ठाकुरबाबाका नगर प्रमुखसहित ९४ जनाले गरे रक्तदान

रगतको अभावमा कोही बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् उद्देश्यले पालिकाले आफ्नो नियमित कार्यक्रममा राखेर प्रत्येक तीन महिनामा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिनाकुमारी भट्टराईले बताइन् ।

कार्तिक १८, २०८२

रामप्रसाद चौहान 

94 people, including the mayor of Thakur Baba, donated blood

बर्दिया — ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालसहित ९४ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिकाले मंगलबार आयोजना गरेको १६औं बृहत् रक्तदान कार्यक्रममा नगर प्रमुख लम्सालसहित ९४ जनाले रक्तदान गरेका हुन् ।

सुत्केरी, सिकलसेल, थालसेमिया, रक्तअल्पता र दुर्घटनामा परेका बिरामीलाई तत्काल रगत चाहिन्छ । यदि समयमा रगत पाइएन भने बिरामीको अकालमै ज्यान जाने खतरा हुन्छ ।

रगतको अभावमा कोही बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् उद्देश्यले पालिकाले आफ्नो नियमित कार्यक्रममा राखेर प्रत्येक तीन महिनामा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिनाकुमारी भट्टराईले बताइन् । ‘जिल्लामा विशेषगरी थारु समुदायको बाहुल्यता छ, यहाँ सिकलसेल थालसेमियाका बिरामीहरु हुनुहुन्छ र उहाँहरुलाई अत्यधिक रगत चढाउनुपर्ने हुन्छ,’ उपप्रमुख भट्टराईले भनिन्, ‘संकलन गरिएको रगत गुलरिया, नेपालगंज र कोहलपुर रगत बैंकमा पठाइन्छ र अस्पतालमा उपचाररत बिरामीलाई रगत आवश्यक परेमा तत्काल निःशुल्क रुपमा उपलब्ध गराइन्छ ।’

ठाकुरबाबा–२ रानीपुर कभर्ड हलस्थित भएको रक्तदानमा नगर प्रमुख लम्साल, उपप्रमुख भट्टराईलगायत ९४ जनाले एक/एक पिन्ट रक्तदान गरेका छन् । १३ महिला र ८१ जना पुरुषले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदान समाज ठाकुरबाबा नगर समिति अध्यक्ष छविलाल लम्सालले जनाए । 

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बाँकेको प्राविधिक सहयोग, नेपाल स्वयंसेवी रक्तदान समाज ठाकुरबाबा नगर समितिलगायत संघ संस्थाको सहयोग र समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully