स्वास्थ्य शिविरमा २ सय ३९ जनाले आँखा, १ सय १८ जनाले कान, ८१ जना दाँत र ३० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन् ।
What you should know
बर्दिया — सशस्त्र प्रहरीद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४ सय बढी सीमावर्ती नागरिकले सेवा पाएका छन् । सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण सुरजपुरद्वारा बिहीबार गुलरिया नगरपालिका–१० रत्नापुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य चेकजाँच गराएर सेवा लिएका हुन् ।
आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउँदा वडावासी खुसी भएको गुलरिया नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मीनारायण लोधले बताए । ‘उक्त शिविरमा दुवै देशका सीमावर्ती गाउँका नागरिकले सेवा लिएका छन्,’ उनले भने, ‘सशस्त्र प्रहरीले शिविर आयोजना गरेर दुवै देशका सीमावर्ती बासिन्दाबीच आपसी भाइचारा कायम गर्न मद्दत पुर्याएको छ ।’
सशस्त्र प्रहरी सिमानामा दिनरात खटिएर नगरवासीलाई सुरक्षाको अनुभूति दिलाएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘खुला सीमामा सशस्त्रको उपस्थितिले नगरवासी रातभरि मज्जाले निदाउन पाएका छन्,’ नगर प्रमुख यादवले भने, ‘यस्तै सीमावर्ती नगरवासीको स्वास्थ्य चेकजाँचमा सशस्त्र प्रहरीले देखाएको चासो प्रशंसायोग्य छ ।’
सशस्त्र प्रहरी सुरक्षाका अतिरिक्त दुःखसुखको समयमा जनतामाँझ पुगेको सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर बिन्ध्यावासिनी बाहिनी रूपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ध्रुवबहादुर कार्कीले बताए । ‘सशस्त्र प्रहरीले सीमाबासीको पिरमर्का बुझेर उनीहरूलाई कसरी खुसी राख्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेका छौं,’ उनले भने, ‘सीमावर्ती जनताको चाहनाअनुसार सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ, सोहीअनुसार शिविरको आयोजना गरी स्वास्थ्य चेकजाँच गरिएको हो ।’
एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ६८ जना सीमावर्ती नागरिकले सेवा लिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण सुरजपुरका गणपति मानबहादुर शाहीले बताए । ‘२ सय ३९ जनाले आँखा, १ सय १८ जनाले कान, ८१ जना दाँत र ३० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन्,’गणपति शाहीले भने,‘आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरिएको छ ।’
सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण सुरजपुरको आयोजनामा दीप डेन्टल क्लिनिक, नेपालगन्ज आँखा अस्पताल प्रालि र फेको एण्ड रेटिना सर्जिकल सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
