भदौ २४ गते लुटिएका दुई पेस्तोलसहित चार जना पक्राउ

जिल्लाको गौरीगंगा नगरपालिका–१ बस्ने १९ वर्षीय समीर खड्काको घरमा लुकाएर राखिएको टाइप–५४ (नं. २९००२०६५) को ७.६२ मिमि पेस्तोल, म्यागेजिन एक थान र २८ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

आश्विन ८, २०८२

रञ्जना बिसी

कैलाली — भदौ २४ गतेको प्रदर्शनका क्रममा लुटिएका दुई पेस्तोलसहित कैलाली प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ बस्ने १९ वर्षीय समीर खड्काको घरमा लुकाएर राखिएको टाइप–५४ (नं. २९००२०६५) को ७.६२ मिमि पेस्तोल, म्यागेजिन एक थान र २८ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। सोही ठाउँ बस्ने १९ वर्षीय आभास चन्दको साथबाट बीआरएफ–५५८२ नम्बरको रिभल्भर समेत बरामद गरिएको हो।

हातहतियार लुकाएर राख्ने कार्यमा संलग्न सोही ठाउँका २२ वर्षीय हिमाल आचार्य र अत्तरिया–३ का २० वर्षीय जिवेश सापकोटालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको संयुक्त टोलीले हातहतियार बरामद गरेको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रञ्जना

Link copied successfully