बालिका हत्या प्रकरण : अनुसन्धानका लागि ६ जना प्रहरी नियन्त्रणमा

प्रहरीले घटनाका सम्बन्धमा ६ जनालाई मंगलवार इलाका प्रहरी कार्यालय, पाताभारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

आश्विन २२, २०८२

कमल पन्थी

Girl child murder case: 6 people under police custody for investigation

What you should know

बर्दिया — गेरुवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जेल) देउवाको हत्याका सम्बन्धमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ती बालिकाको हत्या गरी शव बालुवाले पुरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा ६ जनालाई मंगलबार इलाका प्रहरी कार्यालय, पाताभारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

केही अनुसन्धानको घेरामा रहेकोले प्रहरीले खोजतलास सुरु गरेको छ । उनी असोज १७ गते शुक्रबार करिब ३ बजे सोही पालिका गणेशपुर स्थित आफन्तको घरमा विवाह भोज खान गएकी थिइन्। विवाह घरबाट उनी घर नफर्केपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । सानो साइकल चढेर विवाह भोजमा गएकी उनी बेपत्ता भएकी भारती (एन्जल) देउवाको घोप्टो पारेर बालुवाले पुरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय, पाताभारका प्रहरी निरीक्षक मदन बहादुर गुरुङले बताए।

'खोजी गर्दा घटनास्थलमा उनको चप्पल, लगाएको लुगा र साइकल समेत फेला परेको छ,’ उनले भने, ‘हत्या भएको सम्बन्धमा पोस्टमार्टम रिपोर्टले खुल्ने छ, अहिले अनुसन्धान जारी भएकोले बोल्न मिल्दैन।' गणेशपुरस्थित पीडितको घरदेखि २ किमि उत्तरगुडी खोलाको किनार बगरमा शव फेला परेको थियो । स्थानीयले घटनास्थल वरिपरिका खोजी गर्ने क्रममा वनका झारी काटेका थिए ।

घटनास्थलमा राजापुर, गुलरिया लगायतका ठाउँबाट प्रहरी अनुसन्धान अधिकृत सहित सादा पोसाकका प्रहरी खटिछकाएन । केही शङ्कास्पद फरार रहेको प्रहरीले जनायो । बालिकाका मामा दीर्घ चलाउनेले अपराधीले भान्जीलाई हत्या गरी बालुवामा पुरेको बताए । भान्जी माथि यौन दुर्व्यवहार गरी हत्या गरेर कानको सुन र घाँटीमा लगाएको चाँदीको सिक्री लुटेका छन्,’ उनले भने ‘अपराधीलाई पक्राउ गरी कडा भन्दा कडा सजाय हुनु पर्छ।' 

गणेशपुर सामुदायिक वन क्षेत्रमा उक्त घटना भएपछि स्थानीय त्रसित छन्। गेरुवा गाउँपालिका–५ का समीर शाहले यो हत्या नै भएकोले प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान हुनुपर्ने बताए । 'दोषी उम्किन नपाउन उनीहरूलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिनुपर्छ,' उनले भने । विगत केही समय यता यस सामुदायिक वनमा लागुऔषध सेवनकर्ताका लागि सुरक्षित ठाउँ भएकोले दुर्व्यसनी आउने गरेको स्थानीयले बताए ।

कक्षा-४ मा रुपन्देहीस्थित मुर्गियामा आफन्तको घर बसेर पढ्दै गरेकी भारती दसैँ मान्न घर आएकी मामा दीर्घले बताए । उनको हत्या भएपछि झबई गाउँका बासिन्दा शोकमा छन । प्रहरीले शव परीक्षणका लागि बुधवार नेपालगन्ज लैजाने जनाएको छ । यसैबीच पीडितले मंगलबार कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्र मल्लले जनाए । घटनास्थल सदरमुकाम गुलरियाबाट पश्चिम उत्तर करिब ५० किमि दुरीमा पर्दछ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully