नेपाल शुद्ध भूमिहीन स्वतन्त्र पार्टीको बोर्ड लगाएर केही व्यक्ति कपास विकास समितिको जग्गामा आगो बालेर बसेका छन् ।
बर्दिया — कपास विकास समितिको लालपुर्जा भएको जग्गामा केही व्यक्तिले रातारात घर-टहरा निर्माण गरी कब्जा गरेका छन् । मधुवन नगरपालिका–८ दुर्गापुरस्थित रहेको कपास विकास समितिको तीन बिघा जग्गा आइतबार साँझ नेपाल शुद्ध भूमिहीन स्वतन्त्र पार्टीका नाममा विभिन्न व्यक्तिले घर-टहरा बनाएर कब्जा गरेका हुन् ।
नेपाल शुद्ध भूमिहीन स्वतन्त्र पार्टीको बोर्ड लगाएर केही व्यक्ति कपास विकास समितिको जग्गामा आगो बालेर बसेका छन् । राज्यले बसोबासका लागि व्यवस्था गरिदिएमा कुनै पनि क्षति नगर्ने र आफ्ना माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी राख्ने टाँगिएको बोर्डमा उल्लेख छ ।
दैलेख, जाजरकोट लगायतका जिल्लाका व्यक्ति आएर रातारात टहरा निर्माण गरी खुला आकाशमुनि आगो बालेर खाना पकाइरहेको एक स्थानीयले बताए ।
करिब १ सय ५० जना व्यक्ति आइतबार साँझ आएर जग्गामा बसिरहेको जानकारी पाएको कपास विकास समितिका कार्यकारी निर्देशक वीरेन्द्रराज पराजुलीले बताए । ‘अहिले राति भइसकेको छ, सीडीओलाई पनि जानकारी गराएका छौं,’उनले भने,‘त्यस जग्गाको लालपुर्जा हामीसँग छ । तर, कुन उद्देश्यले कहाँका व्यक्ति आएर त्यस जग्गामा बसेका हुन् बुझ्न सकिएको छैन ।’
सशस्त्र द्वन्द्वका समयमा माओवादीले उक्त जग्गा कब्जा गरेको थियो । ०६४ सालमा सशस्त्र प्रहरीले माओवादी अतिक्रमण हटाएर आफ्नो क्याम्प राखेको थियो । करिब चार वर्षअघि सशस्त्रको क्याम्प अन्यत्र स्थानान्तरण गरेर कपास विकास समितिलाई जग्गा जिम्मा लगाइएको हो ।
कपास विकास समितिको जग्गामा अहिले अनधिकृत व्यक्तिहरू आएर बसेको जानकारी पाउने बित्तिकै बुझ्नलाई प्रहरी पठाएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । ‘आज मात्र सरुवा भएर आएको छु,’उनले भने,‘के भएको हो बुझ्दैछु । कानुनविपरीत जाने छुट कसैलाई छैन ।’
