४० वर्षपछि परम्परागत चर्खेपिङ

उहिले आफूले देखेको सीपलाई सम्झेर नयाँ पुस्तालाई सिकाउन तानसेन–८ का ताराबहादुर रानाले चर्खेपिङ तयार पारेका छन् ।

आश्विन १६, २०८२

माधव अर्याल

After 40 years of traditional Charkheping

What you should know

पाल्पा — तानसेन नगरपालिका–८, छापका ताराबहादुर रानाले ४० वर्षअघि देखेको सीपलाई प्रयोग गरेर यस वर्ष छाप देउरालीमा चर्खे पिङ राखेका छन् । गाउँका नयाँ पुस्ताका युवालाई साथ लिएका रानाले एक साताको मिहिनेतपछि चर्खे पिङ तयार भएको बताए ।

सबैतिर राख्न काठ नपाएपछि फलामको मिश्रण गरिएको छ । ‘उहिले देखेको सीपलाई सम्झेर नयाँ पुस्तालाई सिकाउन यसवर्ष चर्खे पिङ बनाइयो,’ उनले भने । 

पिङ बनाउन काठको ठूलाठूला दुई वटा पोल आवश्यक पर्छ । त्यसको बाहा, पखेटा, फल्याक, बलोलगायत धेरै काठ आवश्यक हुने गर्छ । रानाले बलोको स्थानमा भने फलाम र घुमाउन सजिलो होस् भनेर बेरिङ राखेर नयाँ अभ्याससमेत गरेको बताए । ‘हाम्रा बाउबाजेले टोलटोलमा यस्ता चर्खे पिङ राख्नुहुन्थ्यो,’ उनले भने, ‘अहिलेका पुस्तालाई यसबारेमा थाहासमेत छैन । त्यसैले पनि जानेको सीप प्रयोग गरेर निर्माण गरेका छौं । सोंचेको जस्तो राम्रो नहोला तर बन्न चाहि बनेको छ ।’ 

पछिल्लो समयमा जंगलमा काठ काट्न पाइँदैन । काठ धेरै लाग्ने भएकाले निजी जंगलको पनि काठ काट्न अनुमति पाउन मुस्किल  छ । त्यसपछि यो पिङ बनाउन पनि झन्झट हुने भएकाले आजकाल चर्खे पिङ नै राख्न छाडेको तानसेन नगरपालिका–८, छाप देउरालीका स्थानीय युवा तुषार रानाले बताए । 

पाकापुस्ताका अनुसार पहिला जंगलमा प्रशस्त काठ काट्न पाइन्थ्यो । गाउँलेले चर्खे पिङ्ग राख्ने भनेपछि काठ दिने प्रचलनसमेत थियो । अहिले सबै सामुदायिक वन भएपछि जथाभावी काठ काट्न पाउँदैनन् । अर्कोतर्फ पछिल्लो समय युवाको विदेश पलायन भएको छ । ग्रामीण भेगमा युवा छैनन् । अघिल्लो वर्ष राखेका काठ चोरी हुने गर्छ । त्यस्ता कारणले पनि चर्खे पिङ राख्न छाडेको रानाले बताए । 

फोक्सिङ्कोट, जल्पा, गल्धा, ज्यामिरे, बहादुरपुर, मित्याल, रहवास लगायत कहिँकतै मात्र यस्ता पिङ देख्न पाइन्छ । सदरमुकाम र वरपरका गाउँमा भने पछिल्लो चार दशकदेखि यस्ता पिङ देख्नसमेत नपाएको अनुभव धेरैको छ । अहिलेका कतिपय पुस्तालाई यो पिङ कसरी बनाइन्छ भन्ने नै जानकारी नभएको तानसेन नगरपालिका–८, छाप देउरालीका कमल बहादुर रानाले बताए । 

काठै काठले बनेको चर्खे पिङ पहिले–पहिले निकै लोकप्रिय खेल हुन्थ्यो । दसैका बेला गाउँका युवायुवती मिलेर त्यस्तो पिङ बनाउने गर्थे । दसैंमा टीका लगाउन हिँड्नेहरुले एक दिन जमिन छाड्नुपर्छ भन्दै पिङ खेल्ने प्रचलन रहे पनि अहिले यसको महत्व हराउँदै गएको स्थानीय बताउँछन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully