संसारभरिका सम्पदाविज्ञको लुम्बिनी भेला सम्पन्न

शान्तिका लागि सांस्कृतिक सम्पदाको प्रभावकारी उपयोग गर्ने संकल्प ।

कार्तिक २, २०८२

मनोज पौडेल

Lumbini gathering of heritage experts from around the world concludes

What you should know

लुम्बिनी — संसारभरका सम्पदा विशेषज्ञ र विज्ञले शान्तिका लागि सांस्कृतिक सम्पदाको प्रभावकारी उपयोग गरेर अघि बढ्नुपर्ने संकल्प गरेका छन् ।

सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्ने विशेषज्ञ र विज्ञको संस्था इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स) को सहयोगमा इकोमस नेपालद्वारा लुम्बिनीमा आयोजित चारदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनपछि आयोजित घोषणापत्र सार्वजनिक सभामा द्वन्द्व र हिंसाले विश्वभरका सम्पदा ध्वस्त भइरहेकाले विश्व सम्पदास्थल बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेको छ । त्यस्तै द्वन्द्व र प्राकृतिक विपत्तिपछि शान्ति पुनःस्थापनामा सम्पदाको भूमिका महत्त्वपूर्ण हुने हुँदा यसलाई जोगाउन सबै सरोकारवाला आ–आफ्नो तह र तप्काबाट लाग्नु पर्ने घोषणापत्रमा उल्लेख छ । 

इकोमस नेपालका अध्यक्ष ज्ञानीन राईले लुम्बिनी स्क्वायर क्षेत्रमा शनिबार घोषणापत्र पढेर सुनाएका थिए । त्यस्तै सम्पदा केवल सांस्कृतिक पहिचानका लागि मात्र नभई स्थानीय समुदायको आर्थिक दिगोपनाको आधार पनि भएको उल्लेख गर्दै सांस्कृतिक सम्पदाले मात्र सहअस्तित्व कायम गर्न सकिने बताइएको छ । 

विश्वमा अहिले ३८ देशमा युद्ध हिंसाले सम्पदालाई हानि नोक्सानी पुर्‍याइरहेको अवस्थामा शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीमा गरिएको छलफलले त्यस्ता काम निरुत्साहित गर्न शक्ति प्रदान गर्ने विश्वास लिइएको छ ।

त्यस्तै सम्मेलनका सहभागीले लुम्बिनीको पवित्र बगैंचाको सचेतनाका साथ शान्ति अनुभूति हुने गरी भ्रमण गरेको स्मरण गर्दै यसले शान्ति स्थापना र सम्पदा संरक्षणमा खेल्न सक्ने भूमिका र द्वन्द्व तथा प्राकृतिक प्रकोपका कारण सम्पदा क्षेत्रमा आउने अवरोधपछि शान्ति पुनर्स्थापनाका लागि काम गर्न उत्प्रेरित गरेको घोषणपत्रमा उल्लेख छ । 

शान्तिस्थलमा आई सम्पदा संरक्षण र संवर्द्धनका क्षेत्रमा गरेको गहन छलफलले निकै उत्साहित भएर काम गर्न उत्प्रेरणा मिलेको इकोमस इन्टरनेसनल अफ्रिका उपाध्यक्ष जाम्बियाकी चिलङवा चाइवाले बताइन् । उनले आफू मात्र नभई सहभागी सबै निकै उत्साहित बनेको बताइन् ।

५ महदेशका ६७ मुलुकका २ सय २२ जना विदेशी सहभागी थिए । त्यस्तै सयभन्दा बढी नेपालीको सहभागिता थियो । विदेशबाट अनलाइनमार्फत ५ सय बढी सहभागी बनेका थिए । सम्मेलनमा जाम्बियादेखि स्विडेन तथा इक्वेडरदेखि अस्ट्रेलियासम्मका पुरातत्त्वविद्, सम्पदाविज्ञ, आर्किटेक्ट इन्जिनियर, स्टोनविज्ञ, सांस्कृतिक संपदा संरक्षणसँगसम्बन्धी विज्ञ र अनुसन्धानकर्ता सहभागी थिए । शान्ति भूमि लुम्बिनीमा गरिएको सम्मेलन र छलफल निकै प्रभावकारी भएको इकोमस इन्टरनेसनलका अध्यक्ष बेल्जियमकी प्राध्यापक टेरेसा प्याट्रिसियोले बताइन् । ‘यसको प्रभाव चारैतिर छिट्टै देखिनेछ,’ उनले भनिन्, ‘यसले सम्पदा संरक्षणमा कोसेढुंगा थप्नेछ ।’ Lumbini gathering of heritage experts from around the world concludesचारदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका सहभागी बुद्धस्थल तिलौराकोटमा । तस्बिहरू : मनोज पौडेल/कान्तिपुर

प्रत्येक दिन तीन समूहमा तीन विषय प्यानलमा ९ विषयमा छलफल गरिएको थियो । यो क्रम ४ दिनसम्म चलेको थियो । त्यस्तै विभिन्न देशबाट आएका विज्ञहरूले १ सय ९० कार्यपत्र प्रस्तुत गरेका थिए । 

त्यस्तै वास्तुशिल्प, इतिहास, सांस्कृतिक सम्पदा सम्बद्ध अन्तर्राष्ट्रिय विशेषज्ञबीच अनुभव आदान–प्रदान र सांस्कृतिक संपदाका स्थायी अस्थायी तत्वको संरक्षणका लागि वैज्ञानिक, प्रविधि सिद्धान्त र कार्य प्रविधिबारे ३ समूह बनाएर गहन छलफल भएको इकोमस नेपालकी सचिव एनी जोशीले बताइन् । सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण र सुरक्षाका क्षेत्रमा आएका नयाँ अवधारणा, विषय र प्रविधिका बारेमा पनि छलफल गरिएको थियो ।  

युनेस्कोको मुख्य सल्लाहकार निकायका रूपमा रहेको इकोमसले मुख्य रूपमा विश्व संपदा सूचीमा अभिलेखका लागि विश्वभरबाट प्रस्तावित सांस्कृतिक तथा मिश्रित संपदाको मूल्यांकन गरेर विश्व सम्पदा केन्द्रलाई प्रदान गर्ने गरेको इकोमस नेपालका कोषाध्यक्ष सृष्टिना श्रेष्ठले बताइन् । ‘त्यसैले यो महत्त्वपूर्ण निकायका रूपमा रहेको छ,’ उनले भनिन्, ‘नेपालमा सम्मेलन हुनु गौरवको विषय हो ।’

इकोमस जोर्डनकी अध्यक्ष तथा राजकुमारी दाना फिरासले यो कार्यक्रम जोर्डनमा आयोजना गर्न प्रस्ताव गरेकी थिइन् । तर, मतदान हुँदा बहुमतले नेपालको लुम्बिनीमा गर्ने निर्णय गरेको थियो । इकोमस जोर्डनकी अध्यक्ष रहेकी राजकुमारी अरब क्षेत्रको इकोमस इन्टरनेसनलकी उपाध्यक्ष पनि हुन् ।

स्मारक, सांस्कृतिक परिदृश्य र सांस्कृतिक सम्पदास्थलको संरक्षण, सुरक्षा, प्रयोग र प्रवर्द्धन एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रूपमा सन् १९६५ मा स्थापित इकोमसको अन्तर्राष्ट्रिय सचिवालय पेरिसमा छ । इकोमसका १ सय १७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १ सय ३७ देशबाट १२ हजार ७ सय १५ जना विज्ञ सदस्य रहेका छन् । 

यसअघि इकोमस इन्टरनेसनलको ६० औं महासभा पनि लुम्बिनीमा भएको थियो । उक्त अवसरमा ६० औं वार्षिकोत्सव लेखेको केक काटिएको थियो । चारदिने महासभामा विभिन्न देशमा भइरहेको द्वन्द्वले सम्पदा ध्वस्त भइरहेकाले विश्व सम्पदास्थल बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेको थियो । त्यस्तै सम्पदा संरक्षणमा उदीयमान विज्ञलाई सक्रिय बनाउने र इकोमसको ६१ औं महासभा २०२६ मा मलेसियाको सारावाकमा गर्ने निर्णय गरेको महासभाका सहअध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राईले बताए ।

कार्यक्रमका सहभागी स्वदेशी तथा विदेशी संपदाविज्ञहरूले बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा ध्यान गर्नुका साथै राजकुमार सिद्धार्थले युवावस्था बिताएको प्राचीन कपिलवस्तु (तिलौराकोट) र राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गरी पहिलो पटक राजधानी आउँदा मातापितासँग भेट गरेको निग्रोधारामको पनि अवलोकन भ्रमण गरेका थिए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully