बुधबारसम्म ३ सय ५० जनाले मतदाता नामावलीमा नाम दर्ताका लागि फोटो खिचाइ आवेदन दिएको निर्वाचन अधिकृत बुद्धप्रकाश पौडेलले बताए ।
What you should know
अर्घाखाँची — फागुन २१ को निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेमा युवाको संख्या धेरै रहेको छ । जिल्ला निर्वाचन कार्यालय सन्धिखर्कमा दैनिक ६० जनाभन्दा बढीले नाम दर्ता गरेका छन् ।
बुधबारसम्म ३ सय ५० जनाले मतदाता नामावलीमा नाम दर्ताका लागि फोटो खिचाइ आवेदन दिएको निर्वाचन अधिकृत बुद्धप्रकाश पौडेलले बताए ।
निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ । अनलाइन फारम भरेपछि सो फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
निर्वाचन घोषणासँगै आयोगले अध्यादेशमार्फत असोज १० गतेदेखि आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको थियो । यसरी नाम दर्ता गर्नेमा १७ देखि २२ वर्ष उमेर समूहका ८० प्रतिशतभन्दा बढी रहेको उनले बताए । ज्येष्ठ नागरिक छिटफुट मात्रै रहेका छन् ।
गाउँबाट मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्नेको भीड बढेपछि बजारमा चहलपहल भएको छ । जसले आर्थिक कारोबार पनि बढ्दो छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको अर्घाखाँचीमा कुल जनसंख्या १ लाख ९६ हजार ८ सय ९६ रहेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा १ लाख ६४ हजार ७ सय ६८ मतदाता रहेका थिए । जसमा ८२ हजार ५ सय ९३ पुरुष र ८२ हजार १ सय ७५ महिला मतदाता रहेका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ ९० हजार ९ सय ८९ मत खसेको थियो भने समानुपातिकतर्फ ९२ हजार १ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
