निगमको १ सय ५८ सिट क्षमताको एयरबस ३२० ले उडान भर्ने सूचनापछि उत्साहित भएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रु उडान स्थगित भएको सूचनापछि निराश बनेर फर्किएका थिए ।
भैरहवा — विपद्का कारण सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएपछि गन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दिउँसो काठमाडौं–भैरहवा चाटर्ड उडान गर्ने भएको छ ।
अशक्त, बिरामी, वैदेशिक रोजगारीमा जाने व्यक्ति लक्षित गरेर आइतबार राति ९ बजेका लागि उडान अनुमति मिले पनि प्राविधिक कारण जनाउँदै नेपाल वायुसेवा निगमले प्रेस विज्ञप्ति जारी गरेर उडान तालिका सोमबार दिउँसोका लागि सारेको थियो ।
निगमको १ सय ५८ सिट क्षमताको एयरबस ३२० ले उडान भर्ने सूचनापछि उत्साहित भएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रु उडान स्थगित भएको सूचनापछि निराश बनेर फर्किएका थिए ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार सोमबार दिउँसो एक बजे विमान भैरहवा अवतरण गर्नेछ । भने २ बजेर ४५ मिनेटमा भैरहवाबाट काठमाडौं प्रस्थान गर्ने तालिका छ । ठूलो जहाजले उद्धार उडान गर्ने खबरपछि भैरहवामै अलपत्र र आपपासका यात्रु सोमबार बिहानै भैरहवाको देवकोटा चोकस्थित नेपाल वायुसेवा निगमको काउन्टरमा टिकटका लागि लाम लागेका छन् ।
सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा तय भएको उद्धार उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
‘हिजो विभिन्न कारणले उडान स्थगित भयो,’ उनले भने, ‘आज दिउँसो उडान हुन्छ, हामी तयारी अवस्थामा छौं ।’
