खेतीयोग्य जमिन भएका पालिकामै कृषि क्षेत्रलाई कम बजेट

स्थानीय तहले नीति कार्यक्रममा कृषि उत्पादन वृद्धिलाई जोड दिने गरेका छन् । तर, कृषि शाखामार्फत खर्च हुने बजेटमा बर्सेनि अंकुश लगाइरहेको देखिन्छ ।

कार्तिक २१, २०८२

दीपेन्द्र बडुवाल

Low budget for agriculture sector even in municipalities with cultivable land

What you should know

भैरहवा — खेतीयोग्य जमिन प्रशस्त भएका रुपन्देहीका स्थानीय तहले कृषि क्षेत्रका लागि न्यून बजेट विनियोजन गरेका छन् । थोरै बजेट धेरै योजनामा छरेर विनियोजन गरिएकाले पालिकामा व्यावसायिक कृषि फस्टाउन सकेको छैन ।

पालिकाअन्तर्गत विज्ञ कर्मचारी रहेका शाखामार्फत खर्च हुने बजेट थोरै पाइएको हो । धेरै पालिका अध्यक्ष/उपाध्यक्षले आफूखुसी वितरणका लागि आफ्नो जिम्मामा बजेट राखेका छन् । केही बजेट वडामार्फत खर्च भइरहेको छ । 

स्थानीय तहले नीति कार्यक्रममा कृषि उत्पादन वृद्धिलाई जोड दिने गरेका छन् । तर, कृषि शाखा मार्फत खर्च हुने बजेटमा बर्सेनि अंकुश लगाइरहेको देखिन्छ । रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कृषि क्षेत्रमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष पनि यति नै बजेट विनियोजन गरेको थियो । २०८०/०८१ र २०७९/०८० मा मर्चवारीले कृषि शाखालाई २०/२० लाख रुपैयाँ बजेट छुट्याएको शाखा प्रमुख दिनेशकुमार यादवले बताए । व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न बजेट अपुग भइरहेको उनले बताए ।

उर्वर जमिन रहेको मर्चवारीले व्यवसायिक केरा, च्याउ र तरकारी खेतीका लागि अनुदान प्रदान गरिएको जनाएको छ । अनुदान प्राप्त गरेका किसानले केरा, च्याउ र तरकारी उत्पादन गरेर लाभ लिइरहेका छन् । पालिका अध्यक्ष गयाप्रसाद बरईले आफैले वितरण गर्नेगरी केही बजेट कृषि योजनाका लागि छुट्याएका छन् । अध्यक्षले वितरण गर्ने बजेट कृषि शाखाको भन्दा धेरै छ । अध्यक्षले विभिन्न वडामार्फत बोरिङ, विद्युत, तारपोलमा गरी ३६ लाख बजेट छुटयाएका छन् । ‘मर्चवारीमा पानी र विद्युत् समस्या धेरै छ,’ बरईले भने, ‘त्यसैले बोरिङ र तारपोलमा धेरै बजेट छुटयाएका हौं ।’

मर्चवारीको छिमेकी सम्मरीमाई गाउँमा खेतीयोग्य जमिन धेरै भए पनि कृषि योजनाका लागि कम बजेट विनियोजन गरिएको छ । सम्मरीमाईमा ४ हजार ५ सय ३० हेक्टरमा खेतीपाती हुन्छ । गाउँपालिकास्थित कृषि शाखाका अनुसार यसपालिको बजेट पुस्तिका प्रकाशित भइनसकेकाले बजेट यकिन भएको छैन ।

०८१/०८२ मा कृषितर्फ ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यस्तै पशुतर्फ २० लाख छुट्याइएको थियो । २०८०/०८१ मा कृषितर्फ ३५ लाख र पशुतर्फ २० लाख विनियोजन गरिएको थियो । २०७९/०८० मा कृषितर्फ ६८ लाख ० हजार र पशुतर्फ २८ लाख ४० हजार छुटयाइएको छ । पालिकाले हरेक आर्थिक वर्ष कृषि र पशुपालनको बजेट घटाउँदै लगेको छ ।

तरकारी, केरा खेती, माछा र पशुपालनमा ख्याति कमाएको मायादेवी गाउँपालिकाले पनि बर्सेनि कृषि क्षेत्रको बजेट घटाउँदै लगेको छ । कृषि शाखा प्रमुख शशी ढुंगानाका अनुसार २०८२/०८३ मा पालिकाले कृषितर्फ २७ र पशुतर्फ २१ लाख विनियोजन गरेको छ । पालिकाले २०८१/०८२ मा कृषितर्फ २९ र पशुतर्फ २५ लाख छुट्याइएको छ ।

२०८०/०८१ मा कृषितर्फ ४० र पशुतर्फ १६ लाख विनियोजन गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा कृषितर्फ ४० र पशुतर्फ पनि ४० लाख विनियोजन गरिएको पालिकाले जानकारी दिएको छ । ‘कृषि शाखाबाट खर्च हुने बजेट कम छ,’ प्रमुख ढुंगानाले भनिन्, ‘कति बजेट वडामार्फत पनि खर्च भइरहेको छ ।'

प्रदेश मन्त्रालय र निर्देशनालयबाट प्राप्त हुने बजेट पनि छ ।’ विगतको तुलनामा शाखालाई प्राप्त हुने बजेट बर्सेनि घट्दो रहेको उनले बताइन् ।

मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले पालिकाको वडा नम्बर १ देखि ८ सम्म व्यावसायिक रुपमा विभिन्न बालीनाली उत्पादन भइरहेको बताए । ‘पालिकाका ७ वडामा कृषिको प्रचुर सम्भावना छ,’ उनले भने, ‘धान र गहुँबाली दुई सिजन खेती हुन्छ । वडा नम्बर १ र २ तरकारीका लागि प्रसिद्ध छन् । वडा नम्बर ६ र ७ मा धान र गहुँबाहेक केराखेती भइरहेको छ ।’

गाउँपालिकाले सुरुदेखि नै कृषि क्षेत्रलाई प्राथमिकता दिएर योजनामा लगानी गरिरहेको बताए । पछिल्लो समय छरिएर बजेट खर्च भइरहेका कारण शाखामार्फत कम खर्च भएको देखिएको बताए । 

दीपेन्द्र

Link copied successfully