सयपत्री फूलको माग अत्यधिक, उत्पादन कम

रेसुंगा नगरपालिका-३ भाडागाउँ बेंहोरेमा व्यावसायिक फूल खेती गरेका भविन्द्र घर्तीमगरले मागअनुसार बजारमा पठाउन नसकिएको बताए ।

कार्तिक ३, २०८२

सन्तोष महतारा

High demand for marigold flowers, low production

What you should know

गुल्मी — तिहारमा मालाका रूपमा प्रयोग गरिने सयपत्री फूलको माग अत्यधिक भए पनि यसको उत्पादन भने निकै कम रहेको छ । प्लास्टिक मालाको प्रयोग स्वतस्फूर्त घटिरहेको अवस्थामा सयपत्रीसहित स्थानीय प्राकृतिक मालाले माग धान्न सकेको छैन ।

रेसुंगा नगरपालिका-३ भाडागाउँ बेंहोरेमा व्यावसायिक फूल खेती गरेका भविन्द्र घर्तीमगरले मागअनुसार बजारमा पठाउन नसकिएको बताए । उनले गुल्मी जिल्लाभन्दा बाहिरबाट पनि धेरै माग आएको तर स्थानीयलाई अभाव हुने भएकाले बाहिर नपठाएको बताए ।

'व्यावसायिक फूल खेती घट्दै गयो, पहिले उत्पादन गर्नेले पनि छाडे,' उनले भने, 'माग अत्यधिक छ, उत्पादन कम हुँदा बजार थेग्न सकिएको छैन ।' उनले तिहार लक्षित नभएर जुनसुकै समयका लागि पनि टनेलभित्र फूल खेती गरिरहेका छन् । बुटवल र दाङका मुख्य सहरसहित पूर्वका जिल्लाबाट समेत फूलको माग भइरहेको उनले बताए ।

यस वर्षको तिहारका लागि भविन्द्रले अहिलेसम्म एक क्विन्टल सयपत्री फूल बजारमा पठाएका छन् । तिहारको चार दिन थप एक क्विन्टल फूल बजार पठाउन सक्ने उत्पादन रहेको छ । एक सय रोपनी जग्गा लिजमा लिएर अर्जुन रेसुंगा मल्टिएग्रो प्रालि लिएर तरकारीजन्य खेती गरेका उनले चारवटा टनेलभित्र फूल खेती गरेका छन् ।

हाल प्रतिकिलो पाँच सय रुपैयाँमा फूल बिक्री भइरहेको उनले बताए । फूल खेतीबाट उनले वार्षिक तीन लाख रुपैयाँको कारोबार गर्छन् । जसबाट दुई लाखको हाराहारीमा फाइदा गरेको उनले बताए ।

चन्द्रकोट गाउँपालिका-८ मजुवामा तुराङ बहुप्राविधिक शिक्षालयमा विद्यार्थीले सिकाइका रूपमा सयपत्री फूल खेती गरेका छन् । यद्यपि यहाँ उत्पादन हुने फूल स्थानीय बजारमै खपत हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्राविधिक अधिकृत टीकाराम न्यौपानेले मागअनुसार उत्पादन नभएको अवस्था भए पनि यससम्बन्धी तथ्यांकीय तुलना भने भइनसकेको बताए । स्थानीय स्तरमा तिहारकै लागि सबैले फूल खरिद गरेरै माला प्रयोग नगर्ने हुँदा जिल्लालाई अभाव नहुने उनको तर्क छ ।

सन्तोष

Link copied successfully