कालीगण्डकी करिडोर सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडोर हुँदै हिड्ने यात्रुले सास्ती खेप्दै आएका थिए ।
गुल्मी — गुल्मीमा अवरुद्ध कालीगण्डकी करिडोरसहित तीन मुख्य सडक सञ्चालनमा आएका छन् । मंगलबार बिहानैदेखि भइरहेको वर्षाका कारण बुधबार बिहानदेखि अवरुद्ध सडक बिहीबार बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
कालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका-२ राक्सेमा माथिबाट खसेको पहिरो, सत्यवती गाउँपालिका-६ डहरे खोलामा बढेको पानीको बहाव, सोही खण्डकै सत्यवती-४ मा भीरपहिरो र रिडी तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका-३ सल्लेरीमा सडक अवरुद्ध भएको हो ।
रिडी-तम्घास खण्डको मात्रै वैकल्पिक सडक रहेको थियो । अन्यत्र भने यातायात पूर्णरूपमा ठप्प रहेको थियो । कालीगण्डकी करिडोर सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडोर हुँदै हिड्ने यात्रुले सास्ती खेप्दै आएका थिए ।
