सहकारीको भवन बनाउन नगरपालिकाले दियो ९ लाख ।
कपिलवस्तु — सदरमुकाम तौलिहवामा रहेको आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कपिलवस्तु नगरपालिका–१ स्थित नयाँटोलमा नयाँ भवन निर्माण गरेको छ ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले आइतबार उक्त भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटनसँगै यहाँबाट औपचारिक रूपमा कारोबार पनि शुभारम्भ गरिएको छ ।
कपिलवस्तु नगरपालिकाको ४ लाख, कपिलवस्तु नगरपालिका वडा नं. १ को ३ लाख, वडा नं. २ र ३ को एक/एक लाख गरी १९ लाख लागतमा उक्त पक्की भवन बनाइएको सहकारीका अध्यक्ष प्रकाश घिमिरेले बताए । नयाँ भवनबाट अझ सहज, सरल र प्रभावकारी ढंगले सेवा दिने उनले बताए । सहकारीले निकट भविष्यमा डिजिटल सेवा विस्तार, आर्थिक साक्षरता अभिवृद्धि र सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना समेत अघि सारेको उनले बताए ।
१ हजार ८ सय सेयर सदस्य रहेको सहकारीको वार्षिक १२ करोडको कारोबार रहेको सहकारीका शाखा प्रबन्धक शुभम श्रेष्ठले बताए ।
