जेन-जी आन्दोलनमा गुलरिया नगरपालिकाका मेयरकाे कुर्सीमा बस्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी चक्र डमर पालले आपराधिक प्रवेश गरी मेयरको कुर्सीमा बसेका गुलरिया नगरपालिका–६ का २६ वर्षिया इरफान मनिहारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

आश्विन ३, २०८२

कमल पन्थी

Arrested sitting on the mayor's chair of Gulria municipality during the Gen-G movement

बर्दिया — जेन-जी आन्दोलनका क्रममा गुलरिया नगरपालिकाको कार्यालयमा पसेर मेयरको कुर्सीमा बसेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कुर्सीमा बसेर ‘म अबदेखि नगरप्रमुख हुँ’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

भदौ २४ गते नगरपालिकामा आगजनी, तोडफोड र लुटपाट भइरहेको समयमा नगरप्रमुखको कुर्सीमा बसेर सामाजिक सञ्जालमा उनले ‘मेयर हुँ’ भन्दै पोष्ट गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी चक्र डमर पालले आपराधिक प्रवेश गरी मेयरको कुर्सीमा बसेका गुलरिया नगरपालिका–६ का २६ वर्षिया इरफान मनिहारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । मनिहार अटो चालक भएको डीएसपी पालले जनाए ।

प्रहरीले नगरपालिकामा प्रवेश गरी आगजनी, लुटपाट र तोडफोड गर्ने र सांसद संजय कुमार गौतमको घरमा आगजनी र लुटपाट गरेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । एमाले, कांग्रेस पार्टी कार्यालय, नगरपालिका र सांसद गौतमको घरमा आगजनी र लुटपाट भएको थियो । पक्राउ परेकाविरुद्ध प्रहरीले अदालतबाट म्याद थप गरी मुद्दा दायर गरेको जनाएको छ ।

तिनीहरूविरुद्व आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा कारबाही सुरु गरिएको डीएसपी पालले बताए । उनले भने, ‘केही अभियुक्त फरार भएकाले तिनीहरूको व्यापक खोजी भइरहेको छ ।’

सामाजिक सञ्जालमा लुटपाट र आगजनीका तस्बिरहरू भाइरल भएपछि प्रहरीले तिनीहरूलाई पक्राउ गरेको स्रोतले जनाएको छ । प्रहरीले फरार अभियोगीहरूलाई आफैं प्रहरी कार्यालय आएर आत्मसमर्पण गर्न आह्वान गरेको छ । आगजनी, लुटपाट र तोडफोडमा संलग्न भए पनि आत्मसमर्पण नगरे फरार सूचीमा राखिने जनाएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully