बालककी हजुरआमाले भेरी अस्पतालले उपचार नगर्दा नातिलाई बाटोमै गुमाउनु परेको बताइन् ।
नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिका–६ हिर्मिनियाका ६ वर्षीय दीपेश चमारलाई आइतबार स्कुल अगाडि घोडामा सामान ओसार्ने ठेलाले ठक्कर दियो । अचेत बनेका बालकलाई विद्यालय र परिवारजनले भेरी अस्पताल पुर्याए ।
पुगेलगत्तै अस्पतालले उपचार सम्भव नहुने भन्दै सञ्जीवनी अस्पताल (नर्सिङ होम) लैजान सुझायो । बीपीचोकस्थित सञ्जीवनी अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरिदिए । यी दुई अस्पतालको दूरी करिब एक किलोमिटर छ ।
आफ्नो नातिको पोस्टमार्टमका लागि अस्पताल परिसरमा रहेकी हजुरआमा गीता चमारले अस्पतालमा ल्याउँदासमेत उपचार नगर्दा बाटोमै नाति गुमाउनु परेको बताइन् । उनले भनिन्, ‘उपचार गरेर हेरेको भए पनि मन शान्त हुन्थ्यो बाटोमै नाति गुमाउनु पर्यो ।’
आइतबार दिउँसो २ बजे डुडुवा–६ हिरमिनिया बकौली सिक्खनपूर्वाको सामुदायिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षीय दीपेशलाई विद्यालयकै अगाडि उभिएको अवस्थामा बग्गी (घोडा गाडी) ले ठक्कर दिएको थियो । खाजा खाने समयमा विद्यालय बाहिर निस्किएका ती बालक घण्टी लाग्दा पनि बाहिरै थिए ।
घटनापछि विद्यालय प्रशासनले र परिवार मिलेर नेपालगन्जस्थित भेरी अस्पतालमा पुर्याएका थिए । ‘भेरी अस्पतालमा बच्चा पुग्दा बच्चा जीवितै थियो । रिफर गर्नुको साटो भेरी अस्पतालले तुरुन्त उपचार सुरु गरेको भए बाँच्ने सम्भावना प्रबल थियो,’ सामाजिक अभियन्ता रुबी खानले भनिन्, ‘सरकारी अस्पतालमा अरु बालबालिकाको अवस्था पनि यस्तै छ । भेरी अस्पतालमा आईसीयु बेड पाइँदैन सबै प्याक छ भन्ने जानकारी दिइन्छ तर डाक्टरका क्लिनिकका बिरामीका लागि बेड अग्रिम बुक हुन्छ ।’
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी संकेत रिसालले बालकको अवस्था गम्भीर रहेकाले अरु अस्पतालमा रिफर गरिएको बताए । ‘मैले अस्पतालको ड्युटीमा रहेका डाक्टरसँग कुरा गर्दा बच्चाको अवस्था गम्भीर थियो । अस्पतालमा सिटी स्क्यान छैन । न्यूरोको डाक्टर पनि हामीसँग नभएकाले भेरी अस्पतालमा उपचार सम्भव छैन भनेर परिवारलाई जानकारी गराएको भन्नुभएको थियो,’ उनले भने, ‘आवश्यक उपकरण नै नभएपछि बिरामीको उपचार गर्न सम्भव हुँदैन ।’
बालकको मृत्युपछि वैदेशिक रोजगारीमा रहेका बालकका पिता मलेसियाबाट सोमबार नै घर फर्किएका छन् । मंगलबार बालकको पोस्टमार्टम गरेर शव घर लगिएको छ । पीडित परिवारले बुधबार जिल्ला प्रहरी बाँकेमा पुगेर जाहेरी दिने तयारी गरेका छन् ।
