तीन महिनायता स्क्रब टाइफसबाट सङ्क्रमित हुने बिरामी हृवात्तै बढेका हुन्, उनीहरुमा अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्नेलगायतका समस्या देखिएको छ ।
पाल्पा — पाल्पाका अस्पतालहरुमा स्क्रब टाइफसका बिरामी बढेका छन् । गत वर्ष यही अवधिमा २ सय ४५ जना रहेकामा यस वर्ष ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लाका युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास र रामपुर अस्पताल पाल्पामा स्क्रब टाइफसका बिरामी आउने क्रम बढ्दो छ । पछिल्लो तीन महिनामा स्क्रब टाइफसबाट सङ्क्रमित हुने बिरामी हृवात्तै बढेका हुन् । बिरामीमा अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्नेलगायतका समस्या लिएर अस्पतालमा आएका बिरामीलाई जाँच गर्दा अधिकांशमा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसूदन भट्टराईले बताए ।
यस वर्ष पाल्पामा रैनादेवी छहरा गाउँपालिका–१, की १२ वर्षीय बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो । संक्रमित किराले टोकेको ६ दिनदेखि ३ साताभित्र स्क्रब टाइफसको लक्षण मानिसमा विकसित हुन्छ । यो संक्रमणमा उच्च ज्वरोसँगै शरीरको जुन ठाउँमा टोकेको हो, त्यहाँको छाला कालो हुन्छ । स्क्रबटाइफस रोगमा देखिने जटिलताअन्तर्गत निमोनिया, मेनिगोएन्सेफलाइिटिस र मायोकार्डिटिस हुन् ।
जिल्लाका अस्पतालमा पाल्पासहित गुल्मी, स्याङ्जा र अर्घाखाँचीका बिरामीमा समेत स्क्रब टाइफस देखिएको छ । स्क्रबटाइफससँगै जिल्लाभित्र ३ सय ९४ जनामा डेंगी पुष्टि भएको छ । गत वर्ष यही अवधिमा ४ सय ६२ जनामा डेगी सङ्क्रमण भएको थियो ।
