६७ घर–परिवारले सुरु गरे व्यावसायिक तरकारी खेती

जनतालाई प्रत्यक्ष कृषिमा जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले ४८ क्विन्टल आलुको बीउ र मल निःशुल्क वितरण ।

कार्तिक १६, २०८२

रामप्रसाद चौहान 

67 households start commercial vegetable farming

बर्दिया — गुलरिया नगरपालिका–८ सर्जुनदी टपरास्थित ६७ घर–परिवारले व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । गुलरिया नगरपालिका–८ मा रहेका शिव कृषि समूह र नमुना महिला समूहमा आबद्ध ६७ घरपरिवारले व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् ।

व्यक्तिगत क्षमताअनुसार भाडामा जग्गा व्यवस्थापन गरेर खेती सुरु गरेको उनीहरूले बताए । उक्त घरपरिवारले केराउ, मुला र आलु गरी करिब ७५ कट्ठामा तरकारी खेती गर्न सुरुवात गरेका छन् । 

कारितास नेपाल इटालिनाको आर्थिक सहयोग, गुलरिया नगरपालिकाको समन्वय र कारितास नेपाल फिल्ड कार्यालय बर्दियाद्वारा संचालित बाढी प्रभावित घर–परिवारका लागि आपतकालीन जीविकोपार्जन तथा सुरक्षित आवास निर्माण परियोजनाको सहयोगमा बाढी पीडित विपन्न परिवारले तरकारी खेती सुरु गरेका छन् । 

वि.सं. २०७१ र वि.सं. २०७३ सालमा गुलरिया नगरपालिका–२ संगम बस्तीस्थित बबई नदीको बाँध भत्किएर आएको बाढीले सर्जुनदी टपरा सुकुम्बासी बस्ती पूर्ण रूपमा प्रभावित भएको थियो ।

यसअघि जसोतसो खेती किसानी गरिरहेको गुलरिया नगरपालिका–८ का बालकराम लोधले बताए । ‘अहिले ७ कट्ठामा आलु र ३ कट्ठामा केराउ लगाएको छु,’ उनले भने, ‘संस्थाले बीउ दिएपछि आर्थिक भार कम भएको महसुस गरेको छु ।’

बीउ बिजन र सुविधा पाएपछि एक्लै १२ कट्ठामा आलु लगाएको गुलरिया नगरपालिका–७ का राजेश यादवले बताए । ‘खेती गरेको ठाउँ गुलरिया बजारदेखि एक किलोमिटरको दूरीमा छ,’ उनले भने, ‘बजारीकरणका लागि कुनै खासै समस्या देखिँदैन ।’

समुदायका दिदीबहिनीको हौसलाका लागि दुई कट्ठा जग्गा भाडामा लिएर आलु खेती सुरु गरेको नमुना महिला कृषि समूहकी अध्यक्ष उर्मिला गुप्ताले बताइन् । ‘यस वर्ष सुरुवात गरेको तरकारी खेती विस्तार गर्दै लैजाने सोच छ,’ उनले भनिन् ।

दुई समूहका ६७ जनालाई प्रत्यक्ष कृषिमा जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्कमा तरकारीको बीउसहित आवश्यक सामग्री उपलब्ध गराएको कारितास नेपालका कार्यक्रम संयोजक नरेन्द्र केसीले बताए । ‘४८ क्विन्टल आलुको बीउ र मल उपलब्ध गराएका छौं,’ उनले भने, ‘यसपछि उहाँहरूलाई अन्य तरकारीको बीउ, सिंचाइ पाइप, किटनाशक औषधिसहित आवश्यक तालिम पनि दिने योजना छ ।’

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully