किसानलाई धान बेच्नै सकस, चारदिनदेखि बयलगाडा लिएर जाग्राम

खाद्य तथा व्यवस्था व्यापार केन्द्रको हातामा यसअघि धान बिक्री गर्न आएका किसानलाई भित्र प्रवेश गर्न दिई टोकनको व्यवस्था गरेकोमा अहिले सडकमै राख्न दिइएको छ । जसले गर्दा सडक जाम जस्तै भएको छ।

कार्तिक २२, २०८२

कमल पन्थी

Farmers struggling to sell paddy, wake up with bullock cart for four days

What you should know

बर्दिया — राजापुर नगरपालिका–३ का तिघ्राका किसान विनोद थारु थारु बुधबार बिहान ४ बजे खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरको मुलद्वारमा पुग्छन् । धान बेच्ने पखाईमा बसेका उनी तीनरात चार दिन बित्यो । तर पालै पाएका छैनन् । 

उनी जस्तै राजापुर नपा–३ प्रयागपुरका पन्टु थारुले सडकमै तीन रात कटाएर बसे पनि पालो नआएको बताए । राजापुरस्थित खाद्य व्यापार केन्द्रबाहिर करिब १ किमीसम्म वयलगाडा र टयाक्टरमा सयौं किसान धान बिक्री गर्ने पखाईमा बसेका छन् ।

खाद्य तथा व्यवस्था व्यापार केन्द्रको हातामा यसअघि धान बिक्री गर्न आएका किसानलाई भित्र प्रवेश गर्न दिई टोकनको व्यवस्था गरेकोमा अहिले सडकमै राख्न दिइएको छ । जसले गर्दा सडक जाम जस्तै भएको छ । 

धान बेच्न आएका किसान ३/४ दिनसम्म पालो पर्खिदा खाना, नास्ताको खर्च भइरहेको गुनासो पोखेका छन् । कतीपय किसानले खर्च धान्न नसकेर व्यापारीलाई खाद्यको मूल्य भन्दा ४ सय रुपैयाँ कम मूल्यमा धान बेचेका छन् । लामो समयसम्म पालो कुर्नुपर्दा खाना खाने रकम नहुँदा बाध्य भई १ क्विन्टल धान सस्तोमा बेचेको पन्टु थारुले बताए ।

कैलालीका किसान पनि धान बिक्री गर्न यहाँ आएका छन् । कैलाली टिकापुर नगरपालिकाका जिवन थारुले बुधबार बिहान २ बजे बयलगाडामा आउँदा ३ घण्टा लागेको बताए । धान बिक्री गर्न खाद्य व्यवस्थापन कार्यालय, राजापुरमा आए पनि शुक्रबार बेलुकीसम्म पालो नपाएको बताए । 

उनी जस्तै यहाँका किसान लडिया र ट्याक्टरमा धान बिक्री गर्न यहाँ दैनिक आइपुग्छन् । गल्ला व्यापारीले प्रति क्विन्टल मोटा धान २ हजार ७ सयसम्म खरिद गर्दै आएका छन् । मध्यम ३ हजार १ सयसम्म खरिद गर्ने गरेको किसानले बताए ।

Farmers struggling to sell paddy, wake up with bullock cart for four days

खाद्यले धान खरिद गर्दा गुणस्तरदेखि वडा कार्यालयको सिफारिस लगायतका प्रक्रिया पुरा गर्दा समय बढी खर्चिँदा खरिद कार्य ढिलासुस्ती हुने गरेको राजापुर–१ का किसान लौटन थारुले बताए । थारु ढिलै भए पनि किसानले खाद्य संस्थानमा बेच्दा व्यापारी भन्दा राम्रो मूल्य पाएको बताउँछन् । ‘बिहानको चिसोमा करिब तीन किलोमिटर दूरीबाट धान बेच्न आएका छौं,’उनले भने, ‘धान बेच्ने प्रक्रिया झन्झिटिलो छ ।’

उनी जस्तै राजापुर–६ का किसान नाचु चौधरीले सरकारले ढिलो रकम पठाएको र चिसो बढेका कारण धान बेच्न आउँदा सास्ती भोग्नुपरेको बताए । बिहानै अँध्यारोमा खाद्य केन्द्रमा आउँदा अरु पनि लाइन लगाएर मुलद्वार भित्र प्रवेश पाउने हतारमा हुने गरेको उनले सुनाए । ‘भित्र पुगेपछि पालो कुर्दै निकै समय खर्चिनु परेको छ,’ उनले भने, ‘वर्ष भरी परीश्रम गरी उब्जाएको धान बिक्री गर्न आउँदा सकस भएको छ ।’

खाद्य तथा व्यापार व्यवस्था केन्द्र, राजापुरले गत कात्तिक १९ गतेदेखि धान खरिद गर्दै आएको छ । खाद्य तथा व्यापार केन्द्रमा शुक्रबार बेलुकीसम्म १ हजार ९ सय ५० क्विन्टल बढी धान खरिद गरेको जनाएको छ । खाद्य केन्द्रले यस वर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने भएको सूचना अधिकारी चेतमान कठायतले बताए ।

यसवर्ष सरकारले मोटा धान ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मसिनो ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा मूल्य तोकेको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully