कर्मचारी कार्यकक्षमा नबसे पनि पंखा र एसी भने खुलै
What you should know
भैरहवा — रुपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिकाका अधिकांश कर्मचारी दसैंमा घर गएपछि कार्यालय फर्किएका छैनन् । जसले गर्दा पालिकाले प्रदान गर्ने सेवा प्रभावित बनेका छन् । दसैं मनाउन घर गएका कर्मचारीले रीतपूर्वक बिदा स्वीकृति गराएका छैनन् ।
केहीले कार्यालय र फाँट प्रमुखले टेलिफोनबाट बिदामा बसेको जानकारी गराएका छन् । कर्मचारी अनुपस्थित भएपछि दसैंयता पालिका सुनसान छ ।
पालिकाका अनुसार दसैं छेकोमात्र यस्तो समस्या देखिएको होइन । अन्य समयमा पनि कर्मचारीले मनपरी गर्दै आएका छन् । जानकारीबिनै अनुपस्थित हुने कर्मचारीको हाजिरी गयल गराउँदा कार्यालय प्रमुखमाथि नै खनिने गरेका छन् । कर्मचारी अभाव भएपछि एउटै व्यक्तिले कार्यालय सहयोगी, कम्प्युटर अपरेटर र फाँटको काम गर्नुपरिरहेको छ । बिहीबार कार्यालयमा पुग्दा अधिकांश साखा र फाँटमा कर्मचारीका कुर्सी खालि थिए । तर, कार्यालयमा पंखा र एसी चलिरहेका थिए ।
गाउँपालिकामा बिहीबार लेखा प्रमुख निरन्जन ज्ञवाली, शिक्षा अधिकृत अमृता बुढाथोकी, सब-इन्जिनियर शुक्रनारायण यादव, लेखापाल संगीता भट्टराई, सहायक सब-इन्जिनियर रवीन्द्रकुमार यादव, सूचना प्रविधि अधिकृत राजन चौरसिया, वास संयोजक अजयसिंह क्षेत्री, शारदा रौनियार उपस्थित थिएनन् । धेरै कर्मचारीले तिहार मनाएर फर्किने जानकारी गराएका छन् । बिहीबार बिहान ११ बजेसम्म कार्यालय सुनसान थियो । सेवाग्राही नआएपछि उपस्थित कर्मचारी एउटै फाँटमा जम्मा भएर गफिरहेका थिए । केहीले मोबाइल चलाइरहेका थिए । कोही कार्यालय बाहिर शीतलमा उभिएर गफ गर्दै थिए । बिहान गयल देखिएका कर्मचारीले दिउँसो आएर हाजिर गरेका थिए ।
‘फाँटजति सबै रित्तै छन् कर्मचारी भेटिदैनन,’कोटइमाई–७, बाट आएका एक सेवाग्राहीले भने, ‘दिनभरि कर्मचारी पर्खिएरै बित्यो, मेरो काम भएन ।’ कर्मचारी कार्यकक्षमा नबसे पनि पंखा र एसी खुलै राखेर सरकारी धनको नास गरिरहेको उनले बताए । पालिकाले दसैं बिदा हुनुपूर्व बैठक राखेर सबै कर्मचारीलाई बिदा सकिनासाथ कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो ।
तर, निर्देशनको पालना गरिएको छैन । एउटा कर्मचारीले वर्षमा १२ दिनमात्रै भैपरी बिदा लिन सक्छन् । यस्तो बिदाका लागि टेलिफोनमै जानकारी गराए हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले जानकारी दिए । तर, यहाँका कर्मचारीले नियमको वास्ता गरेको देखिँदैन । ‘प्रमुख जिल्ला अधिकारीले दसैं अगाडि र पछाडि कार्यालयमा कर्मचारीको रिक्तता नगराउन र कर्मचारीलाई अनिवार्य उपस्थित गराउन निर्देशन दिनुभएको थियो,’प्रमुख प्रशासकीय अधिकृत मिश्रले भने, ‘उक्त निर्देशनपछि सबै कर्मचारीलाई दसैं अगाडि र पछाडि यदि घरै बस्ने भए रितपूर्वक घरबिदा स्वीकृत गराएर बस्नुहोला भनेको थिए, एक दुई जनाले बिदा स्वीकृत गराएर राख्नु भएको थियो ।’
यति अनुरोध गर्दा पनि सबैलाई मनाउन नसकिएको मिश्रले जानकारी दिए । पालिकामा धेरैजसो स्थानीय कर्मचारी भएकालेपनि व्यवस्थापनमा समस्या हुने गरेको उनले बताए । ‘कोही मन लागेको दिन आउने, कसैले फोन गरेर बिरामी छु भन्ने गरेका छन्,’उनले भने, ‘यस्तो अवस्थामा अन्य प्रशासकीय कर्मचारीले गर्नुपर्ने काम पनि आफैले गर्नुपर्ने बाध्यता छ ।’
कर्मचारी बैठक राखेर बिदा स्वीकृत नगराउने कर्मचारीको गयल कट्टी हुने जानकारी गराएको अर्को दिन नै ७/८ जना कर्मचारी उपस्थित नहुनुले पालिकाको दुःख प्रस्ट हुने उनले बताए । घर बिदा स्वीकृत नगराएर बस्ने कर्मचारीको एकपटक गयल कट्टी गरिने, त्यसपछिपनि बेवास्ता गरे स्पष्टिकरण सोधिने र पटकपटक दोहारिएमा विभागीय कारबाहीका लागि सिफारिस गरिने उनले बताए । करार र ज्यालादारी कर्मचारी भएमा सम्झौता रद्द गरिने उनले चेतावनी दिए । फाँटै रिक्त हुँदा सेवाग्राहीलाई मर्का पर्ने र कार्यालयका लागि गर्नुपर्ने नियमित काम प्रभावित हुने उनले बताए ।
