ठाउँ नहुँदा बैठक कक्षमा व्यवस्थापन गरेर ६ मध्ये ४ वटा इजलास मात्र नियमित संचालनमा ।
बुटवल — जेन–जी प्रदर्शनका बेला भदौ २४ मा भएको आगजनी र तोडफोडले क्षति भएको रूपन्देहीको बुटवलस्थित उच्च अदालत तुलसीपुरको बुटवल इजलास अझै पूर्ण रूपमा संचालनमा आउन सकेको छैन ।
ठाउँ अभावले अदालतका ६ इजलासमध्ये अहिले चारवटा मात्र नियमित संचालनमा छन् । ५ नम्बर इजलासका लागि अदालतको बैठक कक्षलाई प्रयोग गरिएको छ । ६ नम्बर इजलासका लागि अझै स्थान टुंगो लागेको छैन ।
प्रदर्शनकारीले उच्च अदालत बुटवलको पहिलो तलामा तोडफोड र सामान्य आगजनी, दोस्रो तलामा तोडफोड र तेस्रो तलामा पूरै आगजनी गरेका थिए । आगजनीका कारण तेस्रो तलामा रहेका २२ हजार २ सय ७७ थान मुद्दाका अभिलेख जलेर नष्ट भएका छन् । तेस्रो तलामै रहेको इजलास नम्बर ५ र ६, बेन्च कक्ष र मेलमिलाप कक्ष पनि पूरै जलेको छ । दुईवटा इजलास, अभिलेख, बेन्च र मेलमिलाप कक्ष रहेको तला प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
‘सबैभन्दा बढी क्षति तेस्रो तलामा पुगेको थियो, जहाँ झण्डै २३ हजार मुद्दाका फाइल र अभिलेख थिए,’ उनले भने, ‘आगोले धेरै क्षति भएकाले उक्त तला मर्मत गरेर पनि बस्न नमिल्ने भएपछि अहिले इजलासकै लागि पनि स्थान अभाव भइरहेको छ ।’
पहिलो तलामा रहेको अभियान र रिट फाँटमा रहेका चालु मुद्दाका ३ सय ३० थान मिसिल पनि पूर्ण रूपले जलेको उनले बताए । आगजनीबाट अभियान र रिट शाखा तथा कपिलवस्तु र रूपन्देहीका देवानी मुद्दाका मिसिल रहेको फाँट पूर्ण रूपमा जलेको थियो ।
त्यस्तै आगजनीबाट अदालतका कम्प्युटर, प्रिन्टर, कुर्ची, टेबुललगायतका अधिकांश सामग्री पनि जलेका थिए । चार पाङ्ग्रे एउटा सवारीसाधन पनि पूर्ण रूपमा जलाइएको थियो । भवनसहित फर्निचर र सवारीसाधनमा भएको आगजनी र तोडफोडबाट ६ करोड २ लाख २३ हजार १ सय ३० रुपैयाँ बराबरको क्षति भएको सूचना अधिकारी कुँवरले बताए ।
अभिलेख र मिसिल नै जलाइएपछि जलेका मिसिल पुनः प्राप्ति र प्रमाणीकरण निर्देशिका २०८२ अनुसार सम्बन्धित व्यक्तिसँग दर्ता भएका मुद्दाका फाइल, कागजात प्रमाण उपलब्ध गराउन पनि उच्च अदालतले आग्रह गरेको छ ।
