जीर्ण पुल जोगाउन २४ घण्टा पहरा

पूर्व-पश्चिम राजमार्गको पूर्वी नवलपरासी खण्डमा पर्ने अधिकांश पुल पनि जीर्ण छन् । जसका कारण समयमा-समयमा पुल भासिने र भाँचिने समस्याले गर्दा यात्रुले महिनौँसम्म डाइभर्सन भएर यात्रा गर्नुपर्ने अवस्था छ ।

कार्तिक २०, २०८२

नवीन पौडेल

24-hour guard to protect dilapidated bridge

What you should know

परासी — पूर्व-पश्चिम राजमार्ग निर्माणको क्रममा बनेका अधिकांश पुल जीर्ण अवस्थामा छन् । अहिलेका सवारीसाधनले बोक्ने भारबहन क्षमता थेग्न नसक्दा पटक–पटक पुराना पुल भाँचिएर यात्रुले सास्ती भोगिरहेका छन् ।

पूर्व-पश्चिम राजमार्गको पूर्वी नवलपरासी खण्डमा पर्ने अधिकांश पुल पनि जीर्ण छन् । जसका कारण समयमा-समयमा पुल भासिने र भाँचिने समस्याले गर्दा यात्रुले महिनौँसम्म डाइभर्सन भएर यात्रा गर्नुपर्ने अवस्था छ ।

वैशाख ३० गते ओभरलोड सवारीका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरुबारी पुल भाँचियो । १५ दिनभित्र मर्मत गरेर यातायात सञ्चालन गर्ने लक्ष्य राखेको सडक विभागले जेठ २४ गते पुल मर्मत गरेर यातायात सञ्चालनमा ल्यायो । पुलको तल टेको लगाएर यातायात सञ्चालनमा ल्याइए पनि यो पुलले ठूला सवारीको भार थेग्न सक्ने अवस्था छैन ।

बुटवल-नारायणगढ सडक विस्तार भइरहेकाले यो पुरानो पुलसँगै नयाँ पुल पनि निर्माण भइरहेको छ । त्यसैले नयाँ पुल निर्माण सम्पन्न नहुँदासम्म पुरानो पुलको दुबै तर्फ सडक विभाग र प्रहरी राखेर ओभरलोड सवारीसाधन सञ्चालन हुन नदिन पहरा दिइएको छ ।

मालवाहक सवारीलाई रोकेर भार यकिन गर्ने, बढी भार रहेको भेटिएमा सामान झारेर तोकिएको तौल मात्र राख्न दिने गरिएको छ । जीर्ण र मर्मत गरिएका पुलमा एक पटकमा एकतर्फी ४० टन मात्र भारबहन क्षमता भएको सवारी सञ्चालन गर्न दिने गरेर सूचना टाँस गरिएको छ । सोही अनुसार २४ सै घण्टा पुलमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।

नयाँ पुल निर्माण भएर सञ्चालन नहुँदासम्म पुलमा सुरक्षाकर्मी नै तैनाथ गरेर बढी भार भएका सवारी गुड्न नदिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काले बताए । चोरमाराको गिरुबारी पुल र अरुणखोलाको पुलमा पनि चौबीसै घण्टा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने अवस्था छ ।

सुरक्षाकर्मी परिचालन नगर्दा बढी भार भएका सवारी गुडेर पुलमा क्षति पुग्यो भने समस्या हुने भन्दै पुलको सुरक्षामा विशेष चासो दिएको हो । यसै गरेर पूर्व-पश्चिम राजमार्गको दुम्किबासमा रहेको विनयी खोलाको पुल २०८१ पुस २६ गते भाँचिएको थियो । भाँचिएको पुल अहिलेसम्म मर्मत भएको छैन । सोही स्थानमा सडक विस्तारका क्रममा निर्माण भएको नयाँ पुलबाट सवारी आवतजावत भइरहेको छ ।

बुटवल–नारायणगढ सडकखण्डअन्तर्गतका पुल ट्रस्ट ब्रिज ५० वर्षभन्दा पुराना हुन् । पूर्व-पश्चिम राजमार्ग निर्माणको क्रममा तत्कालीन समयमा सवारी सञ्चालनको चाप र तिनले बोक्ने भार क्षमताअनुसार निर्माण गरिएको पुल हो । अहिले आधुनिक सवारी र पहिलेको भन्दा चौगुना बढी भारबहन क्षमता भएका सवारीलाई पुराना पुलको संरचनाले थेग्न नसक्ने अवस्था छ ।

यो खण्डमा साना-ठूला गरेर दैनिक १० हजार सवारी गुड्ने गर्दछन् । त्यसमाथि ओभरलोड बोकेर आउने भारतीय सवारीसाधनको भार थेग्न धौधौ छ । ओभरलोड ल्याउने सवारीलाई सामान्य जरिवाना मात्र गरेर छाडिदिने प्रचलनले गर्दा पुल र सडकमा बढी क्षति पुग्ने गरेको छ ।

भन्सारबाट सिल गरेर ल्याइएको सामान खोलेर अनलोड गर्ने अधिकार सामान्य अवस्थामा ट्राफिक प्रहरीलाई छैन । त्यसमाथि नेपालमा रहेका तौल केन्द्रमा १ सय टनसम्मको मात्र तौल मापन हुने हुँदा ओभरलोड बोकेर आउने भारतीय कन्टेनरले गर्दा पुलमा बढी क्षति पुग्ने गरेको छ ।

‘बुटवल–नारायणगढ सडकखण्ड विस्तारको क्रममा रहेको छ । केही पुलमा ओभरलोड सवारीका कारण क्षति पुगेर मर्मत हुने र सँगै नयाँ पुल पनि निर्माण भैरहेको अवस्था छ,’ नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले भने, ‘पुलमा क्षति पुग्यो भने समस्या हुने भएकाले सडक डिभिजन कार्यालय भरतपुर र सुरक्षाकर्मीको अग्रसरतामा पुलमा सुरक्षा दिइएको होला ।’

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully