मध्यपहाडी लोकमार्गको ५४ किलोमिटर रुकुम पूर्वमा र ७७ किलोमिटर पश्चिममा पर्दछ । पूर्वको यो स्थान र रानीकोटमा ९ मिटर तथा पश्चिममा किटेनीमा २ सय ६० मिटर बाहेक अरु सबै सडक कालोपत्र भइसकेको छ ।
What you should know
रुकुम पूर्व — मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सिमाना जोडिएको खण्डमा कालोपत्र गर्न भनेर ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भूमे गाउँपालिका–१ स्थित रूपगादेखि पाथीहाल्नेसम्मको कुल १३ किलोमिटर सडक आधाउधी काम गरेर अललपत्र छोडिएको हो ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका अनुसार २०७३ जेठमा कालोपत्र र केही ठाउँमा ढलानसमेत गर्ने गरी कुल ४२ करोडमा भारत–महादेव खिम्ती–सिद्धिशाही जेभीले कामको जिम्मा पाएको थियो । तीन वर्षपछि अर्थात् २०७६ जेठमा काम सक्ने गरी गरिएको सम्झौता अनुसारको काम थप ६ वर्ष बितिसक्दा पनि सकिने त परेको कुरा काम नै अस्तव्यस्त बनाएर छोडिएको छ ।
आयोजना कार्यालयका एक इन्जिनियरका अनुसार उक्त खण्डमा हालसम्म ७६ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । ‘सडक कटिङ, नाली बनाउने, टेवा–पर्खाल र केही स्थानमा ढलानको काम गरिएको छ । तर कामले निरन्तरता नपाएका कारण त्यो बेलाको प्रगति पनि अहिले जीर्ण भएको अवस्था छ,’ ती इन्जिनियर भन्छन्, ‘हालसम्म पाँचपटक म्याद थपिएको छ । गत भदौमा २०८३ सम्मका लागि छैटौंपटक म्याद थप माग गरिएको छ । तर फेरि म्याद थपिने सम्भावना कम छ ।’
अब म्याद नथपिएमा अथवा थपिएर पनि तोकिएको समयमा काम नसकेमा कार्यालयले स्पष्टीकरण मागेर चित्तबुझ्दो जवाफ नआए ठेक्का तोडिने प्रक्रिया अघि बढाउने ती इन्जिनियरको भनाइ छ । ‘काम पनि नगर्ने र किन नगरेको भनेर कार्यालयका तर्फबाट चासो राख्दा उल्टै व्यक्तिगत रूपमा रिसइबी साँधेर बस्ने गरेकाले ती इन्जिनियरले आफ्नो नाम समाचारमा उल्लेख नगर्नसमेत अनुरोध गरे ।
‘ठेक्का तोडेर नयाँ ठेक्का लगाउन निकै मुस्किल छ । तैपनि, कार्यालयका तर्फबाट हामीले नियमित काम गरिरहेका छौं,’ उनले भने ।
मध्यपहाडी लोकमार्गको ५४ किलोमिटर रुकुम पूर्वमा र ७७ किलोमिटर पश्चिममा पर्दछ । पूर्वको यो स्थान र रानीकोटमा ९ मिटर तथा पश्चिममा किटेनीमा २ सय ६० मिटर बाहेक अरु सबै सडक कालोपत्र भइसकेको छ ।
यी तीन स्थानमा खासगरी कालोपत्र गर्न भनेर अलपत्र पारिएको रूपगा–पाथीहाल्ने खण्डमा यात्रा गर्न मुस्किल हुने गरेको रुकुम पूर्वका स्थानीय बलमान बुढाले बताए । ‘बरु एकपल्ट खनेर बनाइएको कच्ची बाटोमै केही सहज हुन्छ । तर, यो बनाउँदा–बनाउँदै छोडेको सडकमा यात्रा गर्न त मुस्किल हुने रहेछ,’ उनले थपे, ‘हिउँदमा हिउँ र बर्खामा भलले यात्रालाई अप्ठ्यारो बनाउँछ । तत्काल कि जिम्मा लिएको ठेकेदारले काम गर्नुपर्यो कि नयाँ ठेक्का लगाउनु पर्यो । यसरी त कसरी हुन्छ !’
यो बाटो भएर रुकुम पश्चिम र पूर्वसँगै जाजरकोट र डोल्पासम्मका सवारी–साधनले पोखरा र काठमाडौंसम्म आवतजावत गर्ने गरेका छन् । साथै यो मार्ग पछिल्ला केही वर्षयता पश्चिमका पहाडी र हिमाली जिल्लालाई जोड्ने एक महत्त्वपूर्ण मार्गका रूपमा विकास हुँदै गइरहेको छ । यसकारण रुकुम खण्डका साथै निर्माण सम्पन्न हुन नसकेको विभिन्न स्थानको सडकको काम यथाशीघ्र सक्न उपभोक्ताको माग छ ।
९ वर्षअघि कालोपत्र गर्ने भनेर ठेक्का लागेको तर निर्माण गर्दागर्दै अलपत्र छोडिएको मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको रूपगा–पाथीहाल्ने सडक खण्ड । तस्बिरः महेश केसी/कान्तिपुर
