निकै कठिनताका साथ भिक्षुका नीति नियम पालना गरेर (विनय कर्म) तीन महिने वर्षावास सम्पन्न गर्छन् । वर्षावास सकिएको एक महिनाभित्र चिबर दान गरिन्छ । त्यही भएर यसलाई कठिन दान भनिएको हो ।
लुम्बिनी — अस्ट्रेलियामा व्यवसाय गर्ने गैरआवासीय श्रीलंकन नागरिक हेरन्त हेरक लुम्बिनीको आँगनमा टेक्न पाउँदा निकै खुसी भए । ‘२ वर्षअघि लुम्बिनी आउँदा कठिन दान गर्ने संकल्प गरेको थिएँ,’ उनले भने, ‘यस वर्ष आफ्नो योजना पूरा गरी लुम्बिनीको माटो छुन पाउँदा भाग्यमानी बनेको छु ।’
उनी बिहान ५ नबज्दै उठेर स्नान गरी सफा र शुद्ध कपडा लगाए । कठिन चिबरलाई मायादेवी मन्दिरमा विशेष पूजाआजा गरी नवमैत्री महाविहारमा भिक्षुलाई दान गरे । भगवान् बुद्धको दाँत राखिएको श्रीलंकाबाट बुद्ध जन्मस्थल लुम्बिनी आएर उनलाई ढोग्न पाउँदा गतिलो धार्मिक पुण्य संचय गरेको उनले बताए ।
‘बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व कठिन चिबर दानमा सहभागी हुँदा गतिलो शान्तिको ऊर्जा प्राप्त गरेको छु,’ उनले भने । उनीजस्तै श्रीलंकाको क्यान्डीमा जन्मिएर अस्ट्रेलिया बस्दै आएकी रबिन्दी हेरतले पनि लुम्बिनीमा कठिन चिबर दान गरी शान्तिको ऊर्जा संचय गर्न पाउँदा खुसी लागेको बताइन् । ‘यसले गजबको करुणा, मैत्रीभाव पलायो,’ उनले भनिन्, ‘जीवनमा एक पटक गर्नै पर्ने कठिन चिबर दान युवावस्थामै गर्न पाउँदा राम्रो पुण्य प्राप्त गरेँ ।’
उनीहरूजस्तै अस्ट्रेलियामा बस्ने गैरआवासीय श्रीलंकका ८ जना र श्रीलंकाका विभिन्न ठाउँबाट आएका ७ जना गरी १५ उपासक/उपासिका लुम्बिनी आएर कठिन दान गरेका हुन् । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व तीन महिने वर्षावासपछि मनाइने कठिन चिबर दान उत्सवका लागि श्रीलंका र अस्ट्रेलियाबाट उनीहरू यहाँ आएका हुन् । उनीहरूजस्तै गत साता नै श्रीलंकाका विभिन्न ठाउँबाट आएका ४७ जनाले महाबोधी सोसाइटी अफ इन्डिया लुम्बिनी शाखामा कठिन चिबर दान गरेका थिए । विभिन्न विहारमा सय बढी श्रीलंकाबाट आएर कठिन दान गरे ।
लुम्बिनीस्थित नवमैत्री महाविहारमा कठिन चिबर दान गर्दै श्रीलंकाली उपासक उपसिका ।
३ महिनासम्म भिक्षुहरू कठिन अनुशासन र नियममा बस्छन् । साँझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्छन् । नजिकका गाउँघर पुगेर भिक्षा मागेर बिहानको छाक टार्छन् । आफैं भिक्षाटन गर्दै हिँडछन् । त्यस बेला उनीहरू बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पूजाआजा गर्छन् । स्थानीयलाई आशीर्वाद दिन्छन् ।
निकै कठिनताका साथ भिक्षुका नीति नियम पालना गरेर (विनय कर्म) तीन महिने वर्षावास सम्पन्न गर्छन् । वर्षावास सकिएको एक महिनाभित्र चिबर दान गरिन्छ । त्यही भएर यसलाई कठिन दान भनिएको हो । भिक्षुहरूलाई वर्षाका बेला कतै नगई बुद्धले एक्लै नबसेर समूहमा रही ध्यानलाभ गर्ने र धर्मदेशना गर्दै कठिन अनुशासनमा बसालेका बेला कठिन कामबाट बाहिर निस्किएपछि उत्सवका रूपमा कठिन चिबर दान मनाउन थालिएको भिक्षुणी खमेसी गुरुमाले बताइन् ।
कठिन चिबर दान दुई दिन हुन्छ । पहिलो दिन साँझ मायादेवी मन्दिर र विहारमा महापरित्राण पाठ गरिन्छ । साँझ ६ देखि राति ९/१० बजेसम्म मायादेवी मन्दिरमा नेपाली, श्रीलंका, म्यानमार, जापान र थाई भिक्षुले महापरित्रान पाठ गरेका थिए । अर्को दिन विहान उपासक उपासिकाले श्रीलंकाबाट ल्याइएको कठिन चिबरलाई पवित्र बाकसमा राखेर सिंगारेर लगेर मायादेवी मन्दिरमा पूजाआजा गरिन्छ । पवित्र अष्टधातु मायादेवी मन्दिरमा लगेर पूजाआजा गरिएको थियो ।
लुम्बिनीस्थित नवमैत्री महाविहारमा कठिन चिबर दान गर्दै श्रीलंकाली उपासक उपसिका ।
मन्दिर परिसरको अशोक स्तम्भ, पुरातात्विक भग्नावशेषलाई चारैतिरबाट फूलका मालाले सिंगारेर चिटिक्क बनाइएको थियो । दुवै दिन शोभायात्रा निकालेर बाजागाजा सहित उपासक उपासिका मायादेवी मन्दिर र पुष्करणी पोखरीमा पूजाआजा गर्छन् । शोभायात्रा निकाल्दा दुवै टोलीले श्रीलंकाबाट ल्याएको क्यान्डीयन बाजा बजाउँदै पुगेका थिए ।
‘नेपालको पञ्चे बाजाजस्तै पवित्र श्रीलंकामा क्यान्डीयन बाजालाई मानिन्छ,’ अखिल नेपाल भिक्षु महासंघका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘त्यही भएर उपासक–उपासिकाले बुद्धस्थलमा बजाउन श्रीलंकाबाटै बाजा ल्याएका हुन् । बौद्ध धर्मावलम्बीको धार्मिक काम गर्दा यो बाजा निकै महत्त्वपूर्ण र आस्थाको प्रतीक मानिन्छ । त्यसैले श्रीलंकामा यो निकै लोकप्रिय छ । सबैको रोजाइमा पर्छ ।
लुम्बिनीस्थित मायादेवी मन्दिरमा कठिन चिबर दान र पूजा गर्न भिक्षुसँगै जाँदै श्रीलंकाली उपासक उपसिका ।
दोस्रो दिन बिहान शोभायात्रा मायादेवी मन्दिरबाट फर्केर विहार मन्दिर पुगेर कठिन पूजा गरिएको थियो । भिक्षुले शील प्रदान गरे । धर्मदेशना लिए । यसपछि वर्षावास बसेका भिक्षुलाई पहेँलो बस्त्र (चिबर) र भिक्षा पात्र दान गर्छन् । उपासक उपासिकाले श्रीलंकाबाटै ल्याएको चिबर दान गरे । अष्ट परिकार दान गरे । भिक्षुले लगाउने पहेँलो बस्त्र (चिबर) र भिक्षा पात्रलाई चिबर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक कपाल र दाह्री खौरने समान, भित्री बाहिरी कपडा, सियो धागो, छाता लगायत ८ सामग्री हुन्छ । चिबर दानपछि भिक्षुलाई भोजन दान गरिएको थियो ।
दान गरिएको चिबर भिक्षु संघलाई दिइन्छ । अनुशासित र नियमपूर्वक ३ महिने वर्षावास बस्ने भिक्षुलाई संघले निर्णय गरेर चिबर र भिक्षा पात्र प्रदान गर्छ । भिक्षुले वर्षावास बस्दा २ सय २७ वटा विनय नीति नियम पालन गर्नु पर्छ । वर्षावास बसेका भिक्षुलाई भिक्षु संघले चिबर दियो भने उसले ५ वटा विनय ५ महिनाका लागि पालना गर्न छुट हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक सिरी बजिरले बताए । ‘बुद्धधर्ममा महत्त्वपूर्ण मानिने वर्षावास भर्खर सम्पन्न भएको छ ।
लुम्बिनीस्थित महाबोधी सोसाइटी विहारमा कठिन चिबर दान गर्दै उपासक उपसिका ।
असारदेखि असोज पूर्णिमा ३ महिनासम्मलाई वर्षावास भनिन्छ,’ उनले भने, ‘त्यसपछि कार्तिक पूर्णिमा एक महिनाभित्र चिबर दान गरिसक्नु पर्छ ।’ अहिलेसम्म लुम्बिनीमा रहेका रोयल थाई मोनाष्ट्री, महाबोधी सोसाइटी, मैत्री विहार, नवमैत्री विहार, नेपाल थेरबाद विहार, म्यान्मार गोल्डेन टेम्पल, राजकीय बौद्ध विहार, श्रीलंकन महाविहार र पण्डीतारामा ध्यान केन्द्रले कठिन चिबर दान गरिसकेका छन् । शाक्यमुनि र महिन्दा विहारले सोमबार र मंगलबार चिबर दान गर्दैछन् ।
हरिया समथर फाँट, वृत्ताकार भूमिको केन्द्रमा जोडी आँखाले नियालिरहेको ठूलो स्तूप, चिटिक्क परेका पदमार्ग र मन्द हावासँगै फरफराइरहेका रंगीबिरंगी पताकाले मनै आनन्दित भएको श्रीलंकाकी उपासिका बस्ना वालपिटले बताइन् ।
लुम्बिनीस्थित मायादेवी मन्दिरमा कठिन चिबर दान र पूजा गरेर फर्किंदै भिक्षुसँगै श्रीलंकाली उपासक उपसिका ।
काठमाडौंस्थित सार्क सचिवालयमा कार्यरत श्रीलंकाकी निर्देशक उनले भनिन्, ‘भगवान् गौतम बुद्धप्रति अगाध आस्था र विश्वास छ, त्यसमाथि कठिन दान गर्न पाउँदा त मनोकांक्षा पूरा हुने जनविश्वास छ । शान्तिका प्रेरक बुद्ध जन्म दिने धर्ती नेपाल हो, जसका कारण नेपाल र नेपाली विश्वकै गौरव बनेका छन् ।’ कठिन चिबर दानमा वर्षावास बस्ने भिक्षु र उपासक उपासिका दुवैलाई पुण्यलाभ हुने विश्वास गरिन्छ ।
लुम्बिनीस्थित मायादेवी मन्दिरमा श्रीलंकाली कलाकार क्याण्डियन नाच नाच्दै ।
