पाल्पा प्रशासनद्वारा अत्यावश्यक बाहेक सवारी साधन नचलाउन आग्रह ।
What you should know
पाल्पा — लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा शुक्रबार बेलुकादेखि मध्यम वर्षा भइरहेको छ । तथापि, सिद्धार्थ राजमार्गका साथै पाल्पा–गुल्मी सडक सुचारु छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले भने सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तर–दक्षिण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक खण्ड सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । यस्तै पाल्पादेखि गुल्मी जाने सडकमा पनि अवरोध नभएको प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले २०८२ असोज १८, १९ र २० गते देशका विभिन्न भू–भाग लगायत लुम्बिनी प्रदेशमा समेत मध्यम तथा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । वर्षाका कारण हुन सक्ने बाढी, पहिरो, डुबान एवं भू–क्षय लगायतका विपद्जन्य जोखिमका साथै सडक यातायात समेत प्रभावित हुन सक्ने अवस्थालाई दृष्टिगत गरी सतर्कता अपनाउन तथा पूर्वतयारी एवं प्रतिकार्यमा जुट्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नैपरे आवागमनमा उच्च सावधानी अपनाउन आग्रह गरेको छ । जारी सूचनामा नदी तथा खोला किनाराका बासिन्दा बाढीको उच्च बहाव हुन लागेमा सो स्थान छाडी सुरक्षित स्थानमा बस्न र यसका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।
जिल्लास्थित सबै सुरक्षा निकाय, सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, नागरिक समाज, निजी क्षेत्र तथा सरोकारवाला निकाय विपद् पूर्वतयारीमा जुट्नु हुन र आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
जिल्लाबाट अत्यावश्यक बस्तु तथा सेवाका सवारी साधनबाहेक यातायात व्यवसायी तथा निजी क्षेत्रको लामो तथा छोटो दूरीका सवारी साधन नचलाउनसमेत आग्रह गरिएको छ । विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा तुरुन्त जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।
