पूर्वखोला गाउँपालिका–२, जल्पाको माथिल्लो झेरुदीका महिलाहरुले कोदो र मकैको झिनियाँ रोटी बनाएर यस पटकको तिहारमा आम्दानी गरेका हुन् ।
What you should know
पाल्पा — चामलबाट बनाइने थरीथरी रंगका झिनियाँ रोटी प्रायजसोले देख्नुभएकै होला । तर अब पाल्पामा भने कोदो र मकैको पनि झिनियाँ बनाउन सुरु गरिएको छ ।
पूर्वखोला गाउँपालिका–२, जल्पाको माथिल्लो झेरुदीका महिलाहरुले कोदो र मकैको झिनियाँ रोटी बनाएर यस पटकको तिहारमा आम्दानी गरेका छन् । जल्पा उद्यमी महिला समूहका ८ जना महिलाले यसपटक कोदो र मकैको पिठोबाट बनाएको झिनियाँ रोटी बनाएका हुन् । वडाध्यक्ष निरबहादुर सारुका अनुसार गाउँपालिका र वडाले सञ्चालन गरेको उद्यमशील तालिमबाट महिलाले कोदो र मकैको पिठोबाट झिनियाँ रोटी बनाएका हुन् ।
समूहकी अध्यक्ष सीता दर्लामीका अनुसार यस वर्ष नमुनाका रुपमा ६० दर्जन कोदो र ३० दर्जन मकैको पिठोको झिनियाँ बनाइएको छ । ‘कोदो र मकैको पिठोको मात्रै अर्गानिक ढंगले बनाउँदा टुक्रिने र भाँचिने भयो,’ उनले भनिन्, ‘थोरै चामलको पिठो मिसाएपछि टुक्रिन र भाँचिन रोकियो । त्यसैले थोरै मात्र चामलको पिठो मिसाइएको छ ।’
समूहका तृष्टा बारघरे, लीलामाया बारघरे, लेविना बयम्बु, यमकला ढेंगा, मीनाकुमारी कुमारी ढेंगालगायतले मिलेर झिनियाँ बनाएका हुन् । घरमै बसेर थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएकाले फरकफरक झिनियाँ बनाउने गरेको उद्यमी महिला मीनाकुमारीले बताइन् । झिनियाँ बनाउन कोदो वा मकै पिसेर निकालिएको पिठोलाई पकाइन्छ । त्यसपछि आवश्यकता अनुसारको खाने रंग राख्ने गरिन्छ । ‘रंगी विरंगी देखियो भने तिहारमा राम्रो हुन्छ,’ अर्की उद्यमी यमकलाले भनिन्, ‘त्यसैले आवश्यकता अनुसारको रंग राख्ने प्रचलन छ । ।’
पालिकाले सहयोग गरेको फलामको साँचोबाट एक–एकगरी रोटी बनाइन्छ । यसलाई घाममा सुकाउनुपर्छ ।सुकाएपछि अहिले कोदोको २२० रुपैयाँमा १२ पिस र मकैको २०० रुपैयाँमा बिक्री भएको अध्यक्ष दर्लामीले बताइन् । ‘यस वर्ष हामीले नमुनाको लागि बनाएका हौं,’ उनले भनिन्, ‘तर खाँदा फरक स्वाद भएकाले गाउँ र छिमेक गाउँमा समेत लगेका छन् ।’
जल्पाबाहेक अन्यत्र भने चामलकै झिनियाँ रोटी बनाइन्छ । निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, तानसेन नगरपालिका, रिब्दीकोट, बगनासकाली लगायतका पालिकाका महिलाले रोटी बनाए मनग्य आम्दानी गर्दै आएका छन् । यही रोटी बनाएर बिक्री गरी चाडपर्व मनाउने, घर खर्च चलाउनेहरु अहिले २ सय बढी पुगेका छन् । सरकारी तथ्यांक भने कहिँकतै भेटिदैन ।
दसैं अघिदेखि नै झिनियाँ रोटी बनाउने गरिन्छ । बिक्री गर्ने महिलालाई भ्याइनभ्याइ हुने रामपुर नगरपालिका–४ की विष्णु सारुले बताइन् । यस वर्ष पानी ढिलासम्म परेकाले अहिले तिहारकै केही दिनअघिसम्म झिनियाँ रोटी बनाउने र बिक्री गर्नेहरुलाई फुर्सद नै नभएको रामपुर नगरपालिका–५, का रुद्रनारायण श्रेष्ठले बताए । बिक्रीका लागि बजारको कुनै समस्या छैन । ‘अर्डर अनुसार भन्दा पनि जहिलेसुकै बनाए पनि बिक्री गर्न सकिने अवस्था भइसकेको छ,’ उनले भने, ‘झिनियाँ रोटी बनाउने महिलाको संख्या हरेक वर्ष बढ्दै गएको छ ।’
आफैंले उत्पादन गरेको नपुगेर अन्य महिलाले बनाएको खरिद गरेरसमेत पठाउने गर्छन् । आफैं उत्पादन गर्ने र आफैं व्यापारी बनेर बिक्री गर्ने महिला धेरै भइसकेका छन् । कतिपय पालिकाले झिनियाँ रोटी बनाउन महिलालाई सिकाएका छन् । पाल्पामा ३० हजारदेखि ८ लाखसम्मको झिनियाँ रोटीको व्यापार गर्ने महिला धेरै भइसकेका छन् । महिलाको आम्दानीको बलियो स्रोत बन्दै गएको झिनियाँ रोटी पाल्पाबाट मात्र ३ करोड बढीको व्यापार हुने गरेको छ ।
तानसेनबाहेक रामपुर, कसेनी, पोखराथोक, निस्दीको गल्धाका साथै पूर्वखोलाको बीरकोट, रम्भाको ताँहु, हुमिनका महिला पनि झिनियाँ रोटी बनाएर राम्रो आम्दानी गर्दै आएका छन् । पाल्पामा उत्पादन भएको झिनियाँ रोटी छिमकेको बुटवल मात्र नभई नेपालगञ्ज, नवलपरासी, पोखरा, काठमाडौँ, नारायणगढ लगायतका स्थानमा पुग्ने गर्छ ।
