आगजनीपछि अदालत भवन प्रयोगविहीन हुँदा प्रशासनिक काम र इजलास प्रहरी ब्यारेकमा सञ्चालन गरिएको छ, सेवाग्राहीहरू समस्यामा परेका छन्।
दाङ — जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा उच्च अदालत तुलसीपुरको भवन प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ । भवनमा रातो स्टिकर टाँसेर प्रयोग गर्न नमिल्ने जनाइएको छ ।
भवन प्रयोगमा आउन नसकेपछि प्रहरी सुरक्षा ब्यारेकमा प्रशासनिक काम र ग्यारेजमा इजलास सञ्चालन गरिएको अदालतका रजिष्ट्रार यमप्रसाद बासकोटाले बताए । आगजनीपछि अदालत पाँच दिनसम्म पूर्णरूपमा बन्द रह्यो भने नियमित सेवा दिन एक महिना लाग्यो । असोज २६ देखि मात्रै अस्थायी इजलास बनाएर नियमित सुनुवाइका कामहरू सुरु भएका हुन् ।
आगजनीबाट पुराना मिसिलहरू जलेर नष्ट भएका र अहिले ती मिसिलका कागजात संकलनको काम भइरहेको बासकोटाले बताए । हाल नयाँ रिट र जिल्ला अदालतका निवेदन लिने काम भइरहेको उनले जानकारी दिए ।
आगलागीबाट भवन र कागजातका साथै ५ गाडी र ४ मोटरसाइकल जलेका बासकोटाले बताए । उनका अनुसार आगजनीबाट अदालतको झन्डै ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ । आन्दोलनकारीले अदालतलाई लक्षित गरी गरेको आक्रमण र आगजनीका कारण महत्वपूर्ण दस्तावेज र भौतिक संरचना नष्ट भएका छन् । कागजात र भवन नष्ट भएपछि नियमित सेवा सञ्चालनमा समस्या परेको छ, जसका कारण सेवाग्राहीहरू समस्यामा परेका छन् ।
