पछिल्लो राजनीतिक परिवर्तन र विशेष परिस्थिती निर्माण भएकाले अधिवेशनको आह्वान छिटो गरिएको हो ।
What you should know
काठमाडौँ — लुम्बिनी प्रदेश सरकारले तिहार लगत्तै प्रदेश सभाको हिउँदे अधिवशेन आहृवानको तयारी गरेको छ । यस अघि सरकारले हिउँदे अधिवेशन मंसिरपछि मात्रै आहृवान गर्ने गर्थ्यो । यसपाला भने पछिल्लो राजनीतिक परिवर्तन र विशेष परिस्थिती निर्माण भएकाले अधिवेशनको आह्वान छिटो गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको शनिवार बसेको मन्त्रीपरिषद बैठकले सरकारले विनियोजन गरेका चालु खर्चका योजनामा २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको थियो । त्यस्तै अन्य योजनालाई पनि ८० प्रतिशत मात्र बजेट उपलब्ध गराउने निर्णय गरेपछि प्रदेश सभा सदस्यले त्यसको विरोध गर्दै आएका छन् । प्रदेश सभाबाट पारित बजेट सरकारले कटौती गर्ने अधिकार नरहेको प्रदेश सभा सदस्यको दावी छ ।
यस अघिको प्रदेश सभा अधिवेशनमा पेश भएर छलफल हुन बाँकी रहेका विधेयकसँगै सरकारले पनि केही विधेयक पेश गर्ने तयारी गरिरहेकाले प्रदेश सभाको हिउँदे अधिवेशन केही समय छिटो आहृवानको तयारी भईरहेको सरकारका प्रवक्ता एवं कृषी भुमी व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थीले बताए । ‘मन्त्रीपरिषद बैठकले दुई विधेयक प्रदेश सभा बैठकमा पेश गर्ने निर्णय गरिसकेको छ, यस अघिका केही विधेयक माथि पनि छलफल गर्न बाँकी रहेकाले छठपछि अधिवेशन आहृवान गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘त्यस बाहेक पछिल्लो राजनीतिक परिस्थिती र अन्य विषयमा पनि छलफल गर्नु पर्ने देखिएकाले यस पटक अलि छिटो अधिवेशन आहृवानको तयारी गरिएको हो ।’
शनिवारको मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक र जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको थियो ।
