तोडफोड र आगजनी गरेको आरोपमा पश्चिम नवलपरासीमा १६ जना प्रहरीको नियन्त्रणमा 

व्यक्तिगत सम्पत्ति आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आश्विन ४, २०८२

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा १६ जना युवालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।   

व्यक्तिगत सम्पत्ति आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  

जेन–जी आन्दोलन फिर्ता भइसकेपछि निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आशंकामा १६ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए । 

प्रहरीले फोटो र भिडियो अध्ययन गरेर उनीहरूलाई नियन्त्रणमा लिएको भएपनि अहिलेसम्म कसैले पनि किटानी जाहेरी भने नदिएको प्रहरीले जनाएको छ । आजै प्रहरीले जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेर दोषीलाई कारबाही गर्न र अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेको थियो । राजनीतिक दलका प्रतिनिधिले घुसपैठ गरेर निजी सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरेका थिए । 

आन्दोलनकै क्रममा नियतवश जनप्रतिनिधिको घर र उद्योगमा आगजनी गरेको भन्दै पीडितले कारबाहीको माग गर्दै आएका थिए । फोटो र भिडियो प्रमाणको आधारमा बर्दघाट र प्रतापपुरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको संलग्नताको अनुसन्धान भइरहेको र सोही अनुसार कानुनी कारबाही अगाडि बढाइने छ । 

जिल्लामा  २७ वटा सरकारी कार्यालय सहित ६३ वटा तोडफोड र आगजनीको घटना  भएको छ । 

जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको संयोजकत्वमा क्षति मूल्यांकन समिति गठन गरेर क्षतिको विवरण संकलन भइरहेको छ ।  

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully