।

वैदेशिक रोजगारीमा रहेका धुर्कोट गाउँपालिका–१ नयाँगाउँ ओख्रेनीका चन्द्र ताम्राकारले सहरबाट परिवारलाई गाउँ सारेर व्यावसायिक अकबरे खुर्सानी खेती गरेका छन् ।  

आफू वैदेशिक रोजगारी र परिवारलाई सहरमा राखेका चन्द्रले दुई वर्षदेखि ओख्रेनीमा अकबरे खेती गरेका हुन् । आठ वर्ष सहरमा बिताएर पुनः गाउँमै सम्भावना उनले ओमानबाटै देखे । ओमानको पानी जहाजमा सेफको काम गर्ने चन्द्रले दुई महिना काम गरेपछि एक महिना छुट्टी पाउँछन् । यही सुविधाले ओख्रेनीमा बाँझो बनेको जमिनमा खुर्सानी रोपेर चन्द्र ताम्राकार र श्रीमती मीना ताम्राकारले आफ्नो मिहनेतलाई देखाएका छन् । 

कूल ४५ लाख रुपैयाँ लगानी भइसकेको ओख्रेनी कृषि तथा पशुपन्छी फार्मको ७० रोपनी जग्गामा अकबरे खुर्सानी, १८ प्लाष्टिक टनेलमा तरकारीजन्य खेती, पाँच सय सुन्तलाका बोट र तीन सय केराका बोटलगायतका खेती गरिरहेका छन् । फार्ममा पाँच भैंसी र दुई सिरोइ, बयर चार र स्थानीय १५ वटा बाख्रा समेत पालेका छन् । 

ओमानको पानी जहाजमा सेफको काम गर्ने चन्द्र ६० दिन काम गरेपछि ३० दिन छुट्टी पाउँछन् । कम्पनीले ओमानदेखि काठमाडौं र भैरहवासम्मको दुईतर्फी आउजाउ खर्च बेहोर्छ । यही सुविधाका कारण छुट्टीको समय घर आएर फार्मको व्यवस्थापनमा खर्चिन सम्भव भइरहेको उनले सुनाए ।  पछिल्लो पटक उनी कात्तिक १ मा घर आएका छन् । अहिले फर्मको काममा व्यस्त छन् । अब मंसिर १ मा ओमानमा जागिर भेटाउन पुग्ने तरखरमा रहेको चन्द्रले बताए । 

फार्ममा मासिक तलबमा सात र मौसमी २५ जना कामदारले फर्मममा काम गर्छन् । फर्ममा काम गर्ने कामदारले खानाबस्नको सुविधासहित मासिक १२ हजारदेखि २५ हजार रुपैयाँसम्म पाउँछन् । प्यूठान नौबिहिनी गाउँपालिका–२ कुर्तिबांगकी मनिस्का घर्तीमगरले आफूहरुले बिहानदेखि साँझसम्म काम गर्ने गरेको बताइन् । गत बैशाखबाट उनीहरू फर्ममा कार्यरत छन् । त्यसअघि स्थानीय मौसमी कामदारबाट काम भइरहेको थियो । नियमित काम पाएपछि आफूहरु खुसी रहेको उनले बताइन् । 

फार्मको व्यवस्थापकीय पक्ष मीनाले हेरिरहेकी छिन् । गाउँ फर्किएर खेती गर्ने निर्णय निकै लाभदायक भएको उनले बताइन् । ‘सबै कुरालाई व्यावसायिक बनाएर अगाडि बढेका छौं,’ उनले भनिन्, ‘सबैले प्रशंसा गरेर प्रेरणा मिलेको बताउँदा झन् आनन्द आउँछ ।’ उनको फार्मबाट यो वर्ष ३० हजार अकबरेका बोटबाट ५० क्विन्टल खुर्सानी बिक्री भइसकेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँका दरले बिक्री भएको मीनाले बताइन् ।

यो वर्ष १ सय क्विन्टल भन्दाबढी खुर्सानी उत्पादन हुने उनको अनुमान छ । अहिले फर्ममा खुर्सानी टिप्न र बजार पठाउन भ्याईनभ्याई छ । तम्घास, अर्घाखाँची र बुटवल समेत बजार रहेकाले बजारीकरणमा कुनै समस्या नभएको उनले बताइन् । ‘हामीले उत्पादन गर्न सके बजारको समस्या छैन्,’ उनले भनिन्, ‘अब अरुको उत्पादन पनि संकलन गर्ने सोच छ ।’ अहिले बजारको माग अनुसार उत्पादन गर्न नसकेको चन्द्रले सुनाए । बिशेषगरी चाउचाउ उत्पादन गर्ने कम्पनीमा यो खुर्सानी बढी बिक्छ ।

बजारीकरणका लागि उनले अकबरे खुर्सानी चाहिने कम्पनीसँग आफै सम्पर्क गरेर चाँजोपाँजो मिलाउँछन् । फार्मबाट यसवर्ष २० लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने चन्द्रको अनुमान छ । बिस्तारै फर्ममा पनि लगानी बढाउँदै लगेको उनी बताउँछन् । ‘यसमै स्थापित हुन लगानी बढाउँदै गइरहेका छौं,’ उनले भने, ‘वैदेशिक रोजगार छाडेपछि सबै समय यही फर्ममा खर्चिने हो ।’  

४० रोपनी लिजकाे र ३० रोपनी आफ्नै बारीमा खेती गरिरहेका चन्द्रले वार्षिक ४० हजार रुपैयाँ भाडा बुझाउँछन् । फार्ममा सिँचाइबाहेक अन्य समस्या भने हालसम्म छैन् । अलिकति अग्लो स्थानमा भएकोले सिँचाइका लागि समस्या भइरहेको चन्द्रले बताए । 

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले ताम्राकार दम्पत्तीको अकबरे खुर्सानी खेती अरुका लागि पनि प्रेरणा भएको बताए । ‘उहाँहरुले मेहनत गरेर निकै राम्रो खेती गर्नुभएको छ, जुन हामी सबैलाई प्रेरणा मिलेको छ,’ उनले भने, ‘सिँचाइको समस्या छ, यसको समाधानका तीन तहका सरकार मिलेर लाग्छौं ।’ उनले अकबरे खुर्सानी खेती निःशुल्क ढुवानी गरेर सहयोग गरेको बताए । एउटा उन्नत खालको नर्सरी बनाउने बिषयमा पनि पहल भइरहेको उनले बताए । 

फार्ममा सिसिटिभी क्यामेरा समेत जडान गरेका छन् । चन्द्रले फार्मको निगरानी विदेशमा हुँदा समेत गरिरहेका हुन्छन् । धुर्कोट गाउँपालिकाले पालिकाको गाडी बजार जाँदा रित्तै हुँदा तम्घास र बुटवललगायतका बजारसम्म खुर्सानी पुर्‍याएर सहयोग गरिरहेको अध्यक्ष पोख्रेलले बताए । अकबरे खुर्सानी खेतीको विस्तार गर्न बिरुवा बिक्रीवितरणका लागि फार्ममा नर्सरी स्थापना गर्न पालिकाले सहयोग गर्ने तयारी गरिरहेको उनले बताए । 

सन्तोष

Link copied successfully