अपांगमैत्री संरचना नभएको अपांगता भएकाको गुनासो

‘अपांगता भएकाहरूका लागि प्राथमिकतामा राखेर अझै पनि भवनहरू बनेका छैनन्,’ तानसेन नगरपालिका–६ की अपांगता भएकी शिक्षक पद्या भट्टराईले भनिन्, ‘यस्ता विषय गफ र छलफलमा धेरै हुन्छन् तर व्यवहारमा कमैमात्र देखिन्छन् ।’

कार्तिक १८, २०८२

माधव अर्याल

Complaints from people with disabilities about lack of disability-friendly structures

पाल्पा — पुराना भौतिक संरचना अपांगमैत्री नहुँदा कार्यालयमा सेवा लिन जान समस्या भएको गुनासो अपांगता भएकाहरूले गरेका छन् । जिल्लाका स्थानीय तह, संघ र प्रदेशका कार्यालयमा सेवा लिन पुग्दा सेवा लिनै समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

‘पुराना भौतिक संरचना भएका कार्यालयमा सेवा लिन अपांगता भएकाहरूले सकिने अवस्थै छैन,’ तानसेन नगरपालिका–७, काजीपौवास्थित सिर्जनशील अपांग स्वावलम्बन केन्द्रका उपाध्यक्ष प्रेमबहादुर रानाले भने, ‘अझ दृष्टिविहीन तथा शारीरिक अपांगता भएकालाई सेवा लिन झनै समस्या हुने गरेको छ ।’

रैनादेवी छहरा घर भई तानसेन बस्दै आएका राना आफैं पूर्ण दृष्टिविहीन हुन् । उनी पुग्ने कार्यालयमा सेवामैत्री भावना नभएको आफुले पाएको गुनासो गर्छन् । तानसेन नगरपालिका पूरानो संरचना हो । यसमा २०४० सालताका निर्माण भएको भवन छ । यहाँ नगरप्रमुख तेस्रो तल्लामा बस्छन् । उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत दोस्रो तल्लामा बस्छन् । जसोतसो कार्यालयभित्र पुगे पनि माथिल्लो तल्लामा जान अपांगता भएकालाई समस्या रहेको रानाको गुनासो छ । 

‘नयाँ संरचना निर्माण गरिएको रामपुर नगरपालिकामा पनि जान सकस छ,’ दृष्टिविहीन शिक्षक तथा केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले भने, ‘यहाँ पनि अधिकांश संरचना अपांगतामैत्री छैनन् ।’ अधिकांश कार्यालयका प्रमुख पहिलो तल्लामा बस्दैनन् । उनीहरू माथिल्लो तलामा हुन्छन् । तर त्यहाँसम्म पुग्ने संरचना भने छैनन् । जसले गर्दा दृष्टिविहीन लगायत अपांगता भएकालाई थप समस्या हुने गरेको छ । ‘अझ बढी समस्या दोभासे नहुँदा कान नसुन्नेहरूलाई हुन्छ,’ उनले भने, ‘विभिन्न प्रकारका अपांगता भएकालाई झन् जटिल समस्या छ ।’

रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकामा पनि अपांगता भएकालाई कार्यालय प्रमुख, जनप्रतिनिधि भेट्न सक्ने अवस्था छैन । अधिकांशका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीयको कक्ष दोस्रो तल्लामा छ । बगनासकाली गाउँपालिका र पूर्वखोला गाउँपालिका (दुवैको नयाँ भवन बनेपछि) भने लिफ्टको व्यवस्था छ । लिफ्ट नै भए पनि अपांगता भएकाहरूका लागि अपांगमैत्री संरचना नभएप्छि एक वा अन्यलाई भेट्न जान समस्या हुने भट्टराईले बताए । ‘अपांगता भएकाहरूका लागि प्राथमिकतामा राखेर अझै पनि भवनहरू बनेका छैनन्,’ तानसेन नगरपालिका–६ की अपांगता भएकी शिक्षक पद्या भट्टराईले भनिन्, ‘यस्ता विषय गफ र छलफलमा धेरै हुन्छन् तर व्यवहारमा कमैमात्र देखिन्छन् ।’

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ र नियमावली २०७६ कार्यान्वयन भएका छैनन् । संघ तथा प्रदेशअन्तर्गतका कार्यालयमा अपांगता भएकालाई सेवा लिन अझ बढी समस्या बेहोर्नुपर्ने उनीहरूको गुनासो छ । 

अपांगता भएकी तानसेन–७ की उर्मिला विकका अनुसार अपांगता भएकालाई गर्ने व्यवहार नै परिवर्तन हुन सकेको छैन । स्थानीय तह, संघीय र प्रदेशका कार्यालयमा अपांगमैत्री संरचना नहुने मात्र होइन, अपांगता भएकाहरूका लागि कार्यक्रम नै नहुने समस्या रहेको उनले बताइन् । ‘विकासे कार्यालयहरूमा अपांगमैत्री कार्यक्रम नै भेटिँदैन,’ उनले भनिन्, ‘तर पहिले (२०७४ अघि) भने बाध्यकारी व्यवस्था थियो । अहिले राखे पनि हुने नराखे पनि हुने भएकाले यसतर्फ ध्यान पुगेको छैन ।’ 

राष्ट्रिय अपांग महासंघ र दी एसिया फाउन्डेसनको सहयोगमा सिर्जनशील अपांग स्वावलम्बन केन्द्र पाल्पाले तानसेन नगरपालिकामा स्थानीय सरकार सबलीकरण कार्यक्रम संचालन गरेको छ । ‘धेरै पटक जनप्रतिनिधि राखेर बैठक गरियो,’ केन्द्रका सदस्य तथा कानुनी सल्लाहकार शिव देवकोटाले भने, ‘तर अझै पनि यस्ता विषयको समाधान हुन सकेको छैन ।’ 

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाले अपांगमैत्री संरचना बनाउन नसकेको स्वीकारे । उनले लिफ्ट राख्ने योजना बनाए पनि पुरानो भवन भएकाले सफल नहुने अवस्था आएको बताए । ‘अपांगता भएकाहरूका लागि काम गर्ने भन्ने हो तर सफलता पाइएको छैन,’ उनले भने । जिल्लाका अन्य स्थानीय तहमा अपांगता भएकाहरूको पहुँच नै छैन । जसले गर्दा अपांगता भएकाहरूको सेवा सुविधाका लागि काम गर्न सकेका छैनन् । परिचयपत्र वितरणबाहेक अन्य देखिने काम गर्न सकेका छैनन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully