नारायणीको बाढीबाट बस्ती जोगाउन आफैं कस्सिए सुस्ताबासी

तीनतर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्तीमा बाढी आएपछि हरेक वर्ष जलमग्न हुने गरेको छ ।

आश्विन २, २०८२

नवीन पौडेल

Sustabashi tried to save the village from Narayani's flood

परासी — नारायणी नदीको बाढीले कटान गरेपछि पश्चिम नवलपरासी सुस्ताका स्थानीय आफैं तटबन्ध गर्न कस्सिएका छन् । बुधबार नारायणीमा बाढी आउँदा थारू टोलमा पानी पसेको र बस्तीतर्फ नदीले तीव्र कटान गरेपछि स्थानीय आफैं तटबन्धमा जुटेका हुन् ।

तत्कालका लागि जाली र ढुंगा जोहो गरेर सबै गाउँलेले श्रमदान गरिरहेका छन् । 

श्रमदानमै सबै जना बस्ती जोगाउन जुटेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए । अहिले हामी आफैंले जाली , ढुंगा र बोरामा गिटी राखेर कटान रोक्ने कोसिसमा छौँ,’ जयसवालले भने , ‘काम सुरु गरेपछि सिचाइँ डिभिजन र पालिकाले पनि सहयोग गर्ला भन्ने आशा गरेका छौँ । आफ्नो बस्ती जोगाउन हामी आफैँ कस्सिएका हौ ।’ हिजो र आज स्थानीय तटबन्धन गर्न श्रमदानमा जुटिरहेका छन् । 

तीनतर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्तीमा बाढी आएपछि हरेक वर्ष जलमग्न हुने गरेको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा पर्ने यो बस्तीमा हरेक वर्ष पानी पस्ने र बाढीको जोखिम भए पनि आवश्यक तटबन्ध र नदी नियन्त्रणमा राज्यले चासो नदिँदा स्थानीयले जोखिम मोल्नुपर्ने अवस्था छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully