बुटवलबाट पाल्पा सदरमुकाम तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जाने क्रममा इभी रैनादेवी छहरा–४, छहरा बोखर नजिकै भञ्ज्याङमा दुर्घटनामा परेको थियो ।
पाल्पा — पाल्पाको रैनादेवी छहरामा बुधबार दिउँसो भएको इभी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी इभीका चालक रैनादेवी छहरा–४, अमलावासका ३१ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा–१, सिद्धेश्वर घर भई छहरा अमलावास बस्ने मुक्तबहादुर बुढाथोकी र रैनादेवी छहरा–४, छहरा मेहलढापका रामबहादुर गाहाको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको दुर्घटनाग्रस्त इभी गाडीमा चालकसमेत तीन जना रहेको छहराका स्थानीयले जानकारी दिएका छन् । बुटवलबाट पाल्पा सदरमुकाम तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जाने क्रममा उक्त इभी रैनादेवी छहरा–४, छहरा बोखर नजिकै भञ्ज्याङमा दुर्घटनामा परेको रैनादेवी छहरा गाउँपालिकाका कार्यपालिका सदस्य महेश बरालले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त इभी सडकदेखि झन्डै १ हजार २ सय मिटर तल खोल्सामा पुगेको थियो ।
स्थानीय होटल व्यवसायीका अनुसार करिब साढे ११ बजे छहराबाट छुटेको इभी धेरै समयसम्म मेहलढाप नपुगेपछि खोजी कार्य भएको थियो । ‘२० मिनेटमा मेहलढाप पुग्नुपर्ने इभी दुई घण्टामा नपुगेपछि खोजी भएको थियो,’ स्थानीय बरालले भने, ‘त्यसपछि मात्र गाडीको खोजी कार्य गरिएको हो ।’ खोजी गर्दै जाँदा दुर्घटनामा परेको जानकारी साढे एक बजेतिर पाएको इलाका प्रहरी कार्यालय मुझुङ्ले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार इलाका प्रहरी कार्यालय मुझुङ्को प्रहरी टोली पुगेर उद्धार गरी तीनै जनालाई अस्पताल पठाएको थियो ।
