१३१ सरकारी, ७३ निजी तथा व्यावसायिक प्रतिष्ठान, ४१ संघसंस्था र १४ प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।
What you should know
बुटवल — भदौ २४ को प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशमा सरकारी, निजी, विभिन्न व्यापारिक प्रतिष्ठान र संघ संस्थाका २ सय ५९ वटा भवनमा क्षति पुगेको छ । लुम्बिनी प्रदेशका १२ मध्ये ७ जिल्लामा संरचनागत क्षति पुगेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सरकारी भवन १ सय ३१, निजी तथा व्यावसायिक प्रतिष्ठान ७३, पार्टी कार्यालय तथा संघसंस्थाका भवन ४१ र १४ वटा प्रहरी कार्यालयसहित २ सय ५९ भवनमा क्षति पुगेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकार एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीका अनुसार प्रदर्शनबाट सरकारी संरचनातर्फ सबैभन्दा बढी दाङमा क्षति भएको छ । व्यावसायिक प्रतिष्ठान र निजी भवनतर्फ रूपन्देहीमा बढी क्षति भएको छ । दाङमा मात्र ४१ सरकारी भवनमा तोडफोड र आगजनी भएको छ । दोस्रोमा रूपन्देहीमा ३४ सरकारी भवनमा क्षति भएको छ ।
त्यस्तै बाँकेका २३, त्यस्तै नवलपरासी पश्चिमका २१, कपिलवस्तुका ६, अर्घाखाँचीका ५ र बर्दियाको एउटा सरकारी कार्यालयमा क्षति पुगको प्रहरीले जनाएको छ । ‘अहिलेसम्म सरकारी, निजी, व्यवसायी प्रतिष्ठान र संघ संस्थाहरुमा भएको क्षतिको विवरण मात्र संकलन भएको छ,’ उनले भने, ‘क्षति भएका जिल्ला स्थित प्रहरी कार्यालयहरुले अहिले मुचुल्का तयार गर्ने र क्षतिको मुल्याङ्कन गर्ने क्रम बल्ल सुरु भएकाले कति मुल्यको क्षति भयो भन्ने विवरण अझै उपलब्ध भएको छैन ।’
उनले धेरै सरकारी कार्यालयले आफ्नै भवन सामान्य मर्मत गरेर सेवा सुरु गरेको र झन्डै ३ दर्जन सरकारी कार्यालयबाट सेवा प्रवाह हुन नसक्ने विश्लेषण गरिएको बताए । आगजनी र तोडफोडबाट ३३ सरकारी भवन, १८ निजी भवन, १० पार्टी कार्यालयसहित ६१ वटा भवन पूर्ण रुपमा ध्वस्त भएका छन् ।
त्यस्तै प्रदर्शनमा लुम्बिनी प्रदेशका ७३ नीति तथा व्यावसायिक भवनमा तोडफोड, आगजनी र लुटपाट भएको छ । नवलपरासी पश्चिममा २३ वटा निजी भवनमा तोडफोड र लुटपाट भएको छ । दाङमा १२, बाँकेमा ३ बर्दियामा २, अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, रुपन्देहीमा २५ वटा निजी भौतिक संरचनामा तोडफोड, आगजानी र लुटपाट भएको थियो ।
यस्तै राजनीति दलका पार्टी कार्यालयसहित विभिन्न संघ तथा संस्थाका गरी ४१ वटा भवनमा आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १४ वटा प्रहरी कार्यायलमा समेत तोडफोड भएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा क्षति भएको छ । रुपन्देहीमा बुटवल उपमहानगरपालिकाले प्रमुख प्रशासनिक भवन, बुटवल उपमहानगरपालिका–९ मा रहेको आन्तरिक राजश्व अनुसन्धान कार्यालय, बुटवल–८ मा रहेको इलाका प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिभिजन वन कार्यालय, बुटवल उपमहानगरपालिका–४ दरबार लाइन स्थित प्रदेश प्रमुखको कार्यालयको भवनमा क्षति पुगेको छ।
बुटवलमा रहेको नापतौल तथा गुणस्तर कार्यालय, उच्च अदालत तुल्सीपुर बुटवल इजलासको कार्यालय, लोकसेवाको कार्यालय, बुटवल १३ मा रहेको नापी कार्यालय र बुटवल १३ मै रहेको यातायात कार्यालय लगाएतका महत्वपूर्ण सरकारी भवनमा आगजनीसागै तोडफोड भएको छ ।
प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्क नगरपालिका अर्घाखाँची स्थित घर, कांग्रेसका वरिष्ठ नेता रूपन्देहीका बालकृष्ण खाँण, लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको दाङ स्थित घर, लुम्बिनीकै पूर्वमुख्यमन्त्री लिला गिरीको तिलोत्तमास्थित घर, लुम्बिनीकै भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकालसहित यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेता कार्यकर्ताको घरमा पनि तोडफोड र आगजनी गरिएको थियो ।
