उच्च अदालत बुटवलका पुराना मुद्दाका २१ हजार फाइल जलेर नष्ट

कर्मचारीहरु जारी मुद्दाका बचेका फाइल अध्ययन गरेर जलेका फाइलको अभिलेख तयार गर्दै छन् ।

आश्विन २९, २०८२

घनश्याम गौतम

21,000 files of old cases of High Court Butwal were burnt and destroyed

What you should know

बुटवल — भदौ २४ को प्रदर्शनका बेला रूपन्देहीको भैरहवा र बुटवलका जिल्ला र उच्च अदालतमा भएको आगजनी र तोडफोडबाट महत्त्वपूर्ण मुद्दाका मिसिल भने जोगिएका छन् । यस्तैमा उच्च अदालत तुलसीपुर बुटवल इजलासका झन्डै २१ हजार पुराना मुद्दाका अभिलेख भने जलेर नष्ट भएका छन् ।

अदालत प्रशासन स्रोतका अनुसार उच्च अदालतमा भएको आगजनी र तोडफोडबाट रास्वपा सभापति रवी लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दाको मिसिल सुरक्षित छ । त्यस्तै, राजश्वतर्फका केही ठूला मुद्दाका फाइल पनि सुरक्षित रहेको अदालत स्रोतले जनाएको छ । उच्च अदालतले अहिलेसम्म मुद्दाका फाइलहरुको क्षतिको विवरण सार्वजनिक गरेको छैन । 

भदौ २४ गते उच्च अदालत बुटवल इजलासमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट अदालतका इजलासका कुर्ची, कम्प्युटरदेखि केही फाइलसम्म जलेका थिए । आगजनीबाट अभियान र रिट शाखा तथा कपिलवस्तु र रूपन्देहीका देवानी मुद्दाका मिसिल रहेको फाँट पूर्णरुपमा जलेको थियो । उच्च अदालतका अन्य कोठा, न्यायाधीशहरुको कार्यकक्ष, इजलास र रेकर्ड शाखाहरुमा पनि आगजनी र तोडफोड भएको थियो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले फैसला भइसकेका पुराना अभिलेखका झन्डै २१ हजार फाइल जलेको भएपनि चालु मुद्दाका फाइलहरु खोज्ने काम जारी रहेको बताए । ‘हामीले १/२ दिन भित्रै कुन कुन मुद्दाका फाइल जलेको वा हराएको भन्ने सार्वजनिक सूचना नै जारी गर्ने तयारीमा छौं,’ उनले भने, ‘अहिले बचेका फाइलहरुको अध्ययन गर्ने काम भइरहेको र त्यसका आधारमा हराएका वा जलेका मुद्दाका फाइलको पहिचान हुनेछ । अनि सार्वनिक गर्नेछौं ।’ उनले अदालतमा आएका सबै फाइलको समान महत्त्व हुने भएकाले साना, ठूला भन्न नसकिने बताए ।

आगजनी र तोडफोडबाट भौतिक संरचनामा धेरै क्षति भएको भएपनि रूपन्देही जिल्ला अदालत भैरहवामा रहेका मुद्दाका फाइल भने सबै सुरक्षित रहेका छन् । फाइलहरु कुनै पनि नजलेको जिल्ला अदालत भैरहवाका सूचना अधिकारी पदम अर्यालले बताए । ‘जिल्लाका यहाँ रहेका सबै फाइल सुरक्षित छन्,’ उनले भने, ‘यहाँबाट बाहिर गएका फाइलहरुको जानकारी आएको छैन ।’ जिल्ला अदालतबाट उच्च र सर्वोच्चसम्म धेरै फाइल पुग्ने भएकाले अन्यत्रको विवरण आउन समय लाग्ने उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully