गुलरिया नगरपालिका–६ भन्सार रोड स्थित गौरीशंकर मन्दिर र गुलरिया नगरपालिका–५ मातङ्गी देवी मन्दिरको प्राङ्गणलगायत गुलरियाका विभिन्न गाउँ र चोक गरी ९३ ठाउँमा दुर्गा देवीको मूर्ति राखिएको छ ।
What you should know
बर्दिया — गुलरिया नगरपालिका अन्तर्गत राखिएका दुर्गा देवीको मूर्ति बिसर्जन गरिँदैछ । घटस्थापनाका दिनदेखि गाउँ गाउँ, चोक चौराह र विभिन्न मन्दिर प्राङ्गणमा स्थापना गरिएका दुर्गा देवीको मूर्ति आज(बिहीबार) बिसर्जन गर्न लागिएको हो ।
गुलरिया नगरपालिका–६ भन्सार रोडमा बिहीबार बिहानदेखि बध गर्न रावण ठडाइएको छ । ठडाइएको रावणको बधपछि गुलरिया अन्तर्गत राखिएका दुर्गा देवीको मूर्ति धुमधाम भादा नदीमा बिसर्जन गर्ने भक्तजनहरुको तयारी छ ।
गुलरिया नगरपालिका–६ भन्सार रोड स्थित गौरीशंकर मन्दिर र गुलरिया नगरपालिका–५ मातङ्गी देवी मन्दिरको प्राङ्गणलगायत गुलरियाका विभिन्न गाउँ र चोक गरी ९३ ठाउँमा दुर्गा देवीको मूर्ति राखिएको छ ।
घटस्थापनादेखि दुर्गा देवीको मूर्ति राखिएको ठाउँमा पुरोहितद्वारा नवरात्रभर विधिवत रुपमा पूजापाठ गरिएको थियो । घटस्थापनाका दिन स्थापना गरिएका दुर्गा देवीको मूर्तिको साँझ, बिहान र दिउँसो पूजाआजा, आरती र भजन किर्तन गर्ने भक्तजनहरुको घुइचो लाग्ने गरेको थियो ।
नवरात्रमा स्थापना गरिएको दुर्गा माताको मूर्तिले गाउँघरमा चहल पहल रहेको गुलरिया नगरपालिका–७ का जय यादवले बताए । ‘नवरात्रभर ‘जय माता दी’ले गाउँघर गुन्जायमान बनेको थियो,’ उनले भने, ‘चारैतिर पूजाआजा गर्ने भक्तजनहरुको घुँइचो देखिन्थ्यो, आज विभिन्न ठाउँमा राखिएका दुर्गा माताको मूर्ति बिर्सजनपछि गाउँघर सुनसान हुनेछ ।’
गुलरिया नगरपालिका अन्तर्गत नवरात्रको अवसरमा ९३ ठाउँमा दुर्गा देवीको मूर्ति राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘विभिन्न ठाउँमा राखिएका मूर्ति भादा, कुसुम्बालागयतका चार घाटमा बिर्सजन गरिनेछ,’ प्रजिअ पौडेलले भने, ‘सूर्यास्तसम्म मूर्ति विर्सजनको समय तोकिएको छ, सुरक्षाको लागि जिल्लामा उपलब्ध सम्पूर्ण सुरक्षा जनशक्ति परिचालन गरेका छौं ।’
