रेसुंगा-ढोरपाटन सडकमा धमाधम काम

गुल्मी सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा र बागलुङको ढोरपाटन क्षेत्रलाई जोड्न सके पर्यटकीय हिसाबले निकै फड्को मार्नेछ ।

आश्विन २४, २०८२

सन्तोष महतारा

Busy work on Resunga-Dhorpatan road

What you should know

गुल्मी — धार्मिक पर्यटकीय क्षेत्र रेसुंगा र ढोरपाटन जोड्ने सडकमा कालोपत्र गर्न त्यसअघिका काम अघि बढाइएको छ । रेसुंगाबाट ढोरपाटन जान छोटो दुरीका रुपमा रहेको तम्घासकै बाख्रेछेडा—भाडगाउँ—रातडाँडा सडक कालोपत्रे गर्न यतिबेला काम धमाधम भएको हो । 

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा र बाग्लुङको ढोरपाटन क्षेत्रलाई जोड्न सकेमा पर्यटकीय हिसाबले निकै फड्को मार्नेछ । जसका लागि कुनै ठोस कदम अगाडि नबढे पनि रेसुंगाबाट भाडागाउँ हुँदै रातडाँडाबाट इन्द्रेगौंडा र वामी हुँदै बाग्लुङ पुगिन्छ । यसका लागि गुल्मीको जिरो खण्डबाट सहज सडक बनेमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको छ । 

हिउँदमा धुलाम्ये र बर्खामा हिलाम्ये हुने यो सडकमा कालोपत्र भए स्थानीय यात्रुले पाइरहेको सास्तीको पनि अन्त्य हुनेछ । रेसुंगा नगरपालिका—३ का सवारी चालक मानबहादुर कुँवरले सडककै कारण पाइरहने सास्ती बन्द हुने अपेक्षा गरे । ‘सडककै कारण ५/७ वर्षमै गाडी फेर्नुपर्छ, निकै समस्या छ,’ उनले भने, ‘काम हुन लागेकोले धेरै आशा लागेको छ ।’

सोही स्थानकी जमुना खत्रीले पनि सुन्तलाको गाउँ भाडागाउँ भए पनि सडक सहज नहुँदा बजार र बजार सुहाउँदो मूल्य नपाउने गरेको बताइन् । ‘उत्पादन भए पनि सडक राम्रो नहुँदा बजार थिएन,’ उनले भनिन्, ‘अब पक्की सडक भए पनि केही न केही फरक पर्नेछ ।’ 

२०८२ वैशाख १० मा सम्झौता भई भीमढुंगा—रामजाने—जयबाबा जेभी निर्माण कम्पनीले १७ करोड ६८ लाख ७३ हजार रुपैयाँमा २०८४ साल वैशाख ९ गतेभित्र काम सम्पन्न गर्ने गरी जिम्मा लिएको छ । सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत यस योजनामा आठ किलोमिटर सडक कालोपत्रे हुनेछ । हाल २० प्रतिशत भौतिक भएको कार्यालयले जनाएको छ । 

यस सडकखण्डमा हाल कटिङ, चौडा पार्ने काम, वाल निर्माण र ग्याबिन जाली निर्माण लगायतका काम भइरहेका छन् । आठ मिटर चौडाइ हुने यो सडक साढे ५ मिटर कालोपत्रे र ढलान हुने रेसुंगा नगरपालिका—३ का वडाध्यक्ष बाबुराम खत्रीले बताए । यस सडकखण्डका कालोपत्रेका लागि धमाधम संरचना तयार भइरहेका छन् ।  

रेसुंगा नगरपालिका खिलध्वज पन्थीले सदरमुकाम नजिकै रहेर पनि सुविधा नपाएको भाडागाउँमा सडक कालोपत्रे गर्नेगरी अगाडि बढिरहेको बताए । उनले धेरै मेहनतपछि मात्रै यस खण्डमा बजेट सुनिश्चत गर्न सकेको बताए । ‘अब सडक कालोपत्र हुनेछ, यात्रुलाई सहज र सुन्तला किसानले बजार र मूल्य पाउनेछन्,’ उनले भने, ‘रेसुंगा र ढोरपाटन जोड्ने छोटो सडकका रुपमा पनि यसले निकै महत्व राखेको छ ।’ समयमै काम सम्पन्न गरेर यसबाट स्थानीय नागरिकलाई सुविधा प्रदान गर्न निरन्तर पहल गरिरहेको बताए । 

सन्तोष

Link copied successfully