बर्दियाको गेरुवा, कर्णाली, बबईलगायत खोलामा गोही रहेका कारण सचेत रहन निकुञ्ज प्रशासनले आग्रह गरेको छ ।
बर्दिया — गेरुवा नदीमा गोहीले आक्रमण गर्दा एक युवा वेपत्ता भएको ३९ दिन बित्न लाग्दासमेत उनको अवस्था अज्ञात छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिका–२ राजीपुरका २५ वर्षीय विवश थारुलाई गोहीले आक्रमण गरेको थियो ।
गोहीको आक्रमणमा वेपत्ता भएका युवाको खोजीमा दुईवटा हात्ती र पालिकाको मोटरबोट परिचालन गरिए पनि हालसम्म अज्ञात रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट दुईवटा हात्ती, मोटरबोट, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत स्थानीयले खोजी गरेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले लामो समयसम्म खोजी कार्य गरे पनि अवस्था अज्ञात रहेको बताए । हालका लागि खोजी कार्य रोकिएको उनले जनाए ।
भैँसीलाई पानी खुवाउन गएका बेला गोहीले आक्रमण गर्दा गत असोज ६ गते युवा वेपत्ता भएका थिए । उनीसँग गएका अन्य तीन जना सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर मल्लले थारु वेपत्ता भएको मुचुल्का उठाएको बताए ।
गत साउन २० गते कैलासीस्थित खौराहा खोलाकिनारमा मधुवन नपा–१ कैलासीका १९ वर्षीय रुपमिलन थारुको मृत्यु भएको थियो । बर्दियाको गेरुवा, कर्णाली, बबईलगायत खोलामा गोही रहेका कारण सचेत रहन निकुञ्ज प्रशासनले आग्रह गरेको छ ।
