अर्घाखाँचीका कोतघरमा सरायको रौनक

अर्घाखाँचीमा खाँची दरबार, मालारानी, राँगामारे, ठाडा, मैदान, सन्धिखर्क, भण्डारथुम लगायतका स्थानमा सराय नाच नाचिन्छ । अर्घाखाँचीपछि गुल्मी, प्यूठान, पाल्पामा विस्तार भएको मानिन्छ ।

आश्विन १७, २०८२

वीरेन्द्र केसी

The charm of an inn in Kotghar of Arghakhanchi

What you should know

अर्घाखाँची — निधारमा रातो टीका, घाँटीमा धजा वा जमराको माला । नयाँ पहिरनमा सयौँ मान्छेको भीडमा एउटा हातमा चमचम चम्कने खुँडा, तरबार, भाला र अर्को हतमा ढाल वा रुमाल । सुरुमा हतियार नचाएर अभिनय, त्यसपछि भट्टाउँदै ‘वाख्खै हो, वाख्खै हो’ भन्दै सनाई र बाजाको तालमा नाचगान ।

युद्धको जस्तो झल्को दिने सराय नाच दसैंको टीकापछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म कोतघर र कालिका मन्दिरमा सरायको रौनक सुरु भएको छ । अष्टमीका दिन कालरात्रि पूजा गरेसँगै शक्तिपीठमा सराय नाच सुरु गरिन्छ । शुक्रबार मालारानी गाउँपालिका–७ बामरुक, भूमिकास्थान नगरपालिका–५ असुरकोट लगायतका भगवती मन्दिरमा भव्य सराय नाच भएको छ । जहाँ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म नाचगान गरेका छन् । 

रंगीचंगी ध्वजापतकाले सिंगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा लिइन्छ । लाइनमा रहेका सयौँ भक्तजन एक समूहले अर्को समूहलाई आक्रमण गरे जस्तो देखिने सराय नाच रमाइलो संस्कृतिको रूपमा लिइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाच्न थालिएको हो । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास गरिन्छ । 

बाइसेचौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाच नचाउने गरेपछि नै सुरु भएको बुढापाका बताउँछन् । इतिहास अनुसार सराय नाचको सुरुवात अर्घा दरबारबाट भएको हो । मध्यकालमा अर्घा राज्यका जिल्ला राई राजाले सुरु गरेका थिए । संस्कृतविद् राजेन्द्रकुमार आचार्यका अनुसार मध्यकालमा वर्तमान अर्घाखाँची जिल्लाको तत्कालीन अर्घाराज्यमा राजा जिल्ला राईले आफूले अर्घाराज्य जितेको उपलक्ष्यमा विजयोत्सव स्वरूप विजया दशमीको कोजाग्रत पूर्णिमाका दिनमा सराय नाच नचाई, दहीकेरा र बक्सिस बाँड्न थालेका थिए । अर्घाको टाकुराबाट प्रचलनमा आएको सराय नाच अन्यत्र विस्तार भएको अर्घा भगवती मन्दिरका पुजारी धर्मराज पोखरेलले बताए । 

श्री अर्घा महाकाली भगवती मन्दिर तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार वि.स. १३८१ मा जिल्ला राई राजा भारतको दिल्लीबाट फौजसहित अर्घामा आएर बसे । साथमा उनले गीत गाउने गन्धर्व, पूजा गर्ने पुराोहित, लुगा सिलाउने परियार, हतियार बनाउने विश्वकर्मा र हतियारसहित फौज लिएर आएका थिए । त्यतिबेला अर्घामै गुरुङ राजा थिए । उनीसँग लडाई लडेर १७ मौजा कब्जा गरे । बडादसैँको पूर्णिमाको दिन विजयोत्सव स्वरूप सराय निकालेको इतिहास रहेको उनले बताए । 

अर्घाखाँचीमा खाँची दरबार, मालारानी, राँगामारे, ठाडा, मैदान, सन्धिखर्क, भण्डारथुम लगायतका स्थानमा सराय नाच नाचिन्छ । अर्घाखाँचीपछि गुल्मी, प्यूठान, पाल्पामा विस्तार भएको मानिन्छ । पहाडी जिल्लाबाट दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी बसाइसराई गर्नेहरूले त्यहीँ देवीका मन्दिर स्थापना गरी सराय नाचको सुरुवात गर्ने क्रम बढ्दो छ । रुपन्देहीको बुटवलमा रहेको जितगढी, देवीचौपारी लगायत स्थानमा  सराय नाच हुने गर्छ । 

गुल्मीको धुर्कोट, अर्जे, चन्द्रकोट, पिपलधारा, नयाँ गाउँ पुर्कोटदह, प्यूठानको ओखरकोट, विजुवार, बिजुलीकोट, पाल्पाको रैनादेवी, रम्भादेवी, कुसुमखोला, माथागढी लगायतका थुप्रै ठाउँमा सराय नाच नाचिन्छ । 

स्वदेश तथा विदेशबाट दसैँ मान्न जन्मघर आएकाहरू कोजाग्रत पूर्णिमाको सराय नाच भ्याएर कर्मथलो फर्किने गर्छन् । सरकारी बिदा पनि पूर्णिमासम्म हुन्छ । पछिल्लो समय युवापुस्ताले पनि सराय संस्कृतिको संरक्षण गर्न लागेका छन् ।

‘सराय नाच हाम्रो परम्परा संस्कृति हो,’ असुरकोटका गणेश भण्डारीले भने, ‘गाउँमा बसोबास गर्ने देखि स्वदेश तथा विदेशमा रोजगार, विभिन्न पेसा व्यवसायमा रहेकाहरू पनि कोतघरमा गएर दर्शन गर्ने, पूजापाठ देखि सराय नाच्ने गर्छन् । यो रमाइलो संस्कृति हो ।’ अहिले बिस्तारै देवी मन्दिरहरू पनि संरक्षण हुँदै गएको उनले बताए । ‘एकातिर हतियार नचाएर नाच्दा रमाइलो र अर्कोतिर संस्कृतिको जगेर्ना हुन्छ,’ उनले भने, ‘लामो समयपछि साथीभाइ भेटघाट पनि हुन्छ ।’

वीरेन्द्र

Link copied successfully