बैमौसमी वर्षाले काट्न तयार रहेको धान समेत स्याहार्न नपाएर पानीले भिजेपछि लगानी र मिहिनेत खेर जान लागेको भन्दै किसान चिन्तित बनेका छन् ।
What you should know
कपिलवस्तु — देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभावले बैमौसमी वर्षा हुँदा यहाँको धान बालीमा क्षति पुगेको छ । पाकिरहेको धान खेतमै पानीमा डुब्न थालेपछि किसान चिन्तित देखिएका छन् । तिहारलगत्तै खेतमा पाकेको धान स्याहार्ने चटारोमा रहेका किसानलाई मंगलबारदेखि सुरु भएको वर्षाले चिन्तित बनाएको हो ।
धान काटेर खेतमा छाडेर स्याहार्न बाँकी धानबाली पानीले भिजेको छ । कही धानबाली पानीमा डुबेपछि किसान चिन्तित बनेका हुन् । काट्न तयार रहेको धान खेतमा अहिले पानी जमेको छ । कही धानबालीलाई वर्षाले खेतमै ढलाइदिएको छ ।
मंगलबार सामान्य वर्षा भएको थियो । बुधबार भने वर्षा भएन । बिहीबार एकाबिहानैदेखि निरन्तर साँझसम्म वर्षा भइरहेको छ । वर्षा जारी रहे धान खेतमा अझै क्षति पुग्ने कृषि प्राविधिकहरू बताउँछन् ।
जिल्लामा ६२ हजार ९ सय ७ हेक्टर खेतमा धान लगाइएको छ । जसमध्ये २५ प्रतिशत मात्र धान काटिएको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले बताए । उत्तरी क्षेत्रमा बढी धान काटिए पनि दक्षिणी क्षेत्रमा भने धान काट्न बाँकी छ । खेतमै काटेर छाडिएको धान र खेतमा ढलेर डुबेको धानलाई वर्षाले बढी क्षति पुर्याएको उनले बताए । पानीले भिजेपछि धान खेतमै उम्रिने उनले बताए ।
‘दुई बिघा क्षेत्रफलमा लगाएको महेन्द्रा ३०३० जातको धान खेतमा काटेर छाडेको थिएँ,’ बुद्धभूमि नगरपालिका, धनकौलीका भुल्लु यादवले भने, ‘वर्षाले डुबेर सबै धान नष्ट भएको छ । बुबाआमा तीर्थव्रत गर्न भारत गएका छन् । घरमा कोही छैनन् ।’ गाउँका धेरैजसोले अहिले आ–आफ्नो खेतमा काटेर सुकाएको धान उठाउँदै छन् । तर, आफूले चाहेर पनि उठाउन नसकेको उनले बताए । ‘मेरो त धानबालीमा ठूलो क्षति भयो । वर्षदिनको चुलोचौको अब कसरी गर्ने ? मानसिक चिन्ता थपिएको छ,’ उनले भने । ऋण गर्जो गरेर ३ बिघामा धान लगाएका कपिलवस्तु नगरपािलका–३, सड्वाका कृष्ण कोहारले भने अब घरगर्जो कसरी गर्ने भनेर तनाव र चिन्ताले थलिएको सुनाए ।
बैमौसमी वर्षाले काट्न तयार रहेको धान समेत स्याहार्न नपाएर पानीले भिजेपछि लगानी र मिहिनेत खेर जान लागेको भन्दै किसान चिन्तित बनेका छन् । कतिपय किसानले हतारहतारमा उठाउन खोजे पनि धान, पराल र व्यवस्थापनमा पानीले समस्या पारेको उनीहरूले बताए ।
जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाका अनुसार समग्र धान उत्पादनलाई समेत अहिलेको वर्षाले असर गर्नेछ । विशेष गरी छिटो पाक्ने गोरखनाथ, राधा–४ र ६४४४ जातको धानलाई वर्षाले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामसुरत पालले बताए । धान बालीमा पुगेको क्षतिबारे पालिकासँग समन्वय गरी विवरण संकलन गरिरहेको पनि उनले बताए । पालिकाहरूले क्षतिको विवरण संकलन गरेपछि वास्तविक क्षतिको अवस्था पत्ता लाग्ने उनले बताए ।
