सरकारले आन्दोलन भइरहेका अस्पताल र मेडिकल कलेजका सरोकारवालाको राय लिएर आइतबार बिहान आन्दोलनरत कर्मचारीलाई सरकारी नर्ससरह पारिश्रमिक प्रदान गर्न सहमति कायम गरेको थियो ।
भैरहवा — नर्सिङ र प्यारामेडिक्स कर्मचारीको विरोध प्रदर्शनका कारण दुई सातादेखि आपतकालीन लगायत सेवा ठप्प रहेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज आइतबार दिउँसोबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
अस्पताल प्रशासनले आइतबार साँझ पत्रकार सम्मेलन गरेर त्यहाँ कार्यरत नर्स तथा प्यारामेडिक्स कर्मचारी आन्दोलनका कारण कार्तिक २ गतेदेखि अस्पतालका आपतकालीन लगायत ठप्प सम्पूर्ण सेवा दिउँसोबाट सञ्चालनमा आएको जनाएको हो । अस्पतालका प्रमुख वित्तीय अधिकृत सुरज पौडेलका अनुसार सुरुमा कर्मचारीले सरकारी अस्पताल सरह पारिश्रमिक लगायत ४ वटा माग राखेका थिए । यस अवधिमा समस्या समाधानका लागि आन्दोलनरत कर्मचारी र शिक्षण अस्पताल प्रशासनबीच पटक–पटक वार्ता भएको थियो ।
कर्मचारीले आन्दोलनकै क्रममा माग थपेर १२ बुँदा पुर्याएका थिए । वार्ता र छलफलका क्रममा कर्मचारीका ११ माग पूरा गर्न अस्पताल तयार भए पनि पारिश्रमिकको विषय थाँती थियो । उक्त माग सम्बोधनका लागि सरकारले कार्यदलसमेत गठन गरेको थियो ।
सरकारले आन्दोलन भइरहेका अस्पताल र मेडिकल कलेजका सरोकारवालाको राय लिएर आइतबार बिहान आन्दोलनरत कर्मचारीलाई सरकारी नर्ससरह पारिश्रमिक प्रदान गर्न सहमति कायम गरेको थियो । सहमति लगत्तै आन्दोलनरत कर्मचारी भेला गरेर आफूहरू उक्त पारिश्रमिक उपलब्ध गराउन तयार रहेको जानकारी गराएपछि विरोध कार्यक्रम सकिएको पौडेलले बताए ।
‘आइतबार दिउँसोबाट अस्पतालका सम्पूर्ण सेवा सञ्चालनमा आइसकेका छन,’ उनले भने, ‘युनिभर्सल मेडिकल कलेजको इतिहासमै पहिलोपटक दुई सातासम्म आपतकालीन सेवासमेत ठप्प रह्यो । यसबाट शिक्षण अस्पतालमात्र नभएर सर्वसाधारणले समेत दुःख बेहोर्नुपर्यो ।’
यस अवधिमा अस्पतालमा भर्ना रहेका कर्मचारीलाई मात्र सेवा प्रदान गरिएको उनले जनाए । यस्तो आन्दोलन पहिलो पटक भएको र अब अन्तिम बनोस् भनेर उनले कामना गरे । अस्पतालमा नर्स र प्यारामेडिक्स गरेर दुई सय कर्मचारी कार्यरत छन् ।
